भद्रपुर–विर्तामोड सडक खण्डको अबरोध हट्यो
भद्रपुर । सडक मिचेर घर टहरा निर्माण गर्नेहरूले भद्रपुर–विर्तामोड सडक खण्डको चन्द्रगढी क्षेत्रमा सडक विस्तार रोक्न दायर गरेको रिट निवेदन अदालतले खारेज गरेपछि निर्माण अलपत्र परेको सडक निर्माणको बाटो खुलेको छ ।
भद्रपुर–विर्तामोड सडक अन्तरगतको चन्द्रगढीको लेखनाथ चौक पूर्व झण्डै एक किलो मिटर सडक बिस्तारमा बाधा सिर्जना गर्दै निर्माण कार्य रोक्न माग गरेर सडक मिचेर बनाएका घर टहराका मालिक समेत रहेका स्थानीयले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।
रिट खारेजपछि भद्रपुर–१० को लेखनाथ चोकदेखि भैरे चोकसम्म पूर्ण रूपमा रोकिएको सडक निर्माण कार्य सुचारू गर्न बाटो खुलेको हो ।
स्थानीय विष्णुमाया ताम्राकार समेतले दायर गरेको रिटलाई सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले खारेज गरेको अदालतको आदेशले देखाउँछ । ताम्राकार सहित २१ जनाले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय लगायतलाई विपक्षी बनाई २०७० चैत्र ९ गते रिट हालेका थिए ।
भद्रपुर–विर्तामोड सडकअन्तर्गत गरामनी–चन्द्रगढी खण्डको ८.४१ किलोमिटर सडक निर्माणको ठेक्का २०७७ माघ ६ गते संझौता भएको थियो ।
काठमाडौंको एमएस कन्टेक प्रालिले २०८० साल साउन ५ गते अर्थात् ३० महिनामा बिर्तामोड–भद्रपुर सडक निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि त्यस अवधिभित्र करिब ३० प्रतिशतमात्र काम सम्पन्न भएको थियो ।
त्यसपछि पटक पटक गरी सडक डिभिजन कार्यालय दमकले गत वर्षको फागुन ६ गतेसम्म म्याद थप गरेको थियो । पटक–पटक गरिएको म्याद थपबाट पनि कन्टेक प्रालिले काम पुरा नगरेपछि कञ्चन निर्माण सेवाका प्रोप्राइटर केदार गिरीले बाँकी रहेको काम गर्ने गरी पेटी कन्ट्याक्टमा जिम्मेवारी लिएर काम गरिरहेका छन् । उक्त सडक भ्याटसहित ५८ करोड २ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सडक निर्माण रोक्न मुद्धा परेपछि चन्द्रगढीको लेखनाथ चौकयता निर्माणको कुनै पनि काम भएको छैन भने लेखनाथ चौक उत्तर देउनिया खोला पुलसम्म सडक फराकिलो बनाउने, माटो भर्ने र नाला बनाउने काम सुरू भए पनि सुस्त गतिमा चलिरहेका कारण स्थानीयले सास्ती भोग्नु परिरहेको छ भने दुर्घटनाको जोखिम समेत बढिरहेको स्थानीयको गुनासो छ ।