देश बनाउन राजनीतिमा इमान चाहिन्छ

संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछिका दुई वटा चुनावी प्रतिष्पर्धामा उत्रदा देखिएको दृष्यले नेपाली राजनीतिक दलहरू विगतका असक्षमता छोडेर देश विकासमा इमानदार हुने विश्वास थियो । अस्थीर विचारबाट फट्को मारेर स्थीर राजनीतिको बाटोमा नेपाली राजनीति लाग्ने अड्कल थियो ।

गुटगत स्वार्थ र झिनामसिना आन्तरिक स्वार्थबाट उम्किएर राजनीतिले देश विकासको फट्को मार्ने अनुमान थियो । सत्तामा पुग्ने होस् या प्रतिपक्षमा रहने सवै दल देश र जनताप्रति बफादार बन्ने विश्वास थियो । २००७ सालयताको समृद्धिको सपना अब पूरा हुने छ, भन्ने जनविश्वासलाई अहिलेसम्मको अवस्थाले पूरा गर्ने देखिएको छैन ।

समृद्धिको मुद्दा क्रमशः सरकारको कोरा भाषणको विषय र प्रतिपक्षको अस्तित्व रक्षा मात्रै बन्दै गएको छ । राष्ट्रिय चासो र बहसको यो गम्भीर मुद्दाले दर्बिलो राजनीतिक स्वामित्व प्राप्त गर्न सकेको छैन । यो केवल फोस्रो राजनीतिक नारामा रूपान्तरण हुँदैछ । पछिल्लो निर्वाचनले पुराना दललाई एउटा किनारामा धकेल्दै केही नयाँ दलहरूलाई अनुमोदन गरेको थियो । पुरानाका कार्यशैली बदल्न नयाँ दलले रचनात्मक वातावरण बनाउने विश्वास पनि थियो तर नेपालको राजनीतिमा स्थापित पुराना दलभन्दा नयाँ राजनीतिक दल बढी लोभी, स्वार्थी र ठग प्रवृत्तिमा रमाइरहेको वातावरणले इमान्दार चरित्र भएका राजनीतिज्ञ नै छैनन् कि ? भन्ने प्रश्न खडा गराइ दिएको छ ।

नारामा सिमित ‘सुखी नेपाली समृद्ध नेपाल’ सम्मका विकासका सपनाले मूर्तरूप लिने आधार तय भएको छैन । मूल कारण, राजनीतिको धमिलो छाँयाले पारेका ती अनेक नामका ‘आकाश खेती’ आकर्षक नाराका रूपमा आए । तर तिनले यथेष्ट राजनीतिक स्वामित्व पाएनन् । अनि जनतालाई भ्रममा राख्न ‘सुखी नेपाली समृद्ध नेपाल’ घोकिएको हो कि भन्ने प्रश्न उठेको छ । विकास र समृद्धिको महत्वाकांक्षी अभियानको स्वामित्वका लागि राजनीतिक स्थायित्व अपरिहार्य हुन्छ । यस माहान कार्य पूर्ण गर्न राजनीतिक दलहरूको सबलताले निर्भर गर्छ । राष्ट्रिय स्वरूपको, राजनीतिक दृष्टिकोण निर्माणप्रति कसैको चासो देखिएको छैन ।

मुलुकका आर्थिक–राजनीतिक मुद्धाहरूको उचित र सामयिक सम्बोधनका लागि संवैधानिक दायराभित्रका दलहरूको सशक्त भूमिका देखिएको छैन  । यी दलहरूले संविधान निर्दिष्ट भूमिकालाई लोकतान्त्रिक मर्म अनुरूप निर्वाह गर्न आफूलाई सक्षम बनाउन सकेका छैनन् । एउटै आदर्श भित्रका दुई ध्रुवमा फर्किएका गुटगत स्वार्थले अस्थीर राजनीतिकै शैलीमा पार्टीहरू अल्मलिएका छन् । त्यसैको परिणाम देशको समृद्धि छाँयामा परेको छ । सरकारका कमजोरी सच्याउन भूमिका खेल्नु पर्ने प्रमुख प्रतिपक्षी सत्ता दौडको स्वार्थले अभै कमजोर हँदा मुलुकका समस्याहरूले समाधानको बाटो पाउने ठाउँ भेटेका छैनन् । नयाँ भनेर उदाएका दलहरू जनभावना विपरित सके सत्ता नसके स्वार्थ पूर्तिको शैलीमा हराउँदा आफ्नै नेताका व्यक्तिगत कमजोरी लुकाउन नीति, नियम र विधिको विश्वासमा नभएर सडकमा दलबल लिएर कराइ रहेका छन् ।

मुलुकका निर्णायक पक्ष मानिएका दलहरूभित्र शक्ति सञ्चयभन्दा शक्ति क्षयको प्रतिस्पर्धा चुलिँंदो छ । यस बेला विगतका अस्थीर सरकारका कार्यशैलीभन्दा भिन्न प्रवृत्तिमा शासकीय स्वरूप जान नसकेको दृष्यले विकास र समृद्धिको महत्वाकांक्षी जनचाहना अधुरै हुने प्रष्ट छ । चुनावका बेला आश्वासनका भारी जनतामा छोड्ने दलका नेताहरूलाई देश र जनताको चिन्ता देखिदैन ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोश्रो निर्वाचनको २ वर्षे अवधि पूरा हुँदै गर्दा जनमतको भावना सदुपयोग भएको अनुभव नेपाली जनमानसमा परेको छैन । कम्युनिस्ट होस् या प्रजातान्त्रिक भनिएका दलको नेतृत्वमा बनेका सरकारको काम गर्ने शैलीको अनुभव गर्दा उग्र सामन्तवादी प्रवृत्तिकै बाहुल्यता छ । हुकुमी प्रवृत्ति, भ्रष्टाचार, दुराचारको संरक्षण जस्ता कार्यशैलीले नेपालको समृद्धिको सपना पूरा गर्ने जिम्मेवारी पाएका राजनीतिज्ञमा इमान्दार चरित्र छैन कि भन्ने आभाष हुँदैछ । भर्खरै सम्पन्न उपनिर्वाचनले पनि सवै दललाई सच्चिन खवरदारी गरेको देखिन्छ । अब पनि राजनीति नसच्चिए कहिले सच्चने ? व्यवस्था गुमाएर राजनीति सच्चनु पर्ने दिन नआओस् ।