शिक्षासमाचारस्थानीय

नियामक बेखबर बस्दा विद्यालय विकृत बन्दै

भद्रपुर । भद्रपुर क्षेत्रमा रहेका केही निजी लगानीका विद्यालयका कारण कक्षा ११ को नयाँ भर्ना प्रकृया विकृत बन्दै गइरहेको पाइएको छ ।

कक्षा १० का विद्यार्थीलाई विद्यालय—विद्यालयमा एजेन्ट बनाएर परीक्षा नदिइ कक्षा ११ उत्रीर्ण गराइने, कक्षा १२ को राष्ट्रिय बोर्डको परीक्षामा सेटिङ गरेर शतप्रतिशत उत्रीर्ण गराइ दिने भ्रम छरेर नयाँ विद्यार्थी तान्ने कार्यले विकृति बढ्दै गइरहेको हो ।

भद्रपुर ५ मा रहेको एक विद्यालयका लेखा शाखाका कर्मचारीले विभिन्न विद्यार्थीलाई पठाएको म्यासेज अनुसार सो विद्यालयमा भर्ना भए कक्षा ११ को परीक्षामा सहभागी नभए पनि राम्रो अंकका साथ उत्रीर्ण गराइने छ । त्यस्तै कक्षा १२ को राष्ट्रिय बोर्डको परीक्षाको सेन्टरमा सेटिङ्ग गरेर उत्रीर्ण गराइने छ भन्दै भ्रम छरेको पाइएको छ ।

विद्यालयमा कार्यरत एकाउन्ट हेर्ने शिक्षकले एसईई उत्तीर्ण गरेका एक विद्यार्थीलाई फेसबुक मेसेन्जरमा लेख्दै भनेको म्यासेज हेर्दा “कक्षा ११ को परीक्षामा बस्ने बित्तिकै पास भइहालिन्छ, ११ पास हुन केही पनि छैन । मेन भनेको कक्षा १२ हो । हाम्रो चाहिँ १२ कक्षाको परीक्षा केन्द्र भद्रपुर मावि हुन्छ, एमरेल्डमा होइन । भद्रपुर माविमा परीक्षा दिँदा मज्जाले पास हुने वातावरण हामी बनाउँछौँ ।” यस खाले भ्रमले विद्यार्थीमा नकारात्मक प्रभाव जमाएको प्रष्ट हुन्छ । विद्यालयले विद्यार्थीलाई मासिक शुल्कमा छुट तथा छात्रवृत्ति दिनु त्यो अभिभावकको लागि राम्रो हो । त्यसलाई गलत भन्न मिल्दैन । तर, म्यासेजका कारण कतीपय बालबालिका नपढी उत्रीर्ण हुन पाउने आशमा त्यस विद्यालयमा जान बाध्य रहँदा उनीहरूको भविष्य अन्यौलमा पर्ने चिन्ता अभिभभावकमा गएको छ ।

शिक्षालयलाई सडक किनारको पसलकै स्वरूपमा सञ्चालन गर्दा समेत नियामक बेखबर रहेको परिणाम भद्रपुरमा शैक्षिक क्षेत्र विकृत बनेको स्थानीयको आरोप छ ।

विद्यालयकका ती कर्मचारीको कर्तुत रोक्न म्यासेज पाएका विद्यार्थीले अभिभावक गुहारेपछि थम्की समेत दिन थालेको पीडित विद्यार्थीले गुनासो गरेका छन् ।
संघीयता कार्यान्वयनमा आएसँगै शिक्षा क्षेत्रको जिम्मेवारी स्थानीय तहमा आएको छ । जनतासित प्रत्यक्ष सरोकार राख्ने आधारभूत अधिकार भित्र पर्ने शिक्षा क्षेत्र विकृतिको चाङमा पुरिनने अवस्थामा आएको छ । देशकै मुहार फेर्ने र समृद्धिको सपना साकार पार्ने यो क्षेत्र न सरकारबाट संरक्षित बन्न सक्यो न त निजी क्षेत्रभित्र सेवामुखी हुन सक्यो भन्ने प्रमाण हरेक वर्षका नयाँ भर्ना अभियानका बेला हुने अशोभनीय कृयाकलापले प्रष्ट पार्दे छन् ।

राजनीति भित्र पैसामुखी सेवा विकास हुने कारण पनि शिक्षा क्षेत्रका विकृति पालन पोषणको वातावरण बन्न पुग्यो । शिक्षालाई निजी व्यपार बनाउनु नहुने वर्तमान संविधानको भावना विपरित सरकारले व्यापारिक समूह मोटाउने गरी निजी विद्यालयलाई निर्वाध छोडिरहेको छ । शिक्षा सडक किनारमा राखिएको व्यपार होइन भन्ने सत्य बिर्संदै निजी विद्यालयहरू आपसमा हिलो छ्याप्दै अस्वस्थ्य प्रतिष्पर्धा गरिरहेका छन् । न कुनै नीति छ, न त कुनै विधि छ । विद्यालय सञ्चालन गर्न लिएको अनुमति पत्रमा उल्लेखित शर्त प्रतिकुल कार्य गर्न पाउनु विकृति जन्माउनु हो । भद्रपुरमा शिक्षाको गुणस्तर कहाँ जादैछ ? यसको नियमन गर्ने निकाय कहाँ छ ? सजिलै पास गराइदिने, परीक्षा सेन्टर अनुकूल पारिदिने जस्ता लोभ लाग्दा प्रस्ताव राख्दै विद्यार्थीहरूलाई भर्ना गरिरहेका छन् ।

११ कक्षामा फेल भए पनि पास गराइदिने र १२ कक्षामा विद्यालयको अनुकुल परीक्षा केन्द्र हुँदा पास गर्न सहज हुने भन्दै आश्वासन दिँदै विद्यार्थी तानिरहेका छन् । शिक्षा विज्ञहरू भन्छन्—“एसईई केवल प्रवेशद्वार हो । वास्तविक शिक्षाको मापन त कक्षा ११ र १२ मा हुन्छ । तर, विद्यालयहरूले परीक्षालाई सजिलो बनाउँदै बढी विद्यार्थी भर्ना गर्ने मानसिकता राख्ने हो भने यहाँ कस्तो शैक्षिक गुणस्तर निर्माण हुँदैछ र गरिँदैछ । त्यस खालका गतितविधि रोक्न सरकारी पक्षको चासो र तत्परता नदेखिँदा विद्यार्थी ठगिने प्रवृत्ति भने दिन प्रतिदिन बढिरहेको छ ।