समाजमा गरिबीकै कारण बालबिज्याँइ बढ्दै
मञ्जु खतिवडा
भद्रपुर । बालबालिकामाथि अभिभावकले आर्थिक अपेक्षा पाल्ने क्रमसितै बाल बिज्याँइमा बालबालिकाको संलग्नता बढ्दै गइरहेको छ ।
विद्यालयमा पढलेख गर्नु पर्ने उमेरमा घरको आर्थिक भार बोक्नु पर्ने बाध्यता भएका अधिकाम्स बालबालिका कुनै न कुनै रूपमा बिज्याँइका घटनामा जोडिन बाध्य हुनु परेको हो ।
झापा जिल्लामा परेका बाल बिज्याँइ सम्बन्धि मुद्धाको अवस्था हेर्दा अधिकाम्स बालबालिका घरको आर्थिक अवस्था कमजोर भएकै कारण बिज्याँइसित जोडिएको भेटिने गरेको छ ।
यो अवस्था देशभरी नै उही गतिमा रहेको देखिन्छ । बालबालिका सम्बन्धि अध्ययताको अध्ययन अनुसार पारिवारिक विपन्नता रहेकै कारण अधिकाम्स बालबालिका शोषण, दमन र अन्यायमा पर्नु पर्दा बिस्तारै बाल बिज्याँइसित गाँसिन पुग्छन् ।
पछिल्ला बाल बिज्याँइका घटना हेर्दा बालबालिका बालबालिका बिरूद्धको कसुर अन्र्तगत लागू औषध कारोवार, ओसारपसार, बेचबिखन र सेवन, जवरजस्ती करणी, अभद्र व्यवहार, ज्यान मार्ने, डाका, चोरी, अपराधिक उपद्रव, सवारी ज्यान जस्ता बाल बिज्याँइका घटनामा संलग्न देखिने गरेको छ ।
बाल बिज्याँइमा बालबालिका आफैं नभएर अन्यत्रको षड्यन्त्रबाट फसिरहेको देखिन्छ । राजनीतिले सही गति लिन नसक्दा फिरङ्गीहरूले घुमफिरका नाममा लागू औषध दुव्र्यसनको व्यपार गरेर अरबौं रूपैया नेपालबाट विदेश लगिरहेको प्रष्ट देखिने गरेको छ । विदेशीहरू पर्यटक बनेर नेपाल प्रवेश गर्दै गर्दा सरकारी संयन्त्रले अबैध काम वा गतिविधि गरो कि गरेन भनेर चासो नलिदाँ नेपाली समाजमा दुव्र्यसन छोडेर आउँदा भएको खर्चको दुई गुना पैसा कमाएर जाने गरेको अवस्था छ । यही अवस्था नै आजका पुस्ताको भोलिमाथिको खेलवाड तथा असल नागरिकविहिन राज्य बन्ने आधार तय हुँदैछ ।
आज विनाशतिरको गन्तव्य तय गरिरहेको युुवापिँढीलाई त्यस्तो आचरणबाट हुने यो आत्मघाती डढेलोमा होमिनबाट जोगाउन पनि बालबालिकै अवस्थामा सजग गराउन सकिए भोलिको नेपाल ’जिउँदा लासहरूको देश’ बन्नबाट जोगिने थियो । लागू पदार्थको जीवनघाती कुलतमा फँसेका छोराछोरीका अभिभावकहरूका पीडा र मानसिक यातना निकै ठूलो कोलाहल बन्दैछ । कुलतमुक्त छोराछोरीका अभिभावकहरू पनि त्रसित भएको अवस्था छ ।
कहिलेदेखि र कहाँबाट नेपाली समाजमा लागूऔषधको प्रकोप प्रवेश गर्यो भनेर खोज्ने र रोक्ने प्रयास गर्ने हो भने अहिलेको पुस्ता बालबालिकाको भविष्य सुरक्षित हुन सक्छ । इतिहास हेर्दा नेपालमा लागूऔषध ल्याउने र नेपाली बालबालिका तथा युवा युवतीहरूलाई दुव्र्यसनी बनाउने काम हिप्पी–जिप्सीहरूबाट स्थापित भएको पाइन्छ । विदेशी पर्यटक सहज आवत जावतको वातावरण बनेपछि यो विनाशकारी कुलतले खासगरी देशको भविष्यका कर्णधार युवा पिँढीलाई नष्टभ्रष्ट तुल्याउने अवस्था बढ्दो छ ।
सही समयमा लागूऔषध दुव्र्यसनका बारेमा सही जानकारी नदिएको कारण धेरै बालबालिका तथा युवा युवतीहरू लागूऔषध दुव्र्यसनको लतमा फसेका छन् । ड्रग्स कारोवारीहरू आफ्नो संञ्जाल फिजाउनका लागि गाउँ समाज हुँदै विद्यालय तहसम्म डुलन्ते विक्रेता खटाएर अरबौंको व्यापार गरिरहेका छन् । खासगरी १५ देखि १९ वर्ष उमेर समूहका किशोर—किशोरीलाई लागूपदार्थको दुव्र्यसनमा फसाउन सफल भएका कारोवारीहरूले आफ्नो कालो व्यापार फष्टाउन सफल भइरहेको छ ।
लागूऔषध प्रयोगका कारण विनाशतिरको गन्तव्य तय गरिरहेको युुवापिँढीलाई यो विनासकारी सङ्क्रमणरूपी डढेलोमा होमिनबाट जोगाउन सकिएन भने भोलिको नेपाल ’जिउँदा लासहरूको देश’ नबन्ला भन्न सकिने अवस्थाले चिन्ता बढ्दै गइरहेको छ । लागू पदार्थको जीवनघाती कुलतमा फँसेका छोराछोरीका अभिभावकहरूका पीँडा र मानसिक यातनाका भारीहरू देखेर कुलतमुक्त छोराछोरीका अभिभावकहरू पनि त्यस्तै हुने चिन्तामा छन् । यसको परिणाम समाज संत्रस्त छ । बाल बिज्याँइलाई रोक्न बालबालिकामाथि सही मार्गदर्शन तथा रेखदेखको आवश्यक छ । साथीसंगत तथा शिक्षादिक्षाको अभावले बालबालिका बाल बिज्याँइमा संलग्न भइरहेका छन् ।
रक्सीबाट सुरू हुने लागू पदार्थको दुव्र्यसन चरेस तथा हिरोइनमा गएर जीवनकै अन्त्यमा टुंगिन्छ । विनाशकारी आचरण बनाएर जीवन लीला समाप्त पार्ने युवा युवतीको संख्या दिनदिनै बढ्दै जानु देशका लागि भोलिको पुस्ता अन्धकारमा धकेलिनु हो । दुव्र्यसनको कारण आर्थिक, सामाजिक र पारिवारिक विचलन समेत भोग्नु पर्छ । एउटा व्यक्तिको गलत आचरणले सयौं व्यक्तिमा नकारात्मक प्रभाव व्यहोर्नु पर्ने हुन सक्छ । नेपालभरीकै समस्या रहे पनि झापामा लागूपदार्थको समस्या अझ बिकराल बन्दै छ । यसमा बालबालिका जोडिनु अझ दुखद कुरा हो ।
भारतसित खुल्ला सिमाना जोडिएको झापा लागूपदार्थ ओसारपसार गर्ने सहज मार्ग बनाएर कारोवार गर्नेदेखि प्रयोग गर्ने दुव्र्यसनीसम्मको संख्या उच्च भएको जिल्लामा पर्दछ । छिमेकी भारतीय वजारमा नेपाली बालबालिका तथा युवा युवतीले सहजै खरिद गर्न पाउने लागूऔषध नेपालतिर प्रतिबन्धित भए पनि उतै खाएर फर्कनेको संख्या झापामा बढी रहेको छ । बालबालिका नै लागू औषध कारोवार तथा दुव्र्यसनमा पर्नु भविष्यको पुस्ता सवल नहुने संकेत पनि हो । यसैले सवैले सोच्नै पर्छ कि बाल बिज्याँइ बालकको एक्लो सोचको परिणाम होइन यो घरपरिवारदेखि समाजसम्मको कर्तव्यबोधको अभावले घटिरहेको घटना हो । बाल बिज्याँइ रोक्न सवै पक्ष सचेत हुन जरूरी छ ।
