कैलाशेश्वर शिव पञ्चायन मन्दिरमा अक्षयकोष स्थापनार्थ श्रीमदभागवत महापुराण
भद्रपुर । भद्रपुर ९ प्रकाशपुर पोकापाडामा रहेको कैलाशेश्वर शिव पञ्चायन मन्दिरमा अक्षयकोष स्थापनार्थ श्रीमदभागवत महापुराण धाधान्याञ्चल ज्ञान महायज्ञ बैशाख १६ देखि २४ गतेसम्म सञ्चालन गरिने भएको छ ।
दाता रत्नबहादुर भण्डारी तथा तारादेवी भण्डारीले २०७१ सालमा २ कठ्ठा जग्गा सहित मन्दिर निर्माण गरी समाजलाई हस्तान्तरण गरेपछि दोश्रोपटक मन्दिरको आम्दानी सुनिश्चित गर्न स्थायी कोषका रूपमा अक्षय कोष खडा गर्न पुराण लगाइने भएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा पुराण आयोजक मूल समारोह समितिका संयोजक चुडामणि मैनालीका अनुसार पहिलो पटक २०७३ सालमा लगाइएको पुराणबाट मन्दिर परिसरका लागि ४ कठ्ठा जग्गा जोड्दै घेरावारा गरिएको थियो भने यस पटक मन्दिरको दिगो आयश्रोत जुटाउन करिब ५० लाख रूपैयाको अक्षय कोष स्थापना गर्ने लक्ष्य सहित पुराण आयोजना गरिएको हो ।
आचार्य पंडित छन्दुराम भण्डारीको प्रमुख वाचकत्व तथा पंडित नवीनशरण भट्टराईको पाठपरायणमा सञ्चालन हुने पुरणमा ९ लाख खर्च अनुमान गरिएको छ भने ५० लाख सहयोग जुट्ने आशा गरिएको सचिव अनुज खतिवडाले जानकारी दिए ।
सचिव खतिवडाका अनुसार बैशाख १६ गते भद्रपुर नगर प्रमुख गणेश पोखरेलले पुराणको समुद्घाटन गर्ने छन् भने मेची नदीको पवित्र जल ल्याई कलस यात्रा गरिने छ । नौ दिनसम्म चल्ने महाज्ञान यज्ञमा २० हजार बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ ।