झाँगे लम्फु पनि लुट्न जुट्ने पदकाे पर्खाइमा  ?  

….. “तपइँकाे रा’नीतिक थर-गाेत्र र हामेरकाे रा’नीतिक थर-गाेत्रका फुपूचेला-मामाचेलासम्मन् पनि  बिएबारी  नचल्ने पाेल्टिसकाे सिज्यान छ ऐले ।  रैभापनि छिमेकीका नाताले ट्याम-ट्याममा भेटाघाटा, सुख्खदुक्खका गन्थन-डिस्केसहेरू साटासाट-एक्चेन्  चाइँ कन्टेनिउँली नै राख्नुपर्छ नि हउ, कसरी टा-टाढा बस्न मुनपेटले  मानाेस् गाँठे ! आज ओैधी  नै बिज्जी थेँ र पनि ट्याम एट्जस्मेन गरेर तपइँलाई छ्यास्स मुखसम्मन् देखाउन मात्तै आइरछु । किन भनेरभन्लाऊ भने,  तपइँसित भेट-मुलाकात नभकाे पनि बर्खाैं अगि भनम् न – विक्राम सम्मतकाे सन् दुई हज्जार एक्कासीकाे मुङसिरैदेखुन् पाे हाे क्यारे नि ?”- भन्दै सरासर म  बसिरहेकाे बरण्डामा आएकाे ऐंसेलु झाँगे मेराे ठ्याक्कै अगाडि कुर्सी  तानेर  बस्याे र दुवै हातले अनुहार साेतरेपछि थप भन्याे -” नसकिने भाे हए भाइ, पिटिस्सै नसकिने भाे ! इ  पर्तेगामी ल्याङ्ठाहेरू  दइनिककाे डेल्ली नै हामेरका बा मउसुपकाे खाेइरेइ मात्तै खन्छन् । इ ल्याङ्ठालाई काेराेना र ड्याँग्गुले निमिट्यान्न सखाप  पनि नपार्दाे र’छ । तेसाे भया भे त हामेरू-हामेरू मात्तै कति आनन्नले माेज गर्ने चानसमा डानस हुन्थ्याे नि ….थुक्क साला ! तेति भा’देखुन् बल्ल त हामेरकाे गन्तन्त्र एकलउटी  मज्जले भाेग्न पाइँथ्याे !

…हन आद्दाभन्दा ज्यास्ती युआ-युओती  र स्टुड्यान-स्टुड्यान्नीहेरू -लाई, ‘काेनि क्यातिकाे घुमाइ’ भन्ने उखानै छ नि,  हाे तेइ  ‘घुमाइ’ उखान जस्तैका  बलमा गुपचुप खडेन्त्र रचेर, बइदेशिक  राेचकारीमा जान बाद्दे बनाइसक्ता पनि हामेरू सर्खारी पाटीका अर्घ्यानिख अथबा इङ्लिसमा पाङरागिक कार्रेकर्ताकाे टाउकाे हलुङ भा छैन । हुन त तिनले पठाका रुप्पे चइँ … भाे रुप्पेकाे चैं  नकुरा गरम् !… नत्र ता, न त  भ्यू टाओर बन्थ्याे न  अब उड्ने कार गाडी देखा’र लाटा पढ्के जन्ता माेराका ताली खाँदै गन्तन्त्रकाे जै-जैकारमा फुस्ल्याउने  गरी भासन काेरल्न नै पाइँथ्याे  !… कस्ताे चइँ राघिनासे  जुग-जमाना आ’छ  हओ भाइ, छ्याः ! याे कुराे  भन्न चइँ कसैलाई नभन्नु  कि, अन्तखेरी देश त हामेरू-हामेरू माने हामेरकाे अर्घ्यानिख एम्माले र तेसमा पेसुवा लागेर हामेरकाे भाेगकाे माेस्ठमा भाग बसेकाे ‘झडकेलाे एम्माले’ भनेसि झ्वाट्ट चिनिने पुरानाे काङरेस क्या त, हाे ती दुईलाई मात्तै  ठिक्क अघान्जी हुने र’छ, अरू क्याङमीले पाे दिक्क लाए त हर्रामीहर्ले !”

   मैले अल्छीलाग्दाे गरी र उतिर नहेरी लेघ्राे तानेर भने -“फेरि के भाे नि त्यस्ताे ?”

  उसले, उसकाे कत्ले दाहिने हातका ‘पहेंलाे काई’ लागेका ओैंलाका नङ आफूतिर काेप्राे परेर देब्रे बूढी ओैंलाका खलपत्रे नङले खुर्किंदै भन्याे -” इ हेर न, बेल्का टन्न मासु-भात खाइयाथ्याे, हात पनि गज्गजी साबुन घसेर धाेएकै हाे, पढ्के बाेकाकाे बाेस्याइलाे चाेक्टा गर्म-मसाला र बेसार घाेलिएकाे स्वादले खाइयाथ्याे,  पहेंलाे झाेल अम्ला र नङमा लचेप्रै  पाे र’छ ,तेस्सिमालाने ।…”
मैले झर्काे मान्दै भनें -“हन के भन्दाभन्दै कता कुराे बरालेकाे नि , धैततेरिका ! कहिल्यै मति नसप्रने कस्ताे…”

मेराे वाक्य पूरा हुन नपाउँदै उछिनेर भन्याे उसले-“हन कुराे फुराउँदैछु त , कत्ति हतारिएका ! … ती क्या त, हामेरकाे झारिखाने ठाम फिनिसिँदै गाे क्या ।  सप्पै कमाउकान्ते गउँडा माने आयाेक-सायाेक, निघम-सिँघम, समिति-उमिति करिभन-करिभन हामेकै हामेरकाले भर्रिइसकेकाे अबस्ता छ । अब सम्बैदानिक पर्सत पनि कब्जा गरेर नयाँ-नुतन गउँडा खाेल्न परेकाे छ – बुद्नु भएन  त ? र, ती गउँडामा हामेरका असली कम्रेट र झट्केला कम्रेट माने काङरेसी कम्रेट जति खन्खनी छानेर ती सप्पैमा सेटिङ गरेर चाइँनेकेरे पाल्न नसके अर्घ्यानिख ‘कमिनिस गर्न’ कसरी सम्भौ हुन्छ त ?….ल हेर त पिण्ड खाने बखतका बूढा बाहर्काे एस्ताे च्वाँक आइड्या !  ताे पढ्के सम्बैदानिक पर्सतमा हामेरकाे मेमर्टी नहुँदा हामेरले बा मउसुपका  पाउका भक्त ठूलाठालाहर्लाई आयाेग-सायाेगका अदच्छे  र अओल टाेट्टल झाेलेहर्लाई  डकार आउन्जेल दालभात- तिउन-तर्कारीकाे बन्दाेबस्ती नभउन्जेल देशमा कमिनिसकाे सिदान्त अन्सार सम्बिर्दि कसरी सम्भाै छ र ? तेसकारण हामेरका साम्सतहर्लाई खाली  कागतमा सइ-सिक्न्याचरकाे ल्याप्चे ठाेक्न लाका थे हामेरका दाेडा बूढा बाहर्का हुकुमले । तेसकारन ती इन्द्रा राना मगरनीलाई बिनबिच्चमा ताे सम्बैदानिक पर्सदकाे उप पदबड गेटाउट गर्न नेस्सरी र कम्पलसाेरी थिएन त ? खाेइ कुराे बुज्या ? उल्टै तेसरी खाली कागतमा सिक्न्याचरकाे ल्याप्चे लाउने हामेरका बा मउसुपका पाउभक्त मान्नीए साम्सत सरहर्लाई पाे  ‘लाचसर्म नभका, गतिछाडा, दास, दलिद्र, पाेइसामा बिक्ने भेडाबाख्रा’ जस्ता लाखउँ गाली भकुर्दा रान तेस्सिमालाने पर्तेपच्छेहेरू ! हे राआआआम नि ! हन तिनले सालिन्ने पस्पतिकाे मन्दिरमा हन्जाहन्जै भ’र आउने ‘नाङ्गा बाबाहर्का गाेडा ढाेगेका छैनन् त  ? ती बाबाकै जइसाे गरी हामेरका साम्सतहरूले लगउँटी नै त खाेलेर ‘झाेले गरेका’ त थेनन् त हाै  ! जन्ता लाटा छन् भन्-र सर्खार जस्ताे भजनीय गाेरम्यानलाई गाली गर्ने ? लु भन त !”…

मेराे कन्सिरी रनक्क तात्याे र झाँगेका गाला रन्किने गरी पढ्काइदिने झ्वाक चले पनि मन थामेर मैले भनें -“अनि त्यस्ताे जाली-प्रपंचे काम गर्ने हाे त ? देश तिमेरकाे कबिला हाे ? यस्तै हुन्छ कम्युनिस्ट मति र गति ?”

मेराे रन्केकाे अनुहारतिर पुलुक्क हेरेर ऊ जुरुक्क उठ्याे र धर्खराउँदै छिटाेछिटाे सिँढीमा पुग्याे अनि आँगनमा ओर्लिएपछि फत्फताउँदै बाटाेमा पुगेपछि ठूल्ठूलाे स्वरमा भन्दैथ्याे -“हामेरका कम्रेट नेतालाई भद्रपुरहुँदी छ्यापछ्याप्ती इण्ड्यान-बेहारी भाेटरले नपुगेर मिसिन अएटी-फाेहाेरका लागि मलाई ‘बेहारी-इण्ड्यान भाेटर बिर्दि कमेटीकाे अदच्छे’ बनाउने र कमिसिन कल्लेटरबड झाेला भरिखाने इस्टमेट भकाे याे पाँडेले  था पा’र मलाई ….!”

ऊ अन्टसन्ट फत्फताउँदै गइरहेतिर हेर्दै मैले ठूलाे स्वर काेरलेर  गलाे सफा गरें । निकै पर पुगेकाे उसले  पछि फर्केर मतिर हेर्दै, बिरालाेकाे दच्काेमा परेकाे मुसाे झैं,  झन  छिटाे फड्काे मार्दै कुइनेटाेमा छेलियाे । र, मैले मनमनै भनें -“याे नम्बरी लम्फु ऐंसेलु झाँगे पनि लुट्नेमा जुट्ने पर्खाइमा पुगेछ ! अहिलेकाे नेपालमा के-के नहुनपर्ने चाहिँ हुँदैन र ? अब संवैधानिक परिषद पनि कब्जा गरिसकेपछि जे-जेका नाममा जे-जे गरे नि भइहाल्दाे हाे । ‘विनाशकाले विपरीत बुद्धि’ भनेकाे यही हाे कि  !!”….