नेपालमा यौन व्यवसाय खुल्ला गर्ने प्रस्तावको विरोधमा चेतना नेपाल
भद्रपुर । संघीय संसदमा नेपालमा यौन व्यवसायलाई खुला गरी आर्थिक समृद्धि हासिल गर्न सकिने विषय उठ्न थालेपछि चेतना नेपालले आपत्ति जनाउँदै भण्डाफोरमा उत्रने अभियान सुरू गरेको छ ।
झापामा केन्द्रीय कार्यालय रहेको चेतना नेपालले नेपालको मौलिक परम्परामाथि प्रहार भएको ठहर गर्दै संघीय संसदका सदस्यहरूको त्यस हर्कत बिरूद्ध कडा बिरोध गर्दै विज्ञप्ति मार्फत भण्डाफोरमा उत्रने अभियान सुरू गरेको हो ।
विज्ञप्तिमा अध्यक्ष इन्द्रप्रसाद ओलीले अराजकता नित्याएर नेपालको मौलिक परम्परामाथि अतिक्रमण गर्ने यस्तो प्रस्तावले नेपाली समाजको नैतिकता, संस्कार, र महिलाको गरीमामाथि गम्भीर प्रहार गरेका कारण सवै नेपाली एक जुट भएर प्रतिकार गर्न भण्डाफोर अभियानमा आउन अनुरोध समेत गरेका छन् ।
विज्ञप्तिमा नेपाल सनातन धर्म–संस्कृति मान्ने मुलुक भएकाले यहाँ महिलालाई माता, देवी, लक्ष्मी, दुर्गा तथा सरस्वतीका रूपमा सम्मान गरिने परम्परा रहेको उल्लेख गरिएको छ । संसदमा उठेको उक्त विषयले देश–विदेशमा रहेका नेपालीहरूलाई आघात पुगेको चेतना नेपालको दाबी छ ।
विज्ञप्तिमा भनिएको छ—सन् २००६ (वि.सं. २०६३) मा पनि काठमाडौँको एक होटलमा विदेशी संस्थाहरूको सहयोगमा यौन व्यवसायलाई वैध बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको थियो । चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओली, उपाध्यक्ष हरि प्रसाद अवस्थी, तथा अन्य पदाधिकारीहरूले उक्त गोष्ठीमा विरोध जनाउँदै त्यसलाई रोक्न सफल भएको दाबी समेत गरिएको छ । चेतना नेपालका अनुसार विदेशी डोनरहरूले यौन व्यवसायलाई वैधता दिन त खोजे तर महिलाहरूलाई सीपमूलक तालिम तथा स्वरोजगारका अवसरहरू दिन अस्वीकार गरे ।
चेतना नेपालले सबै संघ–संस्था, नागरिक समाज, महिला अधिकारकर्मी, धार्मिक संस्था तथा अन्य सरोकारवालाहरूलाई यस्तो प्रस्तावको विरोधमा एकजुट हुन आह्वान गरेको छ । साथै संसदमा यस्ता असंवेदनशील विषय उठान गर्ने सांसदहरूलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।
विज्ञप्तिमा चेतना नेपालले विगतदेखि नै महिलाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमहरू दिँदै स्वरोजगार बनाउन सहयोग गर्दै आएको स्मरण गराउँदै देशलाई ‘यौन कर्मीको गन्तव्य’ बनाउने कुनै पनि प्रयासलाई असफल पार्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।