दशैं सबै नेपाली को साझे पर्व हो
इन्द्रप्रसाद ओली
दशैं खासगरी आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव लाई दशैं भनिन्छ । दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले समेत पुकारिन्छ
यो खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिन लाई विशेष महापर्वको रुपमा लिने गरिन्छ । यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो।त्यसमा पनि टीका को ( दशमि तिथि) दिन मुख्य हो ।
शाश्त्रीय आधारलाई लिदाँ त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको , श्रीरामले दशैँ दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैलाई वडादशै एवम् विजयदशमीको नामले पूकारिदैँ आएको मान्यता छ । दशैं पशुपंक्षी ,खसिबोका,रागाँ आदि लाई वली दिएर विजय उत्सव मनाउने पर्व होइन ।यो त असत्य माथि सत्यको बिजय,दानविय् स्वभावमाथी मानविय स्वभावको बिजय,कु शासन माथी शुशासनको विजय,अन्यायमाथी न्यायको विजय, हिंसा माथी अंहिंसाको विजय,असुरी शक्ति माथी दैविक शक्तिको विजय, नै विजया दशैं हो ।
दशैं भगवान रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा पूजाको रुपमा, मनाइयोस , यो शक्ति-पूजाको पर्व हो । शास्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । वैदिक सनातन हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक पनि हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव-पर्व सुरु भएको भनी उल्लेख गरेको पान्छ। त्यसैले अन्य पर्व भन्दा बढी महत्व र राष्ट्रीय महा पर्वको रुपमा हेर्ने गरेको पाइन्छ् ।
हरेक चाडपर्वहरुले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछ्न। हर्ष, उल्लास दिन्छन, तर हरेक पर्वको विशेषता भनी फरक फरक पाइन्छ ।दशैंपर्वले बेग्लै रौनकता ल्याइदिन्छ , भिन्न खुसी र सुख प्रदान गर्दछ । यसले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनक तर्फ परिवर्तन गरिदिन्छ । त्यसैले त यश चाडपर्वलाई विशेष महत्वका साथ लिने गरिएको पाइन्छ ।
वैदिक सनातनहिन्दु( ॐकार परिवार ) हरुको मात्र महान् चाडको रुपमा नरहेर सम्पुर्ण नेपाली हरुकै महान पर्वको रुपमा लिइ हर्सोल्लासका साथ सबै जाती भाषी पन्थ सम्प्रदायले शुभकामना साटासाट गर्ने गरिन्छ । सबैले अपनत्वलिइ बराबरी रुपमा मनाउछौ , स्थानिय मेला हरुको समान अपनत्व ग्रहण गर्द्छौ । बडादसैँमा मालसिरी वा मालश्री धुन बजाएर र गीत गाएर लिङ्गे पिङ्ग , रोटेपिङ्ग खेलेर रमाइलो पनि गरिन्छ। अन्य पर्वमा भन्दा दशैंमा देश बिदेश वा टाढा टाढाबाट छुट्टी मिलाएर घर आउना ले आफ्ना पुराना साथी भाई, आफन्तजनसँग भेटघाट हुने वातावरण यश पर्वले सुनौलो अवसर शिर्जना गरि जुटाइदिन्छ। जुन जुन देशमा नेपाली मुल भएका मानिस हरु बसोवास गर्दछन ती सबै नेपाली मुलवाशी हरुले दशैं मनाउने गर्द्छन । दशैमा मान्यजन बाट टिका, जमरा आशीर्वाद दक्षिणा र मावल , ससुराली जाने छुट्टै मज्जालाई खास अर्थ र महत्वका रुपमा मानिन्छ ।
यो पर्व बास्तवमा दश दिन मनाइनेभएर पनि वैदिक सनातन हिन्दुहरुको महान पर्वलाई दशैं भनेको हुनुपर्छ भनी जानकार हरु बताउदै आएका छन । दशैंमा नवदुर्गा (हिन्दु धर्म की शक्तिस्वरुपा देवी दुर्गा) को नौ वटा रूप शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्री विशेष पुजा तथा आराधाना गरिन्छ । नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक / एक दिन गरी नौ दिनसम्म पुजा गर्ने गरिन्छ । दशौँ दिन विजयादशमीमा भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टिका र जमरा लगाएर र आशिर्वाद थापेर मनाइन्छ भने कति पय ले सेतो टीका लगाउने परम्परा रहेको पनि पाइन्छ । देश विदेश वा टाढा टाढा देखि आउने पाउनाहरूलाई पूर्णिमा सम्मै पनि टीका लगाएर आशिर्वाद दिने लिने गरिन्छ। दशैंका चार दिनको लाई विशेष चर्चा गरिन्छ ।
ती चार दिन का मुख तिथि वा दिन महासप्तमी , महाअष्टमी , महानवमी र विजया दशमी हुन ।
* महासप्तमी: नवरात्रिको सातौं दिन फूलपाती हो। नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घर घरमा भित्र्याइन्छ।
वर्षा ऋतु सिद्धिएर शरद ऋतु को स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश -भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहदैनन् भन्ने धार्मिक तथा साँस्कृतिक मान्यता रहिआएको छ।यस दिन काठमाण्डौ टुँडिखेलमा फूलापाती बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्। साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई परेड खेल्दै हर्क बढाइँ का साथ हनुमानढोका दरवारमा भित्र्याइन्छ । काठमाण्डौ बाहिर आ -आफ्ना स्थानिय मठ मन्दिर का शक्ति पिठबाट बाजागाजा सहित स्थानीय सुरक्षा कर्मी हरुले सलामी सहित दिएर फुलपाती भित्र्याउने गरिन्छ ।
* महाष्टमी: नवरात्रिको आठौं दिन महाष्टमीमा महाकाली -भद्रकालीको विशेष पूजा-आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएकाले पूजा गर्ने चलन रहिआएको छ। पूजापश्चात् मानिसहरू नवदुर्गा ,आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिने गरेको पाइन्छ भने शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा समेत गरिन्छ।
* महानवमी: नवरात्रिको नवौ दिन महानवमीमा विशेष गरी सिद्धिधात्री देवीको पूजा-आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई विश्वकर्माको पूजा पनि गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ।
साथै बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु भन्ने हुन्छ र नवदुर्गाका प्रसादले काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दश प्रकारका अवगुणहरू हटून् र सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भावले सबै दश अवगुणहरुको त्याग गर्दै आएकोमा केही समय वित्दै जाँदा पछिवाट कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मान्दै बलि चढाउँने चलन आएको हो भनी मान्यता रहेको मानिन्छ तर पछिल्लो समयमा शक्तिपिठमा यसको विकल्प फलफुल कुभिण्डो घिरौला नरिवललाई फलफुल लाई पुजा गरि बलि दिने गरेको पाइन्छ यसलाइ समाजले सकरात्मक रुपमा लिदै आएको छ । बली दिनुको अर्थ बुझ्दै जादाँ यो पक्ष बलियो हुँदै गएको हो।
* विजया दशमी: नवरात्रिको दशौ दिनलाई विजयादशमी भनिन्छ।आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने बुझ्नुपर्छ। यो दशैंको खास दिन हो ।
यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । यस दिन घर -घरमा सबैभन्दा पाको र जानकार ब्यक्तिले सोह्र सामाग्रीले भगवती दुर्गा र अरु देवीहरु तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा र अन्य देवदेवीहरुलाई चढाइ आरती र पुष्पाञ्जलि गर्ने गरिन्छ ।यति गर्नाले कसैले पनि आफूमाथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास रहेको छ ।
त्यसपछि मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राखिन्छ ।
त्यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। त्यसपछि घरका मुलमान्छेले नव दुर्गा भगवतीको प्रसाद स्वरुप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशिर्वाद दिने लिने गरिन्छ , सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंको लागि तयार पारी राखिएको नयाँ लुगा गहना लगाई टीका लगाउन जान सबैको उत्सुकता हुन्छ । बाटा घाटामा लर्को तथा भिड भाड यत्र तत्र बाटोमा पैदल वा सवारी साधन गाढी बसमा प्रशस्तै देख्न पाइन्छ ।
यस दिन पिङ खेल्यो या भुइँबाट खुट्टा छोड्यो भने मरेपछि स्वर्ग गइन्छ भन्ने मान्यता समेत रहेको छ।
दशैंमा टिका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल ( केवल रुपयाँ पैसा को कुरा होइन ) परम्परा मात्र पनि होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरु पनि लुकेका छन। यीनिहरुको विशिष्ट अर्थ र महत्व पनि तेतिकै खाली हात टीका थाप्न जानू पनि हुन्न र दक्षिण विनाको टीका आशीर्वाद पनि दिनु हुदैन ।
दशैंको आर्शिवाद:
आशिष अर्थात आर्शिवाद । आफ्नो उन्नती, प्रगति, दीर्घायुका लागि मान्यजनले राख्ने सदिच्छा ।
दशैंमा विशेष गरि आफुभन्दा ठूला, मान्यजनबाट टिका लगाएर आशिर्वचन दिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ भने मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । साथै मान्यजनहरुले आफुभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ । सही संस्कार दिनुपर्छ भन्ने सन्देश पनि हो ।
दशैमा टिका लगाउादा पुरुष र महिला लाई अलग अलग मन्त्र उच्चारण गरि आशिष दिने परम्परा रहेको छ ।
पुरुष लाई दिने आशिष् यसप्रकार छ ।
“आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे॥”
ससर्ती सुन्दा यसको अर्थ केलाउन सकिदैन गार्हो छ।तर, चार हरफको यो श्लोकले हामीलाई सही ढंगको जीवन बाच्नका लागि उपयुक्त मार्ग देखाइदिन्छ । विभिन्न पौराणिक पात्रको विशेषता उल्लेख गर्दै त्यस्तै कुरा प्राप्त गर्न सदिच्छा यसमा राखिएको छ ।
यसको अर्थ यसप्रकार छ-
द्रोणपुत्र अस्वत्थामको जस्तो लामो आयु अर्थात दीर्घायु हुनु । दशरथ राजाको जस्तो धनसम्पति होस् । भगवान रामको जस्तो शत्रु नाश होस् । नहुष राजाको जस्तो ऐश्वर्य होस् । पवनसुत हनुमानको जस्तो गतिशिलता होस् । दुर्योधनको जस्तो मान होस् । सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस् । हलधर बलरामको जस्तो बल होस् । कुन्ती पुत्र युधिष्ठरको जस्तो सत्यवादिता हुनु । विदुरको जस्तो ज्ञान होस् । भगवान नारायणको जस्तो कीति वा प्रशिद्धि होस् । भन्दै मान्यजनवाट आशिर्वाद लिइन्छ।
महिलालाई दिने आशिष यश प्रकार रहेको छ:
“जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।”
यसको अर्थ यसप्रकार छ-
जयंती देवीको जस्तै महेश्वरीको रूप र विजयशलिनी होस्। मंगला देवीको जस्तो स्वतन्त्र ,मुक्ति देवीको रूपमा प्रसिद्दि होस्।काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनु।भद्रकालीको जस्तै भद्र, खुशी, मंगल हुनु।कपालिनी देवीको जस्तो दुश्मनहरूका लागि भयानक हुनु।दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु।क्षमाकी देवीले जस्तै क्षमा दिनु।शिव देवी जस्तै कल्याणकारी र सर्वशक्तिमान हुनु।धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु। स्वाहा देविले जस्तै हरेक यज्ञ र दानपुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दानपुण्य को संकल्प लिनु आदि हो।
विशेष दशैंको टीका महत्व :
दशैंमा आफुभन्दा ठूला मान्यजन र आफन्तबाट आशीर्वाद लिन निधारमा टिका थापिन्छ। यसरी मान्यजनले आशिष दिदै लगाइदिने टिकाको पनि निकै अर्थपूर्ण महत्व छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ। टिका जसलाई अक्षता पनि भनिन्छ । गाईको दुधको दही, चिनी, जिठोको रातो रंगमा मिश्रण गरिएको चामलको टिका निधारको मध्यभाग आज्ञा चक्रमा लगाइन्छ । यो दुबै आँखीभौंको माझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्दछ ।
यसको अर्थ ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धी, स्वास्थ्य सबैकुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेको हो । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो टिका शान्ति एवं समृद्धिका प्रतीक हुन्, भनिन्छ । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ भन्ने बिश्वास गरिन्छ। आफ्नो घरमा टीका लगाएर आफन्तजनहरुकोमा पनि टीका ग्रहण गर्ने चलन छ। टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ।
दशैंको जमराको महत्व:
दशैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ । घटस्थापनाको दिन राखेको जौको जमरा टीका थाप्नेको टोपी भित्र,टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिदै राखिन्छ । जमरा राख्ने यसको आफ्नै खास विधि छ ,मन्त्र छ ,अँध्यारो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ ।
धर्मशास्त्रहरुले यसलाई समृद्धिको प्रतीक मानिएका छन् । संस्कृतमा यव भनिने जौको जमरा खासमा भन्ने हो भने पौष्टिक खाद्यपदार्थ हो । जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधी मानिन्छ । यसमा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनहरु पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्यबर्द्धक मानिन्छ ।
वैदिक ग्रन्थहरुमा जौलाई रोग हटाउने यज्ञ-यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्न अन्नका रुपमा लिइएको छ । पौराणिक ग्रन्थहरुमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा मानिएको छ ।गीतामा भगवान श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात औषधीहरुमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्त्व पुष्टि हुन्छ ।
चिकित्सकहरुका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्न हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ । जमराको रसको सेवनले सौन्दर्यता समेत निखार ल्याउँछ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरुलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले शरीरमा चाँडै शक्तिसञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।
हाम्रा गाउँघरमा अझै पनि दसैंको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । वैज्ञानिकहरुले गरेको अनुसन्धानअनुसार अंकुरित जौ सम्पुर्ण आहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो। चिकित्सकहरुले पनि जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरुको सफल उपचार गरिसकेका छन् । प्रशस्त औषधीय गुण पाइने हुनाले पनि
अंकुरित जौलाई सांकेतिक रुपमा विजयादशमीको प्रसादका रुपमा ग्रहण गरिन्छ।
दशैंको दक्षिणा:
दशैंमा टीका थाप्न आएका छोरीचेली, ज्वाइँ, आफन्त आदिलाई दिइने धन; वा द्रब्य नै दक्षिणा हो।बिजयदशमीको दिन आ- आफ्नो गच्छे अनुसार मान्यजनबाट टीका लगाइसकेपछी दक्षिणा दिने गरिन्छ ।
सुख,शान्ती ,शक्ति र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु भनेको लक्ष्मीलाई भित्राउनु हो भन्ने आम बिश्वास छ । र त्यस्तो दक्षिणा खर्च नगरी राख्ने गरेको पनि पाइन्छ ।
बास्तबमा वैदिककाल साधना, सिद्धि, सामर्थ्य ,शक्ति र सौर्यताको संगम को काल थियो । त्यहिबाट दशैंको शुरुवात भयो। बडादशैं सनातन परम्परा, संस्कार -संस्कृति, धर्म, आस्था र बिश्वाससँग जोडिएको बिषयमात्र नभएर अव यसको बैज्ञानिक महत्वको बिषय पनि रहेको पुष्टि भएको पाइन्छ । यसलाइ समाजबिज्ञान,मनोबिज्ञान र ब्यवहार बिज्ञानसँग निकट रहे र हेर्न पनि सकिन्छ ।
दशैं पर्व कुनै आडम्बरी, खोक्रो, मूल्यहिन हुँदै होइन्।कतिपयले यसको खैरो खन्न पनि लागेको पाइन्छ। दशैं आयो, ऋण लगाएर गयो , खान अन्न छैन निधारमा चामल जस्ता कु तर्क गरेको पाइन्छ तर जसले महत्व बुझेन वा बुझाउन सकिएन यात विधर्मिले फैलाउने अफवा हो । यो तर कुरो त्यस्तो होइन । यो एक जाती वर्ग सम्प्रदाय सग आधारित छैन यो त विशाल मानवाता वादी र धार्मिक,सामाजिक सांस्कृतिक र बैज्ञानिक महत्व र मूल्यको पर्व हो । तर पर्व मनाउँदा त्यसको वास्तविक मूल्य बुझेर,यथार्थ विधि पद्धति अनुसार निष्ठावान तरिकाले मनाउँनुपर्छ भन्ने कुरा पक्का चाहिँ पक्का हो ।आज भोलि देखा शेखी गर्ने उस्तै परे दशैंमा पनि केक काट्न बेर लगाउदैन । खर्च धेरै गर्नु पर्छ ऋण लिएर ताम झाम गर्नु पर्छ दक्षिणा धेरै दिनु पर्छ भन्ने कहाँ छ सबै विधि हुन सकेको गच्छे अनुसार गर्ने हो तर कति ले उल्टो दसैंको बर्खिलाप वा टीका को बिरोध गर्दछन त्यो गलत हो जब शास्त्रीय ज्ञान को अभाव हुन्छ तब जसले जे भने पनि पत्याइदिने वा विधर्मिको कुटिल चाल नबुझ्ने ले नै त्यस्ता गलत कार्य गरेका हुन भन्ने मा विस्वस्त हुनु पर्छ ।
त्यसकारण पर्व लाई सोही पर्व को महत्व अनुसार नै मनाउने गर्नु पर्छ नजाने नबुझेकालाइ बुझाउने दाहित्व बुझेकाले नै हो ।यसर्थ साधना नगरी फल त्यसै पाइन्न । यस तर्फ सबैको ध्यान जाओस। साथै पर्व मनाउदा घाँटी हेरी हाड निल्यौँ भन्ने हाम्रो महत्त्वपूर्ण नेपाली उखानलाई अनुसरण गरि पर्व मनाउनु नै उत्तम हुन्छ ।
सामाजिक र सांकृतिक पर्व :
समाजमा विभिन्न वर्ग समुदाय मिलेर वसोवास गरेका हुन्छ । दशैंमा कसैले लुगा सिलाउने , कसैले हतियार बनाउने , गहना बनाउने , कपडा बेच्ने , चुरा धागो पोते गाउँ गाउँ पुर्याउने , कसैले अन्नपात जोहो गर्ने , कसैले खसी , भेडा च्याग्रा, कसैले दहि दूध घ्यु , फलफुल आदि आदि व्यवस्थापन गरेर दशैं लाई सहज बनाएको हुन्छ सबैको स्वामित्व छ , अपनत्व छ त्यसैले दशैं लाई सामाजिक र सांस्कृतिक पर्वको रुपमा लिने र मनाउने गरिन्छ । चेतना साहित्य समाजले हरेक पर्वको सामाजिक, सास्कृतिक , सद्भाव र वैज्ञानिक पक्ष समेतलाइ विश्लेषण गरि जनमासमा मुखरित गर्दै आएको हो । हाम्रा साझे संस्कार संस्कृतिको संमरक्षण सम्बर्द्धन गर्नु नै सामुहिक कर्तव्य हो र दशै सबै नेपालीको साझे पर्व हो ।
अन्त्यमा दशैंको महत्व गरिमा प्रती ससत नमन गर्दै सबैको बडा दशैको हार्दिक मङ्गलमय शुभकामना ॐ ॐ अध्यक्ष
राष्ट्रीय हिन्दु एकता मञ्च नेपाल
केन्द्रीय कार्यालय भद्रपुर ७ झापा
