दुई दशकमा कोशीमा ९७ मानिस सहित ४१ हात्ती मारिए
भद्रपुर । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जना मानिसको मृत्यु भएको छ भने ४१ वटा जंगली हात्ती समेत मरेका छन् ।
मानव हात्ती द्वन्द्वका कारण वि सं २०६२÷६३ देखि २०८२ असारसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट सो संख्यामा मानवीय क्षति भएको हो भने मानिसका कारण हात्ती पनि मरेका हुन् ।
दशकौं देखिको समस्या बनेको मानव हात्ती द्वन्द्वले झापामा मात्र एक वर्षभित्र ६ जना मानिसको ज्यान गएको छ भने ४ वटा हात्ती पनि मारिएका छन् ।
डिभिजन वन कार्यालय झापाको पछिल्लो विवरण अनुसार आर्थिक वर्ष २०८१ ÷०८२ मा झापामा हातीको आक्रमणमा परी ६ जना मानिसले ज्यान गुमाएका हुन् भने यस अवधिमा ४ वटा हात्ती समेत मरेका छन् । झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७३ जनाको मृत्यु भएको छ । यस क्रममा २०६७ सालदेखि २०८२ असारसम्ममा झापामा सात जना गैरनेपालीको समेत हात्ती आक्रमणबाट मृत्यु भएको देखिन्छ ।
विसं २०८० साउनदेखि २०८१ असार सम्ममा चार वटा जंगली हात्ती मृत फेला परेका थिए भने २०८१ साउनदेखि २०८२ असारसम्ममा समेत चार वटा हात्ती मृत फेला परेको डिभिजन वन कार्याल झापाको विवरणले देखाएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा झापामा मरेको अवस्थामा पछिल्लो पटक असार २ गते मेचीनगर नगरपालिका– १ गणेश टोलमा रहेको मकैबारीमा वयस्क पोथी हात्ती मृत भेटिएको थियो । यसअघि जेठ १९ गते राति कमल गाउँपालिका वडा नं–३ मा रहेको रतुवामाई बृक्षरोपण आयोजनाको जंगलमा करेन्ट लागेर हात्ती मरेको थियो । त्यसको दुई साताअघि जेठ ७ गते बुद्धशान्ति–५ को पाँचपोखरी सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको थियो भने २०८१ साउन ४ मा अर्जुनधारामा पनि जंगली हात्ती मृत भेटिएको थियो ।
हात्ती आक्रमणमा ज्यान गुमाउनेका परिवारलाई प्रति व्यक्ति १० लाख रूपैयाका दरले ६० लाख रुपैयाँ राहत वितरण गरिएको सूचना अधिकारी अमृत लिम्बूले जानकारी दिए । हात्तीबाट मानवीय क्षति भइरहँदा मानिसबाट हात्तीले पनि क्षति व्यहोरिरहेको अवस्था छ । गएको आर्थिक वर्षमा झापाभित्र ४ वटा जंगली हात्ती विभिन्न कारणले मृत्यु भएको समेत लिम्बूले बताएका छन् ।
त्यस्तै हात्तीको आक्रमणबाट झापामा ७ जना सख्त घाइते भएका थिए । उनीहरुलाई उपचार खर्चवापत् ७ लाख ३८ हजार ४३२ रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै हात्तीले १२५ वटा घरगोठमा क्षति पुर्याएको छ । घर भत्किएका पीडितहरुलाई १४ लाख २६ हजार ५०० रुपैयाँ राहत प्रदान गरिएको छ । त्यस्तै २१३ जना किसानको अन्नबाली हात्तीले नष्ट गर्दा उनीहरुले १६ लाख ४४ हजार रुपैयाँ राहत पाएका छन् । त्यस्तै ५२ जनाको भण्डारण गरिएको अन्न क्षति गर्दा उनीहरुले ३ लाख ७० हजार ३०० रुपैयाँ राहत पाएको सूचना अधिकारी लिम्बूले जानकारी दिए ।
हात्तीबाट ९ वटा चौपायामा समेत क्षति पुगेको छ । त्यसवापत् ९० हजार रुपैयाँ प्रदान गरिएको छ । गत वर्ष जंगली हात्तीबाट भएको जनधनको क्षतिवापत् जम्मा ६ करोड ४२ लाख ६९ हजार २३२ रुपैयाँ राहत प्रदान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
मानव—हात्तीबीच द्वन्द्व न्युनीकरणका लागि संघीय तथा प्रदेश सरकारले हात्ती पर्यटनमा जोड दिने, हात्तीले नखाने चिया, कागती, ल्वाङ, सुपारी, बेसार आदिको खेतीपाती प्रणालीको सुरू गराउने, पीडितलाई आर्थिक सहायता दिने नीति लिएको छ । हात्तीको जैविकमार्ग निर्माण, वनभित्रै हात्तीमैत्री वातावरण निर्माण तथा वनमा सुधार गर्न सरकारले प्रभावित जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविकमार्ग निर्माण, वन क्षेत्रमा पोखरी निर्माण, फलफूलका बिरुवा रोपण, गस्तीलगायतका गतिविधि गर्दै आएको छ ।
हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय झापाले पनि सरकारको निर्देशन अनुसार गत आर्थिक वर्षबाट स्थानीयवासीलाई कागतीका बिरुवा वितरण अभियान समेत सुरू गरेको थियो । हात्ती प्रभावित क्षेत्रमा हात्तीले नखाने बालीका रूपमा तोरी र चियाखेती पनि व्यापक मात्रामा किसानले गर्दै आएका छन् । मौरीसँग हात्ती डराउने भएकाले कतिपय स्थानीयवासीले सुरक्षाका लागि मौरीपालन पनि गर्दै आएका छन् ।
तर पनि, मानव—हात्तीबीच द्वन्द्व घट्न सकेको छैन । जिल्लामा हात्तिको आक्रमणबाट मानव क्षति बढ्दो छ । यसको दीर्घकालीन समाधान खोज्न नसकिए पनि जनचेतना अभिवृद्धि, उचित राहत व्यवस्थापन तथा प्रभावकारी वन व्यवस्थापनमा ध्यान दिइरहेको डिभिजन वन झापाले जनाएको छ । झापाका जलथल, निचाझोडा, काली झोडा लगायत सामुदायिक वन क्षेत्रमा करिव तीन दर्जन हाराहारीमा रैथाने हात्ती बस्दै आएका छन् । जङ्गलछेउका बासिन्दा ती हात्तीको आक्रमणमा पर्दै आएका छन् ।
यस्तै कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेको प्रदेश वन निर्देशनालय धरानले जनाएको छ ।
निर्देशनालयका प्रमुख डा.इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२÷६३ देखि २०८२ असारसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट उक्त मानवीय क्षति भएको हो । सोही अवधिमा ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका उनले जानकारी दिनुभयो ।
उनले प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा ज्यान गुमाउनेमा सबैभन्दा बढी झापामा रहेका बताए । छिमेकी मुलुक भारतबाट आउने हात्तीको प्रवेश विन्दु झापा भएकाले पनि बढी जनधनको क्षति हुने गरेको उनले उल्लेख गरे । उनका अनुसार झापामा ७२, मोरङमा १७, सुनसरीमा सात र इलामका एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
प्रमुख डा.सापकोटाले सोही अवधिमा झापामा २५, मोरङमा नौ, सुनसरीमा छ र उदयपुरमा एउटा हात्ती मरेका जानकारी दिए । ‘सरकारको ठूलो धनराशी वन्यजन्तु संरक्षण, मानवीय क्षतिपूर्ति तथा राहत, कृषिबालीको क्षतिपूर्तिलगायतमा खर्च भइरहेको छ’, उनले भने– ‘स्थानीयले पनि वन्यजन्तुसँगको द्वन्द्वमा सतर्कता अपनाउनु जरुरी छ ।’ उनले सरकार जति नै स्थानीय पनि गम्भीर हुने हो भने मानव–हात्ती द्वन्द्व न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।
