गणतन्त्र दिवसमा झापाका ३ सहित ७ पत्रकार पुरस्कृत
भद्रपुर । १८ औं गणतन्त्र दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले सकृय पत्रकारितामा रहेका ७ जना अग्रज पत्रकारलाई नगद सहित सम्मान गरेको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेशमा रहेर सकृय पत्रकारिता गरिरहेका ७ जना पत्रकारलाई नगद एक लाख सहित सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरूमा झापाका अग्रज पत्रकार चिन्तामणि दाहाल, मोहन काजी, विमल लामिछाने, रासस कोशी प्रदेश प्रमुख सदरूल महोमत, राजेशबहादुर श्रेष्ठ धनकुरा, यसोदा सेने सुनसरी, र मनोजकुमार दाहाल मोरङ रहनु भएको छ ।
यस्तै कार्यक्रममा प्रदेशभरीबाट निबन्ध लेखनमा उत्कृष्ट भएका ५ विद्यार्थी र ५ लेखकलाई समेत नगद सहित सम्मान गरिएको थियो ।
आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीको अध्यक्षता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुन नसक्ने बताउँदै कमी कम्जोरीविनाको सुधारिएको लोकतन्त्र अबको गन्तब्य हुने बताए । कार्कीले आफ्ना मतदाताको मत नभएका अर्का पाटीका मतदाताले चुनाव जिताउनु पर्ने बैशाखी टेकेर हिड्नेहरूले संघीय लोकतान्त्रिक गणतन्त्र फाल्ने उद्घोष आफैंमा हाँस उठ्दो घटना भएको समेत जनाए ।
