अर्जुन खरेललाई ‘उत्कृष्ट लोकपप गायक अवार्ड’

भद्रपुर ।   भद्रपुर निवासी  गायक अर्जुन खरेल ‘उत्कृष्ट लोकपप गायक अवार्ड’ प्राप्त गर्न सफल भएका छन  ।

भियतनामको दनाङमा सम्पन्न ग्लोबल कन्फरेन्स एण्ड अवार्ड २०२५ मा झापा भद्रपुरका गायक अर्जुन खरेलले उत्कृष्ट लोकपप अवार्ड हात पार्न सफल भएका हुन् ।

 

खरेलले आफ्नो चर्चित गीत ‘दुई चुल्ठी’ का लागि उत्कृष्ट लोकपप गायक अवार्ड’ प्राप्त गर्न सफल भएका हुन ।अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकपप गीतको प्रतिष्ठा बढाएको भन्दै खरेललाई उक्त अवार्ड प्रदान गरिएको हो।खरेललाइ भियतनामका पूर्व राष्ट्रपतिकी बुहारी हुयेन थि लिउले अवार्ड तथा सम्मानपत्र प्रदान गरेकी हुन् ।

झापा जिल्लाको साविक गरामनी ४ कृष्णभिट्टामा वि सं २०३५ साल फागुन १४ गते बलराम तथा विष्णुमाया खरेलका ५ औं पुत्रका रूपमा जन्मिएका अर्जुन खरेल पेशाले गायकको पहिचान बनाएर स्थापित व्यक्ति हुन् ।

हाल भद्रपुर १० चन्द्रगढीका स्थायी बासिन्दा खरेलको औपचारिक संगीत यात्रा वि सं २०६० बाट तिम्रो आगनम संगै…… गीतको रेकर्डबाट सुरू भएको हो ।

दुई चुल्ठी…… गीतसम्म आइपुग्दा दुई दर्जनबढी चर्चित गीत श्रोता माझ ल्याइसकेका खरेलको स्वरले देश विदेशसम्म पहिचान पाइसकेको छ । पछिल्लो समय चलचित्र गायनमा समेत सकृय खरेलले फर्मुला लगायत चलचित्रका लागि स्वर दिसकेका छन् । खरेलले भिडियो बन्नु अगाडि नै दुई चुल्ठी गीतको माध्यमबाट निकै चर्चा कमाइ सकेका छन् ।

सानै उमेरबाट शोखका रूपमा गायन क्षेत्रमा लागेका खरेलले कालान्तरमा पेशा बनाएर गीत संगीतमै जीवन समर्पण गर्न पुगेका छन् ।
वि सं २०६५ सालमा हल्दिवारीकी नमिता दंगालसित वैवाहिक जीवनमा प्रवेश गरेका खरेलका एक छोरा एक छोरी गरी दुई सन्तान रहेका छन् । पारिवारिक दायित्व तथा जिम्मेवारी बहनका लागि समेत गायन कलाको उपयोग गरिरहेका खरेलले झापा, इलाम, मोरङ लगायत प्रदेश १ देखि नेपाल भित्रका अधिकाम्स सांगीतिक कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् ।

उनको कलाको उच्च मूल्याङ्कन गर्दै वि सं २०७४ सालमा उपराष्ट्रपतिको हातबाट राष्ट्रिय प्रतिभा सम्मान समेत प्राप्त गरेका छन् । त्यसयता खरेलले स्थानीय, क्षेत्रीय तथा प्रदेश स्तरीय सयबढी सम्मान तथा नगद सहित पुरस्कार प्राप्त गरिसकेका छन् ।

पछिल्लो पटक खरेलले २०८१ सालमा चलचित्र गायन वापत डि सिनेमा छाँया छवि सम्मान समेत प्राप्त गरेका छन् । गायन कला प्रस्तुत गर्न उनले नेपाल बाहिर विभिन्न देशमा समेत जाने अवसर पाइसकेका छन् ।

अर्जुनको गायनसित गाँसिएको अर्को पक्ष समाज सेवा पनि हो । स्थानीयदेखि राष्ट्रि स्तरसम्मका आपत विपतमा सहयोगका लागि उनले हरतरहले सहयोग गर्ने गरेका छन् । अनाथलय, बृद्धाश्रम जस्ता संस्थामा हरेक वर्ष केहीन केही सहयोग गर्नु उनको नित्य कर्म बनिसकेको छ । खरेलले संगीत, नाट्य तथा समाज सेवा जस्ता काम समान गतिमा अगाडि बढाइरहेका छन् ।

पछिल्ला केही वर्षयता पुष्प खेतीमा समेत सकृय खरेलले आफ्नो उर्वर समय माटोमा रमाउने तथा उन्नतिका लागि कृषि कर्ममा युवा सहभागिताका लागि पुष्प व्यवसाय गरिरहेका छन् । अर्काको देशका अनाज उपजमा भर पर्नु हुँदैन भन्ने मान्यता बोकेका खरेलले अवको क्रान्ति व्यवसायिक कृषि भएको महशुस समेत गरिरहेका छन् ।

वि सं २०७० सालमा मेरो गीत नामक एकल गीति संग्रह प्रकाशन गरेका खरेलले सन् २०१४ मा प्रवासी नेपाली सिङ्गीत प्रतियोगितामा वेष्ट प्रफमेन्सको उपाधी समेत जीतेका थिए । झापामै बसेर सामाजिक गतिविधि र गायन सेवा प्रवाह गरिरहेका खरेलको असल मान्छे बनेर बाँचुञ्जेल देशका लागि केही न केही गर्ने इच्छा छ । झापाली भूगोलमा भेटिने खरेललाई गायक मात्र नभएर सामाजिक अभियन्ताका रूपमा चिन्ने मानिसहरूको संख्या पनि निकै ठूलो छ ।

 

लोक भाकालाई गायनको मूल श्रोत मान्ने अर्जुन खरेल हरेक पटक केही न केही नयाँ सोचका साथ गायनमा रमाउने गर्छन् । खरेलले पछिल्लो पटक मारवाडी भाषाको राष्ट्रिय गीतमा स्वर दिएर रेकर्ड गरिसकेका छन् । अग्रजको सम्मान र नयाँको संरक्षण गर्नु पर्छ भन्ने सोच भएका खरेलले झापामै रहेर नेपाली गीत संगत मार्फत नेपाल चिनाउने महत्वकाँक्षा पालेका छन् ।

राम्रो गायक बन्न काठमाण्डौ धाउनु पर्छ भन्ने मान्यता विपरित मोफसलमा रहेर पनि सवैले चिन्ने गायक बन्न सकिने विश्वास पालेका खरेललाई अब बिस्तारै समाज र देशले पनि चिन्ने वातावरण भने उनका गीत, संगीतले बनाउन थालेका छन् । पछिल्लो पटक अन्तराष्ट्रिय जगतमा समेत पहिचान बनाएका खरेलले अवार्ड समेत हात पार्न थालेका छन् ।