राष्ट्रसेवकको २६ औं स्थापना दिवसमा विविध कार्यक्रम
भद्रपुर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरले संस्थाको २६ औ स्थापना दिवसको अवसर जेष्ठ सदस्य सम्मान तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
स्थापना दिवसमा सहकारीलाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिने ७ जना जेष्ठ सदस्यलाई सम्मान तथा समाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत भद्रपुर ९ मा रहेको जीवन ज्योति आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
सम्मान कार्यक्रम सहकारी अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा सहकारी संघ झापाआ अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो भने शैक्षिक सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सल्लाहकार लक्ष्मीप्रसाद गुरागाई रहेका थिए । विद्यार्थीलाई ३० हजार मूल्य बराबरको शैक्षिक सामग्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष नुतन पौडेल तथा प्रधानाध्यापक निर्मला पौडेललाई हस्तान्तरण गरिएको थियो ।
सामग्री हस्तान्तरण गर्दै अध्यक्ष अधिकारीले सहकारीको आम्दानीको निश्चित प्रतिशत रकम सामाजिक उत्तरदायित्व निर्वाहका लागि छुट्टयाउने गरेको बताए ।
सो अवसरमा सामग्री हस्तान्तरण गर्ने सहकारी परिवार प्रति व्यवस्थापन समित अध्यक्ष नुतन पौडेलले धन्यवाद प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि गुरागाई नेपाल निजामती कर्मचारी संगठन झापाका निवर्तमान अध्यक्ष केदार पोखरेल, भद्रपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राम दाहाल लगायतले मन्तव्य राख्दै सहकारीले प्रदान गरेको सो सामग्रीले विद्यार्थी वर्गलाई थोरै भए पनि राहत पुग्ने बताए ।