कचनकवलमा लागूपदार्थ दुव्र्यसनी रोक्न आमाहरूलाई प्रशिक्षण दिइदै
कचनकवल । लागूपदार्थका कारण सुदुर पूर्वको झापा पछिल्लो दशकयता निकै आक्रान्त भएको देखिन्छ । झापाका सिमावर्ती पालिका मध्ये पछिल्लो समय कचनकवल गाउँपालिका पनि लागूऔषध दुव्र्यसनी तीव्र गतिमा बढिरहेको पालिका हो ।
भारतसित खुल्ला सिमाना जोडिएको झापा लागूपदार्थ ओसारपसार गर्ने सहज मार्ग बनाएर कारोवार गर्नेदेखि प्रयोग गर्ने दुव्र्यसनीसम्मको संख्या उच्च भएको जिल्लामा पर्दछ । यस्तो भयावह अवस्था रोक्न सरकारी पक्ष उदासिन भइरहेको आरोप लागिरहँदा कचनकवल गाउँपालिकाले भने पालिकाको पछिल्लो समस्या लागूऔषध दुव्र्यसन र कारोवार रोक्न सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।
गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईको नेतृत्वमा पालिकालाई दुव्र्यसन मुक्त क्षेत्र बनाउन आमा शशक्तिकरण कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
छिमेकी भारतीय वजारमा नेपाली युवा युवतीले सहजै खरिद गर्न पाउने लागूऔषध नेपालतिर प्रतिबन्धित भए पनि उतै खाएर फर्कने युवा युवतीको संख्या झापामा बढी रहेको छ । सही समयमा लागूऔषध दुव्र्यसनका बारेमा सही जानकारी नपाएका कारण धेरै युवा युवतीहरू लागूऔषध दुव्र्यसनको कुलतमा फसिरहेका छन् । ड्रग्स माफियाहरू आफ्नो संञ्जाल फिजाउनका लागि गाउँ समाज हुँदै विद्यालय तहसम्म फिरन्ते शैलिमा डुलन्ते विक्रेता खटाएर अरबौंको व्यापार गरिरहेका छन् ।
खासगरी १५ देखि १९ वर्ष उमेर समूहका किशोर—किशोरीलाई लागूपदार्थको दुव्र्यसनमा फसाउन सफल भएका माफियाहरूले आफ्नो कालो व्यापार फष्टाउन सफल भइरहेको अवस्थामा दुव्र्यसन रोकथाम गर्ने आवश्यकता दुव्र्यसनी भएका पीडित घरपरिवारले गरिरहेको भए पनि समाज र राष्ट्रको नेतृत्व गर्ने अगुवाहरूको प्राथमिकतामा नपरेका कारण लागूऔषध कारोवार तीव्र गतिमा बृद्धि भइरहेको आरोप लागिरहँदा दक्षिणी झापाको कचनकवल गाउँपालिकाले लागूपदार्थ दुव्र्यसनी नियन्त्रणका लागि लक्षित गाउँटोलस्तरीय ‘लागुऔषधविरुद्ध आमा सशक्तीकरण कार्यक्रम’ लाई चरणबद्ध सञ्चालन गरिरहेको छ । पहिलो चरण सम्पन्न गरेर दोस्रो चरण सुरू गरेको गाउँपालिकाले । छनौटमा परेका विभिन्न वडाका टोलटोलमा जागरण अभियान चलाइरहेको हो ।
कार्यक्रमका संयोजक तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले समाजमा लागूपदार्थ दुव्र्यसनको समस्या भयावह बन्दै गएको बताउछन् । उनले भने, “हिजोका दिनमा अभिभावकको डरले सन्तान सम्हालिन्थे, तर आज बाउ–आमाले आफ्नै छोराछोरीबाट डराउनुपर्ने अवस्था सिर्जना भएको छ ।”
उपाध्यक्ष भट्टराईले लागूपदार्थको कुलतबाट समाजलाई जोगाउन समुदायका आमाहरू सशक्त र जागरूक हुनुपर्नेमा जोड दिँदै भन्छन्, “आमाले नै छोराछोरीको सबै गतिविधि नजिकबाट नियाल्न सक्छन्, त्यसैले यो अभियान आमा लक्षित गरिएको हो । समुदायमा पुगेर आमासँग प्रत्यक्ष भलाकुसारी गर्दै सचेतना फैलाउने उद्देश्य यो कार्यक्रमको मुख्य आधार हो ।”
कार्यक्रम स्थलको सहभागिता हेर्दा महिलाहरूको भूमिका प्रभावकारी देखिएको छ । यसैगरी सहभागिता बढ्दै जाने हो भने अब समुदायस्तरमै सचेतना फैलाउन सकिने स्थानीयको बुझाइ छ । प्रशिक्षक सोमराज ढकालले सहजीकरण गरिरहेको कार्यक्रममा ‘लागूपदार्थ सामाजिक समस्या हो’ भन्ने बुझाइ स्थापित गरेर कचनकवलमा बढ्दो समस्या बनिरहेको लागू पदार्थको दुव्र्यसन तथा कारोवार बन्द गर्ने वातावरण बनाउनु कार्यक्रमको उद्देश्य रहेको गाउँपालिकाको ध्येय दखिएको छ । यसका लागि लागूपदार्थको परिभाषा, प्रकार, प्रयोगका कारण र असरबारे विस्तृत जानकारी दिँदै महिलाहरूले घरमै रहेर दुव्र्यसन नियन्त्रणमा गर्न सक्ने भूमिका र व्यावहारिक उपायहरूबारे विमर्श भइरहेको छ ।
पालिकाभरीका सयौं महिलाको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले विषयवस्तु उपयोगी र समयसापेक्ष रहेको बताएका छन् भने गाउँपालिका स्तरमै सुधार केन्द्र तथा परामर्श केन्द्र स्थापना गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । पालिका भित्रका १० स्थानमा कार्यक्रम सञ्चालन गर्ने र त्यहाँ दुव्र्यसनको प्रभाव कमजोर बनाउँदै पालिकाको पछिल्लो समस्या लागूऔषध दुव्र्यसन र कारोवार न्यूनीकरण हुने विश्वास राखिएको छ ।