१६ दिने अभियानले मात्र महिला हिंसा अन्त्य हुँदैन
नेपालमा हरेक वर्ष महिला हिंसा विरूद्धको १६ दिने अभियान भव्य रूपमा मनाउने गरिएको छ । प्रत्येक वर्ष मंसीरमा १६ दिनसम्म मनाइने यस अभियानले कति सफलता पायो भन्ने हिसाब किताव नभए पनि बिरालो बाँधेर श्राद्ध गरेकै शैलीमा निरन्तर मनाइदै आइरहेको छ । नेपालमा वि सं २०५४ सालदेखि लैंगिक हिंसाविरुद्ध विविध चेतनामूलक कार्यक्रमका रूपमा राज्य स्तरबाटै अभियान मनाउन सुरू गरिएको हो । हरेक वर्ष यस अभियानको एउटा नयाँ अन्तराष्ट्रिय नारा तय गरेर दिवस मनाइन्छ ।
कुनै पनि महिलालाई हिंसा हुनु÷गर्नु भनेको कसैकी आमा÷दिदीबहिनी÷छोरी हिंसामा पर्नु हो भन्ने बोध नहुँदासम्म महिला हिंसा नाराले मात्र अन्त्य हुने रहेन छ । सन् १९६० नोभेम्बर २५ का दिन डोमिनिकन रिपब्लिक देशका तीन दिदीबहिनीले त्रुजिलो सरकारको शासनमा महिलालाई हुने गरेका भेदभाव र अन्यायविरुद्ध सशक्त आवाज उठाउँदै अन्तर्रा्ष्ट्रिय महिला हिंसाविरुद्ध दिवस सुरू गरेका थिए । सन् १९९९ डिसेम्बर १७ तारिखका दिन संयुक्त राष्ट्रसंघले नोभेम्बर २५ लाई अन्तर्रा्ष्ट्रिय महिला हिंसाविरुद्धको दिवस घोषणा गरेको थियो । त्यसयता संसारभर यो दिवस नोभेम्बर २५ देखि १६ दिनसम्म मनाउने प्रचलन रहेको छ । हाम्रो समाजमा भने अभियान सकिएको भोलिपल्ट हिंसा बिरूद्ध नारा लगाउने नै महिला हिंसाका कारक बनेर आउने अवस्था अहिलेसम्म जीवितै छ ।
हरेक घरपरिवारबाटै शिक्षा, स्वास्थ्य, खानपान, जीवनशैली, स्वतन्त्रता र अवसरमा छोराछोरी दुवैलाई समान अधिकार दिने संस्कार विकास हुँदै जाने हो भने कुन समाजमा महिला हिंसा हुन्थ्यो होला र ? अभियानले चेतना बढाए पनि हिंसा अन्त्य तथा सुधार भएको छैन भन्ने कुरा विभिन्न समयमा भएका बलात्कार तथा हत्याकाण्डलगायत महिला हिंसाका विभिन्न घटनाले पुष्टि गर्छन् ।
निरन्तर सञ्चालनमा रहेको अभियानको सार्थकता भविष्यमा देखिएला तर अपेक्षित उपलब्धिका लागि सरकार, नागरिक समाज, महिला अधिकारकर्मी लगायत विभिन्न निकायबाट घटनाको गाम्भीर्य र व्यक्तिको मनोविज्ञान बुझेर योजना तथा कार्यक्रम लागू गर्नुपर्ने देखिन्छ । लैंगिक हिंसा महिला विशेषको सवाल मात्र नभएर घर, समाज, राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय समस्या भएकाले यसको समाधानका लागि पनि सबै पक्षको पहल आवश्यक देखिन्छ । त्यो पहल चेतना जागृत गराउने कार्यक्रमहरूबाट सुरु गर्दा प्रभावकारी हुनेछ । लैंगिक हिंसालाई गहन रूपमा बुझ्न जरुरी छ । यो यौन शोषण मात्र नभएर महिलाविरुद्ध हुने सामाजिक÷सांस्कृतिक लगायत विविध विभेद नै समग्रमा लैंगिक हिंसाभित्र पर्ने भएकाले यसको अन्त्य गर्न घर, समाज र राज्यले संयुक्त पहल गर्नुपर्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालले महिला सशक्तीकरणका लागि विभिन्न अभ्यास र अभियान गर्दै आएको छ तर परिणाम सकारात्मक अवस्था देखिएको छैन । आजको परिवर्तित, शिक्षित, आधुनिक र सभ्य समयसम्म आइपुग्दा पनि संसारभर नै भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, शारीरिक, मानसिक विभिन्न तरिकाले महिलालाई हिंसा गर्ने प्रवृत्ति कायम रहनु दुर्भाग्य हो ।
आगामी दिनमा महिलालाई आत्मनिर्भर बनाउन सकिए उनीहरूविरुद्ध हुने घरेलु हिंसा न्यूनीकरण गर्न सकिने सत्य जानेर पनि नजाने जस्तो व्यवहार देखाउने प्रवृत्तिले महिला हिंसा निर्मुल हुन सकेको छैन । नेपाली महिला सिर्जनशील, संघर्षशील, बहुप्रतिभाशाली, सहनशील र साहसी छन् । तर पनि सामाजिक–आर्थिक पक्षबाट हेर्दा महिला सबै किसिमका अवसरबाट वञ्चित देखिन्छन् । बलात्कार, बोक्सीको आरोप, दाइजोका नाममा हुने घरेलु हिंसा यथावत् छन् ।
जबसम्म महिलाको जीवनस्तर माथि उठ्दैन तबसम्म देशको विकास सम्भव छैन । किनभने हरेक क्षेत्रमा महिलाको नेतृत्व र सहभागिता अभावले नै देश भष्ट्राचारको भुमरीमा परेको छ । समाजमा रहेका व्यक्तिहरूका बीचमा महिला र पुरुषका सम्बन्धमा सोच र व्यवहारमा विभेद आउञ्जेल समानताको आभास अनुभव गर्न सकिँदैन । मानिस महिला–पुरुष दुवैको संयुक्त रूप हो । मानसिक, शारीरिक र भावनात्मक रूपमा प्रत्येक मानिस एउटै हुन्छ र सबैको लक्ष्य जीवनमा सुख, शान्ति र आनन्द प्राप्त गर्दै एउटा सामाजिक प्राणीको आत्मिक ज्ञान विकास गराउन सक्नु पर्दछ अनि मात्र महिला हिंसा घट्छ । १६ दिनसम्मको अभियानले मात्र हिंसाको अन्त्य पक्कै हुँदैन ।