तरूण दलको पहलमा विपन्न दहेरी परिवारको बन्यो घर

भद्रपुर । नेपाल तरूण दलको नेतृत्वमा भद्रपुर ४ ठण्डा बस्तीमा विपन्न तथा सिमान्तकृत दहेरी परिवारले एउटा नयाँ घर प्राप्त गरेका छन् ।

नेपाल तरूण दल भद्रपुर ५ को पहल तथा ३ नम्बर क्षेत्रीय समिति र केन्द्रीय समिति सदस्य श्याम सिटौलाको समन्वयमा २ कोठे पक्की घर निर्माण भएको हो ।

आर्थिक अवस्था कमजोर भएकै कारण घर निर्माण गर्न नसकेका भद्रपुर ५ का मेहरा दहेरी परिवार कच्चची झुपडीमा दिन कटाइ रहेका थिए । सो परिवारलाई भद्रपुर ८ का समाजसेवी धनजुजु श्रेष्ठले ४ धुर जग्गा निशुल्क प्रदान गरेपछि भद्रपुर ४ ठण्डा बस्तीमा तरूण दलले घर निर्माण गरिदिएको हो ।

सिमान्तकृत समुदायका मेहराको अवस्था बुझेका तरूण नेपाल दल भद्रपुर ५ का सभापति इन्द्र नेपाल तथा ३ नम्बर क्षेत्रीय समितिका सभापति खड्गबहादुर लिम्बूको पहलमा केन्द्रीय समिति सदस्य श्याम सिटौलाको समन्वयमा नेपाली काँग्रेस निकट उद्योगी व्यापारी तथा दातासित सहयोग जुटाएर जस्तापाताको छानो भएको एक तले पक्की घर निर्माण गरिएको थियो ।

घर निर्माण बारे जानकारी दिँदै केन्द्रीय सदस्य सिटौलाले सवैको घर बनाउन नसकिए पनि अति विपन्न र सिमान्तकृत वर्गको बास जुटाउन तरूण दलले सम्पन्न गरेको यस सन्देशमूलक कार्यले स्थानीय, प्रदेश र केन्द्रीय सरकारलाई सर्वहारा वर्गको आवास तथा उन्नतिका लागि विशेष योजना ल्याउन सकारात्मक दवाब हुने विश्वास व्यक्त गरेका थिए । साथै नेपाली काँग्रेस र त्यस पार्टी सम्बद्ध संघ संगठन आफैले पनि सर्वहारा वर्गको उन्नतिका लागि केही न केही गर्न सक्ने र गरिरहनु पर्ने धारणा राखेका थिए ।

घर हस्तान्तरण कार्यक्रममा भद्रपुर नगर प्रमुख गाणेश पोखरेल, वडाध्यक्षहरू रामबहादुर कँडेल, रतिया राजवंशी, बन्धु कार्की, र गौरव सुब्बा मनोज, महासमिति सदस्य टिकाराज ढकाल, लता कार्की, विजय रिजाल, तरूण दलका केन्द्रीय सदस्य राजेन्द्र उप्रेती, श्याम सिटौला, क्षेत्रीय सभापति खड्गबहादुर लिम्बू तथा तरूण दल भद्रपुर ५ का सभापति इन्द्र नेपाल लगायत नेपाली काँग्रेस तथा तरूणका वडा सभापतिहरू लगायतले दहेरी परिवारलाई नयाँ घर सम्युक्त रूपमा हस्तान्तरण गरेका थिए ।

इन्द्र नेपालको सभापतित्व तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, ५ का वडाध्यक्ष बन्धु कार्की, उद्योगी टिकाराज ढकाल, तरूण दलका झापा ३ नम्वर क्षेत्रीय सभापति खड्गबहादुर लिम्बू लगायतले शुभकामना व्यक्त गरेका थिए ।