समाचार

भद्रपुरका गिरिशरत्न शाक्य ‘मिस्टर ग्लोबल नेपाल २०२५’ घोषित

भद्रपुर, ५ असोज – झापा, भद्रपुरका गिरिशरत्न शाक्यले ‘मिस्टर ग्लोबल नेपाल २०२५’ को उपाधि जित्न सफल भएका छन्। राजधानी काठमाडौंस्थित होटल सोल्टीमा शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा उनले देशभरबाट आएका ३० प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेका हुन्।

प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो। आयोजकका अनुसार यस प्रतियोगिताको उद्देश्य नेपाली युवाको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने अवसर प्रदान गर्नु हो।

शाक्यले उपाधि जितेसँगै अब ‘मिस्टर ग्लोबल २०२५’ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्। विजेतालाई ट्रफी, प्रमाणपत्र, उपहार तथा नगद पुरस्कारसहित अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयारी गर्ने विशेष तालिम पनि प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

पुरस्कार ग्रहणपछि भावुक बनेका शाक्यले भने, “यो उपाधि मेरो मात्र होइन, सम्पूर्ण झापा र पूर्वी नेपालको गौरव हो। अबको लक्ष्य अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने हो।”

ग्रान्ड फिनालेमा विभिन्न कलाकार, फेसन डिजाइनर, पूर्व मिस्टर नेपाल विजेताहरू तथा मोडलिङ उद्योगका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा सांगीतिक प्रस्तुति, क्याटवाक, व्यक्तिगत प्रस्तुति तथा अन्तर्वार्ताका आधारमा विजेताहरू छनोट गरिएको हो।