राजनीतिसमाचारस्थानीय

निर्माणाधीन सडकका नाली नखोल्दा स्थानीय डुवानमा

भद्रपुर । साउनको दोश्रो सातासम्म पर्याप्त वर्षा नभएकोे झापाको जनजीवन शनिवारबाट अविरल वर्षा सुरू भएसंगै डुबान र बाढी कटानको समस्या देखिन थालेको छ ।

शुक्रवार बेलुकादेखि शुरू भएको सिमसिम वर्षाद शनिवाररातिबाट बढेका कारण पानीको रफ्तारका कारण झापामा डुबान र बाढी कटानको समस्या देखिन थालेको हो ।

अधिक होचा भूभाग र खोला नदीको प्रभाव रहेका झापाका चन्द्रगढी, भद्रपुर, गौरीगञ्ज, गौरादह, शिवगञ्ज, झापा, शरणामती, जलथल, अनारमनी, केचना, घेरावारी र पाठामारीका भूभागमा डुबान र खोला कटानका समस्या देखा परेको स्थानीय बताउँछन् ।

जल तथा मौषम विज्ञान केन्द्रले सूचना जारी गर्दै झापाका कन्काई, बिरिङ, निन्दा, मेची नदी आसपासको क्षेत्र बाढी तथा डुवानको जोखिम क्षेत्र भएकाले सकेसम्म भुइँतलामा अन्नपात नराख्न र सचेत भएर बस्न सर्वसाधरणलाई सूचना समेत जारी गरेको छ ।

जल तथा मौषम विज्ञान केन्द्रका अनुसार नेपालमा मनसुनी वायु कायमै रहेको छ । जारी वर्षाद बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशभर अविरल वर्षा भइरहेको छ । त्यसको प्रभावले सिमसिमदेखि भिषण आरी घोप्टे वर्षासम्म हुनसक्ने अनुमान गरिएको छ ।

यसै बिच भद्रपुर नगरपालिका क्षेत्र भित्र निर्माणाधीन सडक आसपास पानीको निकास बन्द भएका कारण डुबानमा परेको गुनासो स्थानीयले गरेका छन् ।

डुबानमा परेका स्थानीयका अनुसार डुबान क्षेत्रका वडा कार्यालयहरूलाई पानीको निकास खोलिदिन अनुरोध गर्दा बेवास्ता गरिरहेको आरोप समेत लगाएका छन् ।

भद्रपुर ९ देवकोटा चौक पूर्व दक्षिण डाँगीबारी जोड्ने सडक तीन वर्षयता निर्माणाधीन रहेका कारण टालिएको नाली नखोलिदा दर्जनबढी घर डुबानमा पर्ने गरेको पीडित तोया बास्तोलाको गुनासो छ । उनका अनुसार तीन वर्ष अगाडि नै सडकको नाली क्लियर गर्न माग राखेर ३१ घरपरिवारले भद्रपुर ९ नम्वर वडा कार्यालयमा निवेदन दिएको भए पनि सुनुवाइ नहुँदा हरेक वर्ष डुबानको पीडा सही रहनु परेको छ । वर्षाद सुरू हुनु अगाडी नै सडकको नाली खोली दिन माग गरे पनि जनप्रतिनिधिले चासो नदिएको बास्तोलाले बताए ।