मेची किनारमा छठ पूजाको तयारी तीव्र
भद्रपुर । कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजा स्थलको पहिचान बनाएको भद्रपुर स्थित मेची नदीमा भव्य रूपमा छठ पूजाका लागि तयारी तीव्र पारिएको छ ।
तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बंगाली लगायत यहाँ रहेका सवै जात जातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजामा गरिने गरिएको छ ।
नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापा सदरमुकाम भद्रपुर स्थित मेची नदीमा मनाउदै आएको छठ पर्वमा भण्डै ५ हजार पूजा स्थल निर्माण गरी ३ किलो मिटर क्षेत्रमा नदीको वारिपारी दुवै पट्टिबाट पूजा गर्ने गरी व्यवस्थापनमा आयोजक लागिरहेको जनाइएको छ ।
पूजा स्थलका लागि नेपाल भारतका सुरक्षा कर्मीले सम्युक्त गस्ति गर्ने छन् भने नेत्र ज्योति समाज लगायत सामाजिक संघ संस्थाले मेलामा सहभागी भक्तजनका लागि निशुल्क पानी तथा चियाको व्यवस्था गर्ने जनाएका छन् ।
पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको समेत पाइएको छ । चारदिनसम्म मनाइने छठ पर्वमा पहिलो दिन र दाश्रो दिन सरसफाई तथा शुद्धताको काम गर्ने गरिन्छ भने तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजाको औपचारिक सुरूवात गर्ने र चौथो दिन विहान उदाउदो सूर्यलार्य अर्घ चढाएपछि सम्पन्न गर्ने गरिन्छ । यो पर्वमा जन सहभागिता नेपालको जनकपुर पछिको दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिल समाजका पूर्व अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए । उनका अनुसार भद्रपुरको पूजा अवलोकन गर्न नेपभल भारतका गरी एक लाख हाराहारीमा भक्तजन आउने गरेका छन् ।
सहज अवलोकन र व्यवस्थित मण्डपका लागि पूजाको व्यवस्थापनलाई सहज बनाउन एक साता अघिदेखि नै आयोजकले तयारी तीव्र गतिमा अगाडि बढाइरहेको छ । नेपालका मात्र नभएर भारतको विहार तथा बंगाल राज्यका व्रतालु भक्तजनहरू यसै नदीमा छठ पर्व मनाउदै आएकाले भद्रपुरको छठ पर्वको छुटै विशेषता रहने गरेको छ । पूजा अवलोकन गर्न भद्रपुरमा हजारौ भक्तजनहरुको घुइचो लाग्ने गरेको छ ।
यसको व्यवस्थापनका लागि मैथिली समाज भद्रपुर आयोजकका रूपमा रहने गरेको छ भने भद्रपुर नगरपालिका संरक्षक तथा विभिन्न सामाजिक संघ संस्था तथा राजनीतिक दलहरू सहयोगी निकायका रूपमा रहेका छन् । दुवै देशका व्रतालु भक्तजनहरुले मेची नदीमा आएर आ–आफनो पूजा स्थल बनाउने काम तीव्र बनाएका छन् ।