समाचारस्थानीय

टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट तीन पत्रकार पुरस्कृत

भद्रपुर । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर झापाका तीन सञ्चारकर्मी पुरस्कृत भएका छन् ।

भ्रष्टाचारविरुद्ध र सुशासन प्रवद्र्धनका लागि झापामा रहेर कलम चलाएको भन्दै झापाका पत्रकार इन्दु पूर्वेली, सुरेन्द्र भण्डारी र चिरञ्जीवि घिमिरेलाई टंकप्रसाद–रमादेवी पाठक शुसासन पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशिको उक्त पुरस्कार प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यको प्रमुख आतिथ्यमा बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच आज वितरण गरिएको थियो ।

अमेरिकाको टेक्सासस्थित हेम– सरिता फाउन्डेसन र नेपाल पत्रकार महासंघ झापाको सहकार्यमा स्थापित उक्त पुरस्कार २०८१ का लागि पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारी र जनआन्दोलन साप्ताहिककी सम्पादक इन्दु पूर्वेली गौतमलाई संयुक्तरुपमा प्रदान गरियो भने २०८२ बाट नयाँ पत्रिका दैनिकका झापा समाचारदाता चिरञ्जीवी घिमिरे पुरस्कृत भएका छन् ।

यसअघि सो पुरस्कारबाट राजबाबु शङ्कर पुरस्कृत भएका थिए । पुरस्कारका लागि पाँच लाख पाँच हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । सोही अक्षयकोषको ब्याजबाट पुरस्कार प्रत्येक वर्ष महासंघले पुरस्कार वितरण गर्दै आएको छ ।

कार्यक्रमकै बीच महासंघले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समाचार लेखनका लागि पत्रकार जोस्ना श्रेष्ठ र रञ्जीता खड्कालाई जनही पाँच÷पाँच हजार रुपैयाँको लेखनवृत्ति प्रदान गरेको छ ।

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष डा. आचार्य, मुख्य अधिकृत झविन्द्र भुसाल, महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, झापाका पूर्वअध्यक्ष केशव आचार्य र पुरस्कृत प्रतिभा घिमिरेले मन्तव्य राखेका थिए ।

महासंघका सचिव राजु पाठकले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष सुब्रत न्यौपानेले गरेका थिए भने प्रतिभाको संक्षिप्त परिचय महासंघकी उपाध्यक्ष विनिशा शर्मा गौतमले प्रस्तुत गरेकी थिइन् ।