‘कचनकवल-सगरमाथा जागरण अभियान’ पुस २४ देखि
भद्रपुर । नेपाली काँग्रेस कोशी प्रदेश समितिले ‘कचनकवल-सगरमाथा जागरण अभियान’ यही पुस २४ गतेदेखि सुरु हुँदैछ ।
कोशी प्रदेशका १४ जिल्लाका पार्टी सभापति र पार्टी सदस्यहरूको सहभागितामा हुने अभियानको उद्घाटन नेपालको सबैभन्दा होचो भूभाग मानिने झापाको कचनकवल स्तम्भ स्थल रहेको छ । अहिले कचनकवल स्तम्भ स्थलमा उद्घाटन कार्यक्रमका लागि तयारी धमाधम भइरहेको छ ।
सबैभन्दा होचो भूभागबाट उद्घाटन गरिने अभियानको समापन सोलुखुम्बुको सल्लेरी, जहाँ संसारकै सर्वोच्च शिखर सगरमाथा अवस्थित छ । अभियानले १४ जिल्लाका जनताबीच एकता ,जागरूकता र समृद्धिको सन्देश फैलाउने लक्ष्य राखेको छ।
अभियानले समृद्धि, पर्यटन र स्थानीय समस्या समाधानमा योगदान पुर्याउने अपेक्षा गरिएको नेपाली काँग्रेसका कोशी सभापति उद्धव थापाले जानकारी दिए । कोशीको प्राकृतिक ,सांस्कृतिक र सामाजिक पक्षहरूको महत्त्व उजागर गरिने बताउँदै उनले भने, ‘प्रदेशको विकास ,एकता र समृद्धिको सन्देशलाई अझ बलियो बनाउने अपेक्षा राखेका छौँ ।’