स्थानीय

४३ औं वि.पि. स्मृति दिवस भद्रपुरमा सम्पन्न

भद्रपुर । नेपाली जनताका प्रजातान्त्रिक नायक तथा नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोइराला (वि.पि.) को ४३ औं स्मृति दिवस सोमबार भव्य रूपमा भद्रपुर–१० स्थित वि.पि. चोकमा सम्पन्न भएको छ।

कार्यक्रमको आयोजना नेपाली काँग्रेस भद्रपुर नगर समिति तथा वि.पि. कोइराला स्मृति प्रतिष्ठान झापाले संयुक्तरूपमा गरेको हो।
कार्यक्रमको सभापतित्व नेपाली काँग्रेस भद्रपुर नगरका सभापति राम बहादुर कडेलले गरेका थिए।

उक्त स्मृति दिवसमा नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी थिए।
वि.पि. कोइराला स्मृति प्रतिष्ठान झापाका अध्यक्ष गोविन्द लम्सालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव लावण्य कुमार पोखरेलले गरेका थिए।

कार्यक्रममा मन्तव्य राख्दै महिला संघ झापाकी सभापति टिका मैनालीले वि.पि. कोइरालाको सिद्धान्तलाई महिलामैत्री र मानवअधिकारमुखी बताउँदै उहाँको योगदानलाई वर्तमान राजनीतिमा अझ गहिरो रूपमा आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गरिन्।

त्यस्तै नेपाली काँग्रेस नीति तथा अनुसन्धान प्रतिष्ठानका केन्द्रीय सदस्य भरत प्रसाईले वर्तमान राजनीतिक परिप्रेक्ष्यमा वि.पि. कोइरालाको विचार अझै सान्दर्भिक रहेको उल्लेख गर्दै लोकतन्त्र, समाजवाद र राष्ट्रियताप्रतिको उहाँको अटल विश्वास अहिलेको पुस्ताले आत्मसात् गर्नुपर्ने बताए।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति थियो।
वि.पि. कोइरालाको स्मृतिमा आयोजित यो दिवसले उहाँको योगदानलाई नयाँ पुस्तासमक्ष पुनः उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।