पाथिभरा नर्सिङ कलेजमा अध्ययनरत विद्यार्थीहरू समुदायको समस्याको पहिचानमा जुटदै

भद्रपुर । भद्रपुर ७ स्थित ओम साई पाथिभरा नर्सिङ कलेजमा अध्ययनरत विद्यार्थीहरू पढ्दै समुदायको समस्याको पहिचानमा जुटिरहेका छन् ।

नर्सिङ विषयमा अध्ययन गरिरहेका ४० जना छात्राहरूले परियोजना कार्य अन्र्तगत सामुदायिक स्वास्थ्यका क्षेत्रमा स्थलगत अध्ययन गरी आर्थिक, सामाजिक अवस्था र रोगको संक्रमण बारेमा अनुसन्धान गरिरहेका हुन् ।

छात्राहरूले भद्रपुर ५ लाई अध्ययनको केन्द्र बनाएर एक महिनायता गरिरहेको अध्ययन सार्वजनिक गर्दै दिएको जानकारी अनुसार नसर्ने रोगको प्रकोप निकै उच्च देखिएको छ । ५ सय जना स्थानीयको अध्ययन गर्दा उच्च रक्तचाप, क्यान्सर, मधुमेहका रोगी ६० प्रतिशतभन्दामाथि भेटिएको छ भने सरूवा रोग ४० प्रतिशतमुनि देखिएको छ । उनीहरूको अध्ययनको निष्कर्ष अनुसार बदलिदो जीवन शैली र बढ्दो विषाक्त खाद्यन्नका कारण नसर्ने रोगले समाजमा प्रभाव बढाउन थालेको हो ।

अस्पतालका निर्देशक बालकुमार पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम अन्र्तगत कलेजद्वारा आयोजित स्वास्थ्य चेतना कार्यक्रम एवम् निशुल्क एक दिने स्वास्थ्य शिविर समेत सम्पन्न गरिएको थियो ।

विद्यार्थीहरूले स्वास्थ्य जीवन शैलीका लागि आवश्यक विभिन्न खाद्य पदार्थ, औषधी लगायतको निर्माण, उपयोग बारेमा विविध जानकारी दिँदै सामग्री प्रदर्शनी समेत गरेका थिए । स्वास्थ्य शिविरमा दुई सय बढी व्यक्तिले लाभ समेत लिएका थिए भने प्राविधिक तथा विशेषज्ञ सेवा ओम साई पाथिभरा अस्पतालका डाक्टरहरूको रहेको थियो ।