संविधान रक्षार्थ झापामा वकिलहरूको शान्ति र्याली
भद्रपुर । संविधान दिवसको अवसरमा संविधानको रक्षा र सुशासनको प्रत्याभूतिको मागसहित नेपाल बार एशोसिएशन झापा बार एकाईका कानून व्यवसायीहरूले शुक्रबार चन्द्रगढीमा शान्ति र्याली निकालेका छन् ।
“संविधानको रक्षा गर”, “कानूनी राजको सम्मान गर”, “शान्ति, सुरक्षा र अमनचयन कायम गर”, “लोकतन्त्र र गणतन्त्रको रक्षा गर”, “भ्रष्टाचारको अन्त्य, सुशासन र शान्ति हाम्रो चाहना, संविधान रक्षाको गर्दछौं कामना” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर वकिलहरूले प्रदर्शन गरेका थिए ।
र्याली झापा बारबाट सुरु भई ट्रेडयुनियन चोक, एसपी मोड हुँदै कृषि विकास बैंक परिक्रमा गर्दै पुनः झापा बारमै पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा वरिष्ठ अधिवक्ता दामोदर सापकोटाले सम्बोधन गर्दै संविधानको रक्षा सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो। उहाँले, “राज्य संविधानविहीन हुनु हुँदैन, संविधानको मर्म र मूल्यप्रति सबैले उत्तरदायी हुनुपर्छ,” भन्नुभयो ।
त्यसैगरी, बारका अध्यक्ष बसन्त नेपालले संविधानको रक्षा नगरेसम्म मुलुक स्थिर नहुने चेतावनी दिँदै बार निरन्तर निगरानी भूमिकामा रहने स्पष्ट पार्नुभयो। सभाको सञ्चालन बारका सचिव दिपेन्द्र भट्टराईले गर्नुभएको थियो ।






