झापामा नौ महिना दुर्घटनामा परी ७० जनाको मृत्यु

झापा । झापा जिल्लामा नौ महिनामा दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ सय ६६ सवारी दुर्घटना हुँदा उक्त मानवीय क्षति भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा ५३ पुरुष, १२ महिला र पाँच बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिएका छन् । उनका अनुसार नौ महिनामा दुर्घटनामा परी एक सय १७ जना घाइते, एक हजार ४२७ जना सामान्य घाइते भएका छन् ।

उक्त अवधिमा एक हजार ४१३ सवारीसाधन दुर्घटना भएकामा त्यसमा सबैभन्दा धेरै आठ सय ७६ मोटरसाइकल, एक सय ६२ टेम्पो, एक सय ४१ जीप कार, ४५ बस, २८ ट्याक्टर, २२ ट्रक, सात टिपर, दुई/दुई डोजर र माइक्रो तथा सात वटा अन्य सवारीसाधन रहेका छन् ।

कार्यालय प्रमुख पौडेलले त्यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४५ हजार ५९४ सवारीसाधन कारबाहीमा परेका र कारबाहीबाट रु तीन करोड चार लाख दुई हजार राजस्व सङ्कलन भएको जानकारी दिए ।