झापाबाट मानव तस्करी बन्द हुनु पर्छ

विश्वव्यापी समस्या बन्दै गएको मानव तस्करी अबैध ओसारपसारको माध्यमबाट फष्टाइरहेको छ । नेपालमा पनि विभिन्न स्थानबाट मानव तस्करहरूले बेरोजगार युवा युवतीलाई रोजगारीका लागि भन्दै अबैध बाटोबाट भारततिर लगेर तेस्रो देशमा अघोषित बिक्रीका लागि पठाउने गरेका छन् ।

पछिल्ला वर्षहरूमा मानव ओसारपसार गर्ने मूल मार्ग बनाएर झापाबाट भारत हुँदै तेश्रो देश बठाउने गिरोह सक्रिय बनिरहेको छ । झापामा वर्षेनी अबैध ओसारपसारका लागि विभिन्न पहाडी जिल्लाबाट ल्याइएका युवा युवती यहीबाट भारतीय मार्ग हुँदै तेश्रो देशका लागि लगिने क्रम बढ्दो अवस्थामा छ । झापा जिल्ला भारतसित १ सय ४४ किलोमिटर हाराहारी खुल्ला सीमाना रहेका कारण आवतजावतका लागि दर्जनौँ नाका रहेका छन् । यी नाका मध्ये मुख्य दुई नाका काँकडभिट्टा र भद्रपुरबाट मानव तस्करले युवायुवतीलाई छिमेकी भारत हुँदै तेस्रो मुलुक लैजाने सहज मार्गका रूपमा प्रयोग गर्ने गरेका छन् ।

प्रतिबन्धित कामका लागि विशेष गरी नेपालबाट पठाउन नसकिने भएपछि तस्कर समूहले गिरोह निर्माण गरी दुई चार जना गरेर भेला पारेका युवा युवतीलाई खुल्ला सिमानाको फाइदा उठाउँदै भारत छिराउने गरेका छन् ।

यस्ता अपराधिक कृयाकलाप रोक्न प्रहरी युनिट देखि अनेकौं एनजिओ, आइएनजिओ छरपष्ट देखिएका छन् तर ,चेलीबेटी ओसारपसार तथा बेचिने क्रम भने बढेर गएको छ । सीमा क्षेत्रमा घुम्ती राखेर त्यस्ता सङ्घस्थाले कर्मचारी मार्फत निगरानी बढाउन निर्देशन दिएको हुन्छ । प्रहरीले साधा पोसाकमा प्रहरी पनि खटाएको हुन्छ ,तर मानव बेचबिखन रोक्ने जालो तोडन कसैले सकेका छैनन ।

भारतीय बजार हिडेको शैलीमा युवा युवतीलाई पारि तार्ने रणनीति अपनाएर हरेक दिन आठ दश जना मानिस भारत पठाइ रहेको अवस्था छ । काँकरभिट्टाबाट पानीट्याङ्की नाका हुँदै सिलगुरी तथा भद्रपुरबाट गलगलिया हुँदै सिलगुरीमा जम्मा पारेर मानव तस्करले युवतीहरूलाई युरोप तथा मध्य एसियामा रहेका खाडी मुलुकमा यौनजन्य कृयाकलापका लागि बेच्ने गरेका छन् । घरेलु कामदारका नाममा अबैध बाटोबाट खाडी मुलुक पठाइएका अधिकाम्स युवतीहरू यौन शोषणको शिकार हुने गरेका छन् ।

झापामा जिल्ला प्रहरी, सानाहात नेपाल ,माइती नेपाल र आफन्त नेपाल, कञ्चन नेपाल लगायतका संघ संस्था मानव बेचबिखन बिरूद्ध निगरानी गरिरहेको बताउँछन् । यी निकायको तथ्याङ्कलाई आधारमान्दा पनि झापामा मानव बेचबिखन तथा ओसारपसार डरलाग्दो अवस्थामा देखिन्छ । रोक्ने निकाय सक्रिय देखिए पनि बेचबिखनको गिरोह झनै सकृय भएका कारण न्यूनिकरण हुन सकेको छैन । जनचेतनामूलक कार्य गरिरहे पनि रोजगारी दिने आश देखाएर दलालले फकाइ फुलाइ अबैध बाटोबाट लैजादो बेचबिखनको घटना बढेको अवस्था छ । यौनव्यापार, मानवअङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबरजस्ती श्रमका लागि हुने मानिसको अवैध व्यापार नै मानव बेचबिखनका रूपमा रहेको छ । मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी झुक्याई, जालसाज , प्रपञ्च मिलाई जबरजस्ती , करकापमा पार्ने गरिएको जनाउँछ । त्यस्तै अपहरण , शरीर बन्धक राखी नाजूक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग पनि यसको कारण हो ।

साथै अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लैजाने गरेका हुन्छन् । त्यस्तै आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँ वा विदेशमा लैजाने वा अरु कसैलाई दिने मानव तस्करको काम हुन आउँछ । भारतसँग नेपालको खुल्ला सिमाना, पर्याप्त रोजगारीको अवसरको अभाव, गरिबी, बढ्दो राजनीतिक अस्थिरता,बाबुआमा संरक्षक नभएका र जोखिममा परेका महिला बालबालिकाहरु बेच–बिखन हुने गरेका छन् । चेलीबेटी बेचबिखनको मुख्यकारण गरीबी,सामाजिक बिभेद, अशिक्षा, अज्ञानता आदि हुन् ।

मानवबेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र नियमावली २०६५ मा कानूनी उपचारको व्यवस्था छ । तर बेचिएका अधिकाम्स मानिसले सामाजिक प्रतिष्ठामा आँच आउने वा इज्जत घट्ने सोचेर आफू बेचिएको बारे कसैलाई जानकारी दिन चाहँदैनन् । जसको परिणाम तस्कर समूह निर्वाध मानव व्यपार गर्न पाइरहेको हुन्छ । राज्यको उपल्लो निकायसम्म पहुँच बनाएर बसेको तस्कर नियन्त्रमा राज्य उदासिन रहुञ्जेल मानव तस्करी चलिरहने छ ।