केही सामान्य घटना बाहेक झापामा हर्षोल्लासपूर्वक मनाइयो होली

झापा । रङहरूको पर्व होली हिमाल, पहाड र तराई–मधेशमा हर्षोल्लासपूर्वक दुई दिनसम्म मनाइयो । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको होली भोलिपल्ट तराईका जिल्लामा मनाउने परम्पराअनुसार होली मनाइएको हो ।

हिमाल र पहाडमा विहिवार होली मनाउन सरकारले सार्वजनिक बिदा दिएको थियो भने तराई–मधेशमा होली पर्व मनाउन सरकारले शुक्रवार सार्वजनिक बिदा दिएको छ ।

सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ लगाउँदै सबैलाई रसरङले तरंगीत तुल्याउने होली उल्लास र रंगीचंगी पर्वको रूपमा लिने गरिन्छ । प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको हो ।

रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रंग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ ।

होली आउना साथै तराई भेगमा होरिया गीत गाएर रमाउने गर्छन् । वर्षभरिको मनमुटाव होली पर्वमा रङ र अबिर लगाएसँगै समाप्त भई आपसी सद्भाव अझ प्रगाढ हुने विश्वाससहित यस पर्वलाई निकै महत्वका साथ मनाउने गरिन्छ । आफू भन्दा ठूलाबडालाई खुट्टामा अबिर हालेर ढोग्ने चलन पनि रहेको छ भने सानोलाई निधारमा अबिर वा रंग लागाएर सद्भाव देखाउने चलन रहेको छ ।

यस वर्ष मधेशका केही जिल्लाहरुमा तेश्रो दिन पनि मनाइदै छ । मिथिला पञ्चाङ अनुसार होली पर्व भोलि अर्थात शनिवार रहेको उल्लेख छ । असत्य माथि सत्यको जीतको उत्सवका रुपमा मनाइने होली पर्वमा जोगिरा सररको गीति भाकासँगै तराईवासीहरु सौहार्दपूर्ण रुपमा फागु खेलेर उत्सवका रूपमा होली मनाउने प्राचीन कालदेखिको प्रचलन छ ।
यसै बीच होलीका दिन झापामा नियम मिचेर जथाभावी सवारीका साधन चलाउने ठूलो संख्यामा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको छ ।

झापा प्रहरीका अनुसार शुक्रवार दिनभरमा नियम बिपरित सञ्चालन भएका ३२९ वटा सवारी साधन नियन्त्रणमा लिइएको कारवाही गपिरएको होे । २९२ वटा मोटरसाइकल, ३६ वटा अटो रिक्सा र सिटी तथा एउटा कार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलमा तीनजना सवार हुने , मादक पदार्थ सेवन गरी चलाउने , बिनाहेल्मेट सवारी चलाउने , बाटोमा अबाञ्छित गतिविधि गर्नेलाई कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

यसैगरी भद्रपुर नगरपालिका वडा नम्बर –७ मा रहेको काली मन्दिर टोल विकास संस्थाले होली मिलन कार्यक्रम मनाएको छ । संस्थाका अध्यक्ष उत्तम नेपालको सभापतित्व एवम जेष्ठ नागरिक संघ भद्रपुर –७ का अध्यक्ष वाशुदेव नेपालको प्रमुख आतिथ्यमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी हर्साेल्लासका साथ शुक्रबार मनाइएको हो ।

संस्थाका उपाध्यक्ष बालकुमारी भट्टराइले स्वागत गरेको कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना संस्थाका पुर्व सचिव मात्रिका तिम्सिनाले कार्यक्रमको प्रशंसा गरेका थिए । मनोरञ्जतात्मक कार्यक्रममा विजेता इश्वरी बस्नेत,दिक्षान्त आचार्य,चन्द्रकला घिमिरे,यशोदा भूर्तेल,दानबहादुर घिमिरे र पध्मा भट्टराइलाइ पुरस्कार वितरणा गरिएको थियो ।

टोलबाट वेदमाया पाठकले पुरस्कार र उमा खनाल लगायतले सर्वत सामग्री सौजन्य गरेका थिए । संस्थाका सचिव जीवनमणि लम्सालले सञ्चालन गरेको कार्यक्रममा एक अर्कालाइ रङ लगाएर नाचगान सहित रमाइलो गरिएको थियो ।