होली पर्वको मौलिकता बचाऔं

हरेक पर्वका आफ्नै विशेषता र पहिचान छन् । कुनै पनि चार्ड पर्वले असत्यको नास र सत्यको उदय होस् भन्ने कामना गरेको मिथक सुन्न पाइन्छ । मिथकको घटना बेली बिस्तार जस्तो मानवको कार्य शैली छैन । तर परम्परा हो, जसरलाई मान्नु मानव नीतिका रूपमा हेर्नु पर्छ । फाल्गुण शुक्ल पूर्णिमाको दिन सत्यको जीत र असत्यको हार भएको पौणाणिक कहानी छ । जसलाई होली पर्व भनेर पनि चिनिन्छ । यो पर्व नेपालमा दुई दिनसम्म रङ खेलेर मनाइने परम्परा छ । हिमाल र पहाडमा पूर्णिमाको दिन रङ खेलेर होली उत्सव मनाइन्छ भने तराईमा प्रतिपदाको दिन होली मनाउने प्रचलन छ । यसलाई भौगोलिकता भित्रको विविधता मान्नु पर्छ ।

पुराणका अनुसार बाबु हिरण्यकश्यपु असत्यको प्रतिक हो भने छोरो प्रह्लाद सत्यको प्रतिक रूपमा मानिएको छ ।
बाबुको आदेशमा प्रह्लादलाई मार्न गएकी होलिका आफैं आगोले जलेर भष्म भएपछि असत्यको अन्त्य भएको सम्झना गर्दैं होली मनाउन थालिएको पौराणिक मिथक छ । यस कथाको भनाइ अनुसार बाबु समेत असत्यको पक्षमा लागेको छ भने छोराछोरीले प्रतिकार गरेर सत्यको पक्षमा वातावरण बनाउनु पर्छ । यसैगरी द्वापरयुगमा कंशद्वारा बालक श्रीकृष्णलाई मार्न पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलाएको पनि परम्परागत भनाइ पाइन्छ । यस कथनमा मानिससित मानवता छैन भने त्यस्तो दानवता अन्त्य गर्न साना ठूला जो कोही अगाडि बढ्नु पर्छ भनिएको छ ।

नेपाली समाजमा होली मनाउने प्रचलन भूगोल अनुसार विविधता पाइन्छ । पूर्णिमाको दिन पहाडी क्षेत्रमा मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ । यस चलनसित गाँसिएको भनाइचाहिँ होलिका पूर्णिमाको मध्यान्नमा तप मार्फत प्रह्लाद जलाउन पहाडबाट प्रह्लादलाई काखी च्यापेर तराइतिर यात्रा गर्न थाल्छे । तराइमा आइपुग्दा होलिका खरानी हुन पुग्छे । त्यसैकारण तराइमा पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाइन्छ । होलीकाको कहानी जस्तै नेपाली राजनीतिमा पनि सत्ता च्यापेर जनामाथि बेवास्ता गर्ने राजनीतिक खेल वर्षौदेखि लुकामारी गर्दे अगाडि बढिरहेको छ । हिरण्यकश्यपु, होलिका, कंश प्रबृत्ति नेपाली राज्यसत्तासित टाँसिरहँदा देश र जनतामाथि शोषण, दमन र अन्याय भइरहेको छ । यस प्रबृत्तिको प्रतिकार गर्न देशबासीलाई होलीसित जोडिएका कथा कहानीले प्रेरणा दिइरहेका छन् ।

नेपालमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर र शुभकामना साटासाट गरी होली पर्व मनाइन्छ । होलीका बेला गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ । तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीतको विशेष महत्व छ भने रैथाने परिकारले समेत यो पर्वमा रौनक थपिन्छ । विगतको तुलनामा होली पर्व शान्ति र सद्भावको रूपमा विकास हुँदै गएको पाइन्छ । झापामा पनि होली उल्लासमय बनाएर मनाइएको छ । दिनभर सामान्य रूपमै होली मनाइएकै कारण शान्ति र सद्भाव कायम भएको पाइन्छ । पछिल्ला केही वर्षयता प्रविधिको विकास भएसंगै होली जस्ता सदभावका पर्वमा अशोभनीय गतिविधि पनि हुने गरेको पाइन्छ । यस्ता अराजकता रोक्न सवै पक्ष जिम्मेवार नभएसम्म होलीको गरिमा बचाउन सकिदैन । राजनीतिले सही बाटो समात्न नसक्दा विभिन्न चार्ड पर्वमाथि विकृतिले अतिक्रमण गरिरहेको तथ्य भुल्नु हुँदैन । यस्ता विकृति बिरूद्ध सवै एकजुट हुने हो भने राजनीति पनि सुध्रने थियो होली लगायतका पर्वले मौलीकताको बाटो समाएर मनाउने अवस्था आउने थियो ।