सनातन धर्ममा जनैको महत्व
इन्द्रप्रसाद ओली
श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व विशेष गरी सनातनहिन्दू धर्ममा आस्था राख्नेहरूको विशेष पर्व हो। यस पर्वमा ब्रह्मसूत्रधारीहरूले पवित्र नदी, तलाउ, पोखरी, जलाशयमा गई पूजा सामग्री, जौं, तील, गाईको गोबर, माटो, भष्म, कुश, दूबो, दतिउँन आदि सामग्री प्रयोग गर्दै विधि पूर्वक स्नान गर्दछन्। गोमय, मृत्तिका, भष्मको प्रयोग गर्दै गरिने स्नानलाई गणस्नानका साथै श्रावणीस्नान पनि भनिन्छ। प्रातः कालीन स्नान पछि गुरु शिष्य सहित समाजमा रहेका व्यक्तिहरूको सामूहिक सहभागितामा यज्ञोपवीत / जनै तथा रक्षाबन्धन /डोरोको विधिपूर्वक वैदिक तथा पौराणिक मन्त्रहरूद्वारा पूजा गरिन्छ। कपासलाई काँचो धागोमा परिणत गरी धागोबाट बनाइने जनैको त्यान्द्रोलाई किन यति धेरै प्राथमिकता दिइन्छ भन्ने प्रश्न उठाइन्छ र उठाइनु पनि स्वभाविक नै हो तर यसलाई भौतिकवादी दृष्टिले हेर्दा यसको महत्व सोचे जस्तो त्यति कमजोर भने छैन।
धार्मिक तथा वैज्ञानिक महत्वका साथ हेर्ने हो भने यसको गरिमा र महिमा विशाल छ। यहीं विशेषण र विशेषता बोकेको सूत्र / धागो मार्फत निर्माण गरिएको जनैको विशेष महत्व छ। समाजमा रहेका सबै तह र तप्काका सनातन हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने अनुयायीहरूलाई एकै सूत्रमा बाँध्ने पवित्र पर्व नै जनै पूर्णिमा हो। यज्ञोपवीतलाई किन यति महतब दिइन्छ यसको महनीयताका सम्बन्धमा हाम्रो प्राच्यविधाले धार्मिक र वैज्ञानिक आधारमा कसरी वर्णन गरेका छन् भन्ने विषय यहाँ प्रस्तुत गरिन्छ। जनै /यज्ञोपवीतको परिभाषा :- यज्ञो वै विष्णुः। यज्ञाख्यः परमात्मा य उच्यते चैव होतृभिः। उपवीतं ततोSस्येदं तस्माद् यज्ञोपवीतकम् ।। यज्ञ =यज्ञद्वारा संस्कार गरिएको, पवित्र पारिएको। उपवीत =परिधानीय प्रकार सूत्र विशेष धागो /जनै, भगवान विष्णुको प्रतीक। अग्निका उपासक होताहरूले यज्ञ पुरुषका रूपमा भगवान विष्णुलाई लिएका छन् भने त्यहीं यज्ञबाट संस्कार गरिएको उपवीत / सूत्र विशेषलाई यज्ञोपवीत / जनै भनेका छन्। सूचनाद् ब्रह्मतत्वस्य वेदतत्वस्य सूचनात् । तत्सूत्रमुपवीतत्वाद् ब्रह्मसूत्रमिति स्मृतम् ।।
ब्रह्मज्ञान र वेद प्रतिपादित विषयको द्योतक /सूचक जुन सूत्र छ त्यो नै ब्रह्मसूत्र / जनै हो। वेद चार र गायत्री मन्त्र चौबीस अक्षरले गुणा गर्दा आउने ९६ संख्याको समूह र तिथि, बार, नक्षत्र, तत्त्व, वेद, गुण, काल र मासको पूर्ण संख्या ९६ फन्कालाई ब्रह्मसूत्रको आधार मानिएको छ। तिथिर्वारश्च नक्षत्रं तत्ववेदगुणान्वितम्। कालत्रयं च मासाश्च ब्रह्मसूत्रं हि षण्णवम् ।। तिथि – १५ वार – ७ नक्षत्र – २७ तत्त्व – २५ वेद – ४ गुण – ३ काल – ३ मास – १२ ____ ९६ ९६ संख्या हातको चार औंलाको मूल भागमा दुई डोराले युक्त ९६ फन्का बेर्दा यी माथिका छयानब्बे नाम उच्चारणका साथ आधान गर्नु पर्दछ। उक्त धागोलाई पुनः तीन डोरामा परिणत गरी बाट्नु पर्ने हुन्छ। यसरी बाटिएको धागोलाई तेब्बर पारी बाट्दा ९ डोराको हुन पुग्दछ। यी ९ डोरामा ॐकारादि गरिएका नौ वटा देवताहरूको आवाहन पूर्वक पञ्च शिखामा ब्रह्मादि गरिएका देवताहरूलाई न्यास गरिन्छ। जनैको लम्बाईका बारेमा वामस्कन्ध देखि नाभि / नाइटो हुँदै कटि/कम्मर सम्मको हुनु पर्दछ। लामोमा कम्मर भन्दा तल र छोटोमा नाभि भन्दा माथि हुनु हुँदैन।
प्रातः कालीन समयमा यी माथिका प्रकृयाहरूलाई आत्मसात गर्दै निर्माण गरिएको जनै नै शुद्ध र परिष्कृत हुन पुग्दछ। सबै शक्तिहरूले बास गर्ने परम पवित्र यज्ञोपवीत आफैंमा सिद्ध छ। देवताहरूले पनि धारणा गर्ने सर्व शक्तिमान् जनै र डोराको अभिमन्त्रण जनै पूर्णिमाका दिन अरुन्धती सहित कश्यपादि सप्त ऋषिहरूको पूजा, रुद्राभीषेक, ऋषि श्राद्ध देवता, गुरु र स्वपितृहरूलाई यज्ञोपवीत दान गरिन्छ। ” स्वाध्यायोSध्येतव्य ” वर्ष भरी स्वाध्याय गरिएका वेदादि मन्त्रहरूको पुनरावृत्ति गर्दै अध्यायोपाकर्म गरिन्छ। माथि बताइएका देवताहरूको पूजा गर्दै विभिन्न अनुष्ठान पुरा गरिन्छ। यसरी विधि पूर्वक बनाउनुका साथै मन्त्रण गरिएको जनै लगाउनका लागि तयार हुन्छ। यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् । आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः। प्रजापतिद्वारा निर्माण गरिएको यज्ञद्वारा पवित्र पारिएको यज्ञोपवीत / जनै धारणा गर्दछु। जसबाट मलाई आयु, विद्या, मेधा, यश, बल आदि सामर्थ्य प्राप्तहुन्। येनबद्धो बलिराजा दानवेन्द्रो महाबल । तेन त्वं प्रतिबध्नामि रक्षेमा चलमा चल।। भगवान वामनले सत्यताका लागि वाणीरुपी ( तीन पाउ जमिनका माध्यमबाट ) सूत्र /बन्धनद्वारा दानवका बलशाली राजा बलिलाई जसरी बाँध्नु भएको छ। त्यसै गरि यो रक्षासूत्रद्वारा तिमीलाई पनि बाँध्छु सदा – सर्वदा तिम्रो रक्षा तीनै वामनले गरून्। श्रावण महिनामा जंगलमा रहेका जडिबुटीको चरनमा रहेका गाईको गोबर शरीरमा लेपन गर्नाले सबै रोगको निदान हुन्छ।
यज्ञीय समिधाको भष्म, चोखो माटो लेपन गर्नाले पञ्चतत्वबाट प्राप्त हुने आवश्यकीय ऊर्जा शरीरले ग्रहण गर्न पुग्छ। आयुर्वेदका अनुसार महौषधीको रुपमा रहेका कुश, दूबो अपामार्ग / दतिवनको प्रयोगले आरोग्यता प्राप्त गर्न सकिन्छ । सर्वजन हिताय सर्वजन सुखायका रुपमा रहेका चाडपर्व हाम्रा अमूल्य साँस्कृतिक निधी हुन्, यिनीहरूमा रहेका अति विशिष्ट पक्षको पहिचान र प्रयोग हुनु मानव कल्याणका लागि उत्तम विषय हुन आउँदछ। *जनै लगाउँदा निम्न मन्त्र पढ्दै लगाउनु पर्छ। यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात । आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज।। *पुरानो जनै त्याग गर्ने मन्त्र एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया । जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।। पुरानो जनै त्याग्ने निर्णय सूतके मृतके चैव गते मासचतुष्टये । नवयज्ञोपवीतानि धृत्वा जीर्णनि संत्यजेत् ।। यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह हो, यो विद्याको चिन्ह र यज्ञको वेशभूषा हो । शिक्षा ग्रहण गर्नुपुर्व यज्ञोपवीत धारण गरी मर्यादित शिक्षा ग्रहणको शुभारम्भ गर्ने चलन थियो । सिधा भन्दा स्कुल भर्ना गर्न योग्य मर्यादा पुरूषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण, कैलाशपति शिव, चतुर्मुख ब्रहृमाजी, महाराजा जनक, माता पार्वती, वाचक्नवी गार्गी, सीता, माता दुर्गा, माता रूक्मिणी, माता सरस्वती, देवी कुन्ति, सतिसाध्वी द्रौपदी त्यसैगरि लंकापति राक्षस रावण आदि सबै हामिले मान्ने भगवान तथा नरनारीहरूले जनै धारण गर्दथे । जब देवदेवी देखी लिएर लोकको नरनारी सम्मले जनै लगाउने प्रचलन थियो भने स्त्रीले जनै धारण गर्नु हुन्न भन्नु सरासर गलत हो । जनै ब्रहृमचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहँदामात्र धारण गरिन्छ ।
चतुर्थ आश्रम सन्यास आश्रममा पुगेपछि यसलाई उतारेर विसर्जन गरिन्छ । भगवान गौतम बुद्दले समेत सन्यास ग्रहण गर्नु पुर्व शिखा (टुप्पी) र जनै त्याग गरेको शास्त्रीय प्रमाण छन । जनैका तीन दण्ड (डोरा, सूत्र) ले मन, बचन र कर्मको एकताको शिक्षा दिन्छन् । जे मनमा छ त्यही वचनमा हुनुपर्छ र सोही अनुसार कर्ममा पनि उतार्नुपर्दछ । जब मन, वचन र कर्म एक हुन जान्छन् मनुष्य महात्मा बन्दछ, अन्यथा त्यो झोले वा दुरात्मा बन्दछ । जनैका पवित्र तन्तुमा नौ देवहरू अवस्थित रहन्छन् । जस्तैः ओङ्कारः प्रथमे तन्तौ द्वितीयेग्निस्तथैवच । तृतीये नागदैवत्यं चतुर्थे सोमदेवता ।। पञ्चमे पितृदैवत्यं, षष्ठे चैव प्रजापतिः । सप्तमे मरूतश्चैव अष्टमे सूर्य एवं च ।। सर्वे देवास्तु नवमे इत्येतास्तन्तु देवताः ।। पहिलोमा ओंकार, दोश्रोमा अग्नि, तेश्रोमा अनन्त, चौथोमा चन्द्रमा, पाचौंमा पितृगण, छैटौंमा प्रजापति, सातौंमा वायु, आठौमा सूर्य र नवौ सूत्रमा सबै देवता प्रतिष्ठित छन् । जनै धारण गर्ने व्यक्तिले जनैका सूत्रहरूमा स्थीत नौ देवहरू संग सम्वन्धित रहेका निम्न लिखित गुणहरूलाई आफू भित्र धारण गर्नुपर्दछः ओंकार – एकत्वको प्रकाश, ब्रहृमज्ञान । अग्नि –तेज, प्रकाश, पापदहन । अनन्त –अपार धैर्य र स्थीरता । चन्द्रमा –मधुरता, शीतलता र सर्व प्रियता । पितृगण –आशिर्वाद, दान र स्नेह । प्रजापति –प्रजापालन, प्रेम र सौहार्द । वायु –पवित्रता, बलशालिता र धारण शक्ति सूर्य –गुण ग्रहण, नियमितता, प्रकाश अन्धकारनाश र मल शोषण । सर्वे देवता –दिव्य र सात्विक जीवन । हाम्रा मौलिक पर्वका विषेशताको व्याख्या गर्न कठिन छ , सनातन धर्म आस्था विचारको पुनर्जागरण गरि जन जन मा पुर्याउन जरुरी छ । सनतन धर्म भित्र रहेका अनेकौ पर्वको विविधता नै सनातन धर्मको एकता नै हाम्रो गौरवहो ।
आजको दिन विस्वसंस्कृत दिवस पनि हो सन १९६९ देखि संस्कृत दिवस मनाउदै आएको पाइन्छ ।विस्वका भाषा मध्ये धेरै भाषाको जननी संस्कृत भाषा भएको हुदाँ संस्कृत भाषाप्रती आज को दिनमा कृतज्ञता र सम्मान गरि विभिन्न धार्मिक सांस्कृतिक , सघं संस्था गुरुकुल आदिमा भव्यरुपमा मनाउदै आइएको छ ।राष्ट्रीय हिन्दु एकता मञ्च नेपालले स्थापना काल देखि नै यश दिन लाई संस्कृती दिवस मनाउदै आएको छ । संस्कृत बाट प्रवचन गरि संस्कृती भाषाको महत्वका बारेमा दर्शाइने गरिन्छ । नेपालको लागि बिड्म्बना नै भन्नू पर्छ हाम्रा मौलिकता संस्कार ,संस्कृती भाषा लिपि परम्परा आदि राम्रा हुदाँ हुँदै पनि छायामा पारिएको छ ।शासन व्यवस्था परिवर्तनका नाममा जब २००९ सालमा वामपंन्थी विचार बोक्ने हरुको प्रगतिशिल लेखक र २०१० सालमा त्यसलाइ काउन्टर दिन नेपाली काँग्रेस समर्थक को लेखक संघ स्थापना भयो त्यस पछि आ आफ्ना पाटी दल का विचार बोक्दै परिवर्तनका नममा हाम्रा मौलिक संस्कार संस्कृती विरुद्धनै लागि पर्दै बुर्जुवा भन्दै ओजेलमा पारियो , पछिल्लो पिडिका युवा हरु हाम्रा अथहा ज्ञान पद्धती आचरण अनुसासन आदि बाट वञ्चित हुन पुगे र धर्म संस्कृतिको महत्व लाई ओजेलमा बनाइयो । देश केवल भुगोल माटो ले मात्र देश हुदैन , देशको पहिचान हुन्छ आस्था हुन्छ मौलिक संस्कार संस्कृती हुन्छ भन्ने हेक्का नभएका कारण व्यवस्था सँग तुलना गरि मौलिकता विरोधी हरुको स्थापना हुदाँ यो अवस्था आयो। तर आज बिस्तारै चेतना दिप प्रज्ज्वलित हुँदै विभिन्न विद्ववान हरु बाट कलम चलाउन थाले पछि एक किसिमले जागरण को सुरुवात भएको छ भने कतिपयले त आज पनि मौलिकता परम्पराको कुरा सुन्न पनि रुचाउदैन ।यसलाइ पुनर्जागरण गर्न राष्ट्रीय हिन्दु एकता मञ्च नेपाल र चेतना साहित्य समाज ले हरेक संस्कार संस्कृती पर्व मौलिकता सँग गाँसिएका सबै लाई एकीकृत गर्दै जागरणमा एक इट्टा थप्ने काम गर्दै आएको छ ।
हामिले यदि नेपालका ॐ कार परिवार भित्रका स्वधर्म संस्कार , संस्कृती भाषा लिपि गर्न्थ आदि पुनर्जागरण गर्न सके नेपाल विस्वगुरु देशको रुपमा परिचित हुने छ । विस्वका करिव तीन अरव ॐ कार परिवारको तिर्थ स्थल बन्ने छ , विस्वमा एक मात्र तपोभुमी वेद भुमी नेपाल हो भने अन्य देशहरु भोग भुमिमात्र हुन त्यही भएर नेपाल लाई मात्र नेपाल आमा भनेर पुकारिन्छ , तप ध्यान साधना गर्न नेपालको हिमवतखण्ड भुमिलाइ रुचाउने नेपाली माटोमै गरेको साधना मात्र सिद्ध हुन्छ भन्ने गरेको हो । त्यसैले हामी सबै जागौ ,उठौ , हाम्रा पर्वको महिमा जन जन मा पुर्याऔं संस्कृत दिवस एवम जनै पुर्णिमा हार्दिक शुभकामना । जय सनातन धर्म , जय चेतना साहित्य समाज । ॐ ॐ ॐ
