वडा दशैं २०८१ को हार्दिक शुभकामना
जब दशैं आउँछ, नेपालीहरूको घर आँगनमा खुसीको बास हुन्छ भन्ने परम्परा थियो । अचेल विगतको परम्पराभन्दा भिन्न शैलीमा दशैं आउँदै छ । असारमा पर्ने पानी यही दशैंको मुखमा पर्दा सयौं व्यक्तिले बाडी पहिरोमा परेर मर्नु पर्यो । दशैं खुसी कम रोदन बढी भएर आएको छ । प्राकृतिक विपत यसपालीको दशैमा दशा भएर आउँदा व्यक्ति, परिवार, समाज र देशकै लागि यस पटकको दशैं खुसीको उत्सव बन्न नसक्ने भयो ।
दशै पर्वले घरआँगन टेकी सकेको छ । बजार महंगो हुँदा हँुदा खाने समस्यामा छन् । स्थानीय, प्रदेश र संघीय गरी तीन तहका सरकार पनि छन् तर ती सरकारले कर–तिरो बढाएर संचिति–भँडार समृद्ध तुल्याई त्यसको सदुपयोग गर्न नसक्दा चार्ड पर्वमा कालोबजारीले नागरिकका आवश्यकता थेग्नै नसक्ने गरी मौलाउन पाइरहेको छ । सामाजिक रीतिस्थिति र अनुशासन भताभुङ्ग छन् । सरकारी समाजमा घुसखोरी–कमिशनखोरी जस्ता खुँखार भ्रष्टाचारको ‘राज’ चलिरहेको छ । सरकारी नियन्त्रक निकायका टाउकेहरू स्वयम्लाई अनुबन्धित गराई कालाधन्धे तस्करहरूले अघोषित रूपमा खोलेको आवधिक र स्थायी ‘सेटिङ कम्पनी’–हरूको ‘खुल्ला–गोप्य घुमघाम’ चलिरहेको छ ।
राजनीतिका सबै स्थानीय परिधिका गोठालाहरू मौन छन् किनकी त्यहाँ पनि कमिशनको बलियो जालोले घेरिएको छ । सबै तप्का र तहका नागरिकले यो सवै बुझेका छन् । तर, नागरिकहरू राजनीतिको भूल–भुलैयाको दृष्य हेरेर कहाँबाट प्रतिकार गर्ने ? सोचमग्न छन् । यस अवस्थालाई कमिशनखोरी चालै नपाएको ठानेर दिनदहाडै देश र जनता लुट्न व्यस्त पनि देखिन्छन् । हुने खानेलाई केही फरक नपर्ला तर हुँदा खानेलाई ज्यान बचाउनै मुस्किल परिरहेको छ ।
हामी धेरै टाढा जानु पर्दैन कमिशन र लुटतन्त्र हेर्न । हाम्रै भद्रपुर नगर सरकारका कर्मचारीतन्त्रलाई अलिकति टाढा बसेर हेर्ने हो भने नगरबासीमाथि कसरी लात बजारी रहेका छन् ? दृष्य मार्फत बुझ्न सकिन्छ । केही समय अगाडि भद्रपुरमा ढोलढ्यांग्रा बजाएर बजार अनुगमन गरियो । त्यस अनुगमनले अस्वभाविक मूल्य बृद्धि भेटेन । म्याद गुज्रिएका अखाद्य पदार्थ पनि कहिँ देखेन किनकी कर्मचारीतन्त्र व्यपारीका दुत बनेर अनुगमनको खवर आदान प्रदानमा व्यस्त थिए । त्यसको गुन दशैमा व्यापारी वर्गले कर्मचारीतन्त्रलाई तिर्ने परम्परा निकै लामो छ । अधिकाम्स कर्मचारीले दशैका लागि चाहिने रासन, माशु, रक्सी, घिउ, तेल, नुन, मशला केही किनै पर्दैन । घरघर समयमै पुग्छ । कसैलाई ठेकेदारले, कसैलाई उद्योगीले, कसैलाई व्यपारीले तह अनुसार सगुन चढाइहाल्छन् । त्यही भएर बजार अनुगमनमा नराम्रा पक्ष भेटिदैनन् । सवै सकारात्मक अवस्था मात्र पाइन्छन् । राजनीतिक नेतृत्व मौन समर्थनमा छ किनकी कर्मचारीतन्त्रले जे भन्छ त्यही ठिक मानेर टाउको हल्लाइरहेको छ ।
चार्डवाड मनाउन बहुमत श्रमजीवि नागरिक ऋणको बोझमा हराउनु पर्ने विडम्बना जीवित छ । विगतदेखिनै जनमत पाएका दलका सरकारले जनपक्षीय काम गर्न चुकेकै कारण व्यवस्थामाथि नै प्रश्न खडाहुँदै गएको छ । भ्रष्टाचार, दुराचार र अन्यायका शृङ्खला एकपछि अर्को रूपमा जीवित छन् । वर्तमान सरकारले पनि संघीयताले जनताका समस्या घरदैलोबाटै समाधान गर्दछ भन्ने मान्यताको अनुभूति नागरिकलाई दिन सकिरहेको छैन । बडादशैं–२०८१ को शुभोपलक्ष्य आरम्भ भइसकेको छ । यस वर्ष यो पर्वले ‘हुँदा खाने’–हरूका लागि आशा कम निराशा बढी छोडेर ‘दशा’ नै सावित हुने लक्षण देखिदै छ । प्रकृतिले पनि यही दशैंको छेउमा आएर विपत थपिदिएको छ । विपत व्यवस्थापनमा चुकेको सरकार तथा सवै राजनीतिक शक्तिका केन्द्रहरूमा सत् वुद्धि प्रदान होस् घुषखोरी र कमिशनखोरी बुद्धि अन्त्य गरोस् देश र जनताको भलाइको वातावरण बनोस् हार्दिक मंगलमय शुभकामना छ ।