जेनजीको आन्दोलनबाट झापामा अरबौँको क्षति भएको अनुमान
भद्रपुर । सरकारले भदौ २३ गते निर्मम तरिकाले १९ जनाको गोली हानी हत्या गरेको विरोधमा २४ भदौमा झापासहित देशभर नै जेनजी आन्दोलनले उग्र रूप लिदा अरबौंको क्षति भएको छ ।
आक्रामक रूपमा जेनजी आन्दोलन अगाडि बढ्दा झापा जिल्ला मात्रै एकैदिन सरकारी तथा निजी संरचनामाथि आगजनी र तोडफोड हुँदा अरबौँको भौतिक क्षति भएको आँकलन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाले आज बिर्तामोड र दमकमा कफ्र्यू लगाएको थियो । त्यस्तै सदरमुकाम भद्रपुरमा निषेधाज्ञा जारी गरेको थियो । तर, जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले कफ्र्यु र निषेधाज्ञालाई तोड्दै प्रदर्शन चर्काएका थिए । प्रदर्शनकारीहरूले जिल्लाका विभिन्न स्थानमा आगजनी र तोडफोड गरेका छन् । भद्रपुरको टेड युनियन चोकमा प्रदर्शनकारीहरू जिल्ला प्रशासन कार्यालयतिर जान खोज्दा प्रहरीसँग दोहोरो झडप समेत भएको थियो ।

झडपमा प्रहरीले हवाई फायर, आश्रुग्यास प्रहारसँगै लाठी चार्ज समेत गरेको थिए । प्रतिकारमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरे । त्यस पश्चात् आक्रोशित बनेका प्रदर्शनकारीहरूले भद्रपुर १० मा रहेको नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निजी निवासमा आगजनी गरेका थिए । सिटौला निवासबाट आगजनी सुरु गरेका प्रदर्शनकारीहरूले त्यसपश्चात् लेखन चोकमा रहेको प्रहरीमा बिट तोडफोड गरेका थिए । लगतै छेउमा रहेको भद्रपुर १० वडा कार्यालयमा तोडफोड गर्दै आगजनी गरेका थिए ।
त्यसपछि प्रदर्शनकारीहरूले घरेलु तथा साना उद्योग कार्यालय र पूर्वाधार कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । कार्यालयमा रहेका निजी तथा सरकारी मोटरसाइकलहरू जलाउनुका साथै तोडफोड गरेका थिए । प्रदर्शनकारीहरूलाई सुरक्षाकर्मीहरूले जिल्ला प्रशासन कार्यालय प्रवेश गर्न नदिएपछि उनीहरू त्यसपछि भद्रपुरतर्फ लागेका थिए । प्रदर्शनकारीहरूले भद्रपुर–८ मा रहेको भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल र भद्रपुर– ६ मा रहेको उपप्रमुख राधा कार्कीको घरमा आगजनी गरेका छन् । प्रदर्शनकारीले भद्रपुर नगरपालिका, ३, ४, ६ र ५ नम्बर वडा कार्यालय, भद्रपुर भन्सार कार्यालय र वडा प्रहरी कार्यालयमा आगजनी गरी ध्वस्त बनाइ दिएका छन् । ती कार्यालयहरूमा रहेका जिन्सीदेखि सरकारी गाडीहरू समेत जलाएका थिए ।

उता कफ्र्यु लगाएको बिर्तामोडमा पनि ठुलो भौतिक क्षति भएको छ । मुक्ति चोकमा बिहानै भेला भएका प्रदर्शनकारीहरूले नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी गरेका थिए । प्रदर्शनकारीहरूले बिर्तामोडका पूर्व नगर प्रमुख धुव्र शिवाकोटीको निजी निवास, बिर्तामोड नगरपालिका, पुरानो ट्राफिक प्रहरी कार्यालयको भवन, नयाँ ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बिर्तामोड, बिर्ता बजार प्रहरी चौकी, २ र ३ नम्बर वडा कार्यालय, टेलिकम कार्यालय, यातायात व्यवस्था कार्यालय, काँग्रेस झापाका सभापति देउमान थेबेको घर, भाटभटेनीमा आगजनी र तोडफोड गरेका थिए ।
त्यस्तै प्रदर्शनकारीहरूले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको घर, कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, कोशी सांसद गोपाल तामाङ, मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, एमाले नेता तथा बागमती प्रमुख विष्णु प्रसाईँ लगायतको घर, इलाका प्रहरी कार्यालय धुलाबारी, मेचीनगर नगरपालिका, मेचीनगरका प्रशासन अधिकृत अनन्त बस्तीको घरमा, इटाभट्टा प्रहरी बिट, मेची भन्सार कार्यालय, अध्यागमन कार्यालय, काँकडभिट्टा ट्राफिक पोस्ट, वडा नम्बर ७, ६, ९ र १० कार्यालयमा, एमाले पार्टी कार्यालय र काँग्रेस पार्टी कार्यालय धुलाबारी आगजनी र तोडफोड गरेका छन् । त्यसैगरी प्रदर्शनकारीहरूले दमकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा आगजनी गरेका छन् । दमकका पूर्व नगर प्रमुख रामनाथ ओलीको घरमा पनि तोडफोड गरेका छन् । दमक नगरपालिका, दमकका नगर प्रमुख रामकुमार थापाको घरमा, उपप्रमुख रेगिना भट्टराई, माओवादी पार्टी कार्यालय, भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड गरेका छन् ।
त्यसैगरी प्रदर्शनकारीहरूले कनकाई नगरपालिका, नगरप्रमुख ध्रुव शिवाकोटीको घरमा आगजनी गरेका छन् । गौरदाह नगरपालिकामा पनि आगजनी गरी जिन्सी तथा सवारीसाधनमा क्षति पु¥याएको छ । कचनकवल गाउँपालिकाको भवन र ४ नम्बर वडा कार्यालयमा पनि आगजनी गरेका छन् । त्यस्तै प्रदर्शनकारीहरूले अर्जुनधारा नगरपालिकामा पनि आगजनी गरेका छन् । क्ष्तिको यकिन विवरण आउन नसके पनि अरबौंको क्षति भएको अनुमान गर्न सकिन्छ ।
