राजनीतिसम्पादकीय

देश बनाउन राजनीतिमा इमान चाहिन्छ

संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछिका दुई वटा चुनावी प्रतिष्पर्धामा उत्रदा देखिएको दृष्यले नेपाली राजनीतिक दलहरू विगतका असक्षमता छोडेर देश विकासमा इमानदार हुने विश्वास थियो । अस्थीर विचारबाट फट्को मारेर स्थीर राजनीतिको बाटोमा नेपाली राजनीति लाग्ने अड्कल थियो ।

गुटगत स्वार्थ र झिनामसिना आन्तरिक स्वार्थबाट उम्किएर राजनीतिले देश विकासको फट्को मार्ने अनुमान थियो । सत्तामा पुग्ने होस् या प्रतिपक्षमा रहने सवै दल देश र जनताप्रति बफादार बन्ने विश्वास थियो । २००७ सालयताको समृद्धिको सपना अब पूरा हुने छ, भन्ने जनविश्वासलाई अहिलेसम्मको अवस्थाले पूरा गर्ने देखिएको छैन ।

समृद्धिको मुद्दा क्रमशः सरकारको कोरा भाषणको विषय र प्रतिपक्षको अस्तित्व रक्षा मात्रै बन्दै गएको छ । राष्ट्रिय चासो र बहसको यो गम्भीर मुद्दाले दर्बिलो राजनीतिक स्वामित्व प्राप्त गर्न सकेको छैन । यो केवल फोस्रो राजनीतिक नारामा रूपान्तरण हुँदैछ । पछिल्लो निर्वाचनले पुराना दललाई एउटा किनारामा धकेल्दै केही नयाँ दलहरूलाई अनुमोदन गरेको थियो । पुरानाका कार्यशैली बदल्न नयाँ दलले रचनात्मक वातावरण बनाउने विश्वास पनि थियो तर नेपालको राजनीतिमा स्थापित पुराना दलभन्दा नयाँ राजनीतिक दल बढी लोभी, स्वार्थी र ठग प्रवृत्तिमा रमाइरहेको वातावरणले इमान्दार चरित्र भएका राजनीतिज्ञ नै छैनन् कि ? भन्ने प्रश्न खडा गराइ दिएको छ ।

नारामा सिमित ‘सुखी नेपाली समृद्ध नेपाल’ सम्मका विकासका सपनाले मूर्तरूप लिने आधार तय भएको छैन । मूल कारण, राजनीतिको धमिलो छाँयाले पारेका ती अनेक नामका ‘आकाश खेती’ आकर्षक नाराका रूपमा आए । तर तिनले यथेष्ट राजनीतिक स्वामित्व पाएनन् । अनि जनतालाई भ्रममा राख्न ‘सुखी नेपाली समृद्ध नेपाल’ घोकिएको हो कि भन्ने प्रश्न उठेको छ । विकास र समृद्धिको महत्वाकांक्षी अभियानको स्वामित्वका लागि राजनीतिक स्थायित्व अपरिहार्य हुन्छ । यस माहान कार्य पूर्ण गर्न राजनीतिक दलहरूको सबलताले निर्भर गर्छ । राष्ट्रिय स्वरूपको, राजनीतिक दृष्टिकोण निर्माणप्रति कसैको चासो देखिएको छैन ।

मुलुकका आर्थिक–राजनीतिक मुद्धाहरूको उचित र सामयिक सम्बोधनका लागि संवैधानिक दायराभित्रका दलहरूको सशक्त भूमिका देखिएको छैन  । यी दलहरूले संविधान निर्दिष्ट भूमिकालाई लोकतान्त्रिक मर्म अनुरूप निर्वाह गर्न आफूलाई सक्षम बनाउन सकेका छैनन् । एउटै आदर्श भित्रका दुई ध्रुवमा फर्किएका गुटगत स्वार्थले अस्थीर राजनीतिकै शैलीमा पार्टीहरू अल्मलिएका छन् । त्यसैको परिणाम देशको समृद्धि छाँयामा परेको छ । सरकारका कमजोरी सच्याउन भूमिका खेल्नु पर्ने प्रमुख प्रतिपक्षी सत्ता दौडको स्वार्थले अभै कमजोर हँदा मुलुकका समस्याहरूले समाधानको बाटो पाउने ठाउँ भेटेका छैनन् । नयाँ भनेर उदाएका दलहरू जनभावना विपरित सके सत्ता नसके स्वार्थ पूर्तिको शैलीमा हराउँदा आफ्नै नेताका व्यक्तिगत कमजोरी लुकाउन नीति, नियम र विधिको विश्वासमा नभएर सडकमा दलबल लिएर कराइ रहेका छन् ।

मुलुकका निर्णायक पक्ष मानिएका दलहरूभित्र शक्ति सञ्चयभन्दा शक्ति क्षयको प्रतिस्पर्धा चुलिँंदो छ । यस बेला विगतका अस्थीर सरकारका कार्यशैलीभन्दा भिन्न प्रवृत्तिमा शासकीय स्वरूप जान नसकेको दृष्यले विकास र समृद्धिको महत्वाकांक्षी जनचाहना अधुरै हुने प्रष्ट छ । चुनावका बेला आश्वासनका भारी जनतामा छोड्ने दलका नेताहरूलाई देश र जनताको चिन्ता देखिदैन ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोश्रो निर्वाचनको २ वर्षे अवधि पूरा हुँदै गर्दा जनमतको भावना सदुपयोग भएको अनुभव नेपाली जनमानसमा परेको छैन । कम्युनिस्ट होस् या प्रजातान्त्रिक भनिएका दलको नेतृत्वमा बनेका सरकारको काम गर्ने शैलीको अनुभव गर्दा उग्र सामन्तवादी प्रवृत्तिकै बाहुल्यता छ । हुकुमी प्रवृत्ति, भ्रष्टाचार, दुराचारको संरक्षण जस्ता कार्यशैलीले नेपालको समृद्धिको सपना पूरा गर्ने जिम्मेवारी पाएका राजनीतिज्ञमा इमान्दार चरित्र छैन कि भन्ने आभाष हुँदैछ । भर्खरै सम्पन्न उपनिर्वाचनले पनि सवै दललाई सच्चिन खवरदारी गरेको देखिन्छ । अब पनि राजनीति नसच्चिए कहिले सच्चने ? व्यवस्था गुमाएर राजनीति सच्चनु पर्ने दिन नआओस् ।