तारबारले मात्र मानव–हात्ती द्वन्द्व रोकिदैन

द्रोण अधिकारी गुहेली
श्रीलङ्कामा सफल मानिएको तारबार झापामा एक दशक अगाडिबाट आएको अवधारणा अन्र्तगत मानव–हात्ती द्वन्द्व अन्त्य गर्ने सोच पालेर मानव–हात्ती द्वन्द्व घटाउन विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको थियो । गत वर्षबाट डिभिजन वन कार्यालयले तारबार समुदायलाइृ हस्तान्तरण गरिसकेको छ ।

समुदायले जिम्मा लिएको तारबारको सुरक्षा र मर्मत राज्यको सहयोगबिना सम्भव छैन । प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो । त्यसपछि २०७४ सालबाट शुरू गरी २०७६ चैत सम्ममा जलथल वन क्षेत्रमा पहिलो चरणमा ३५ किलोमिटर सौर्य तारबार लगाइको थियो । हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुरसँग जोडिएको वन क्षेत्रअन्तर्गत निर्माण गरिएको सौर्य तारबारको लागत पाँच करोड ६५ लाख २७ हजार छ । २०७८ चैतमा जलथल वन क्षेत्रमा दोस्रो चरणमा भद्रपुरमा एक करोड एक लाख ४४ हजार लागतमा ६.३९ किलोमिटर सौर्य तारबार लगाइ सकिएको छ ।

मेचीनगर नगरपालिकाको चारआली–मागुरमाडी खण्डअन्तर्गत १६.९८ किलोमिटर सौर्य तारबार लगाइएको छ । दुई करोड ५३ लाख ९५ हजारको लागतमा उक्त खण्डमा विद्युतीय तारबार लगाइएको हो । तारबार लगाउन राज्यकोषबाट करोडौं रकम खर्च भइसकेको छ । खर्च अनुसार मानव–हात्ती द्वन्द्व घटाउन भने सकिएको छैन । तारबार लगाएपछि धनजनको क्षतिमा केही कमी आए पनि लगानी अनुरूप प्रतिफलको लेखाजोखा गर्दा उत्साह जनक देखिदैन ।
मानिस पछिको बुद्धिमान प्राणी मनिएको हात्तीले आफ्नो अनुकुलता बिपरितका अवरोध हटाउन विभिन्न प्रयास गरिरहन्छ । हात्तीको आक्रमणको निशानामा परेका तारबारका खम्बाहरू ढलिरहेको अवस्था छ । तारबार त लगाइए तर रेखदेख र मर्मत संहारको उचित प्रबन्ध हुन सकेन । झण्डै एक दशक अगाडि लगाइएका केही स्थानका तारबार जीर्ण भएकाले मर्मत गर्नु पर्ने अवस्था छ । बाहुनडाँगीस्थित १८ किलोमिटर तारबार मर्मत गर्न करिब ३० लाख र जलथल क्षेत्रका लागि ४४ लाख ४७ हजार आवश्यक पर्ने वन डिभिजन झापाको अध्ययनले देखाउँछ । रकमको श्रोत सुनिश्चित नहुँदा जीर्ण तारबारबाट हात्ती गाउँ बस्ती पस्ने, अन्न बाली खाइदिने तथा मानव जनधनको क्षति गराउने काम निरन्तर रहिरेको छ ।
यही मानव–हात्ती द्वन्द्वको दृष्य निरन्तर हेरिरहेका वन्यजन्तु तस्कर समूहले हात्तीलाई मारेर महत्वपूर्ण अंगहरू चोरी तस्करी गरिरहेका छन् । राज्य संयन्त्रले पनि हात्ती स्थानीयकै आक्रमणमा मरेको ठानेर आँखा चिम्लदा वन्य जन्तु तस्कर कानुनी कारवाहीमा पर्न सकेका छैनन् । विसं २०७५ अघि झापामा १३ वटाको संख्यामा रैथाने रूपमा हात्ती बस्ने गरेकामा ६ वर्षको अवधि पारगर्दै गर्दा बढेर ३५ पुगेको अनुमान छ । यस बिचमा झापाका विभिन्न स्थानमा चारवटा छावा जन्मेर हुर्केको प्रत्यक्षदर्शी स्थानीयको भनाइ छ ।

आगन्तुक हात्ती सयभन्दा बढी आवतजावत गर्ने झापामा रैथानेको संख्या नै ३५ पार हुँदै गर्दा आहारा व्यवस्थापन आफैंमा चुनौति बनेर मानव–हात्ती द्वन्द्व घटाउन सहज पनि छैन । तर, पर्यावरणीय सन्तुलनका लागि हात्तीको अस्तित्व पनि अपरिहार्य रहेको छ । यसका लागि हात्तीको चरण क्षेत्र, आहारा व्यवस्थापनको वातावरण बनाइनु जरूरी भइसकेको छ । नीति निर्माणको तहमा रहेका शासक प्रशासकहरूको यतातिर सकारात्मक सोचको प्रवेश हुन सकिरहेको छैन ।
पर्यावरणका लागि पनि झापाका रैथाने हात्तीले सहज रूपमा बाँच्न पाउनु पर्छ । यही मान्यतालाई स्थापित गर्न हुन सक्छ कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले ‘जसको जंगल उसकै मङ्गल’ भन्ने नारासहित झापाको बाहुनडाँगीदेखि उदयपुरसम्म हात्तीमैत्री पैदलयात्रा गरेका थिए । उनले हात्ती हिंड्ने क्षेत्रलाई करिडोरको रूपमा विकास गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने नयाँ अवधारणा अगाडि सारेका थिए । उनले झापाको वाहुण्डाँगीदेखि उदयपुरको बेलकासम्मको हात्ती प्रभावित क्षेत्रको पैदलयात्रा गरी हात्ती मार्गमा पर्ने बस्ती हटाएर हात्ती आहारा व्यवस्थापन गर्ने घोषणा समेत गरेका थिए ।

मुख्यमन्त्री कार्कीले काम नथाल्दै आफ्नो पदबाट हट्नु परे पनि आफूले पदयात्रा गरेका वन क्षेत्रमा हात्तीका लागि आहारा व्यवस्थापन हुने फलफूल तथा घाँसे रूख उत्पादनका लागि वृक्षारोपणमा लागेको देखियो । कोशी प्रदेशको सत्तारोहणमा रहने अन्य शासकले पनि कोशी प्रदेशमा रैथाने रूपमा रहेका हात्ती संरक्षणका लागि प्राकृतिक उपाय सोचिदिने हो भने यिनै हात्ती देखाएर धेरैको रोजगार बन्न सक्थ्यो भने धेरैको व्यापार व्यावसाय फष्टाउने थियो । यसका लागि यस क्षेत्रमा रहेका वन प्राकृतिक चिडिया घरका रूपमा विकास हुनु पर्छ । विकास भनेको भौतिक संरचना बन्नु मात्र नभएर प्राकृतिक स्वरूपको समयानुकुल उपयोग गर्ने तरिकाको उचित प्रयोग हुनु पनि हो । रैथाने वन तथा वनस्पति हुर्काउने हो भने हात्ती लगायत जंगलमा आश्रित जनवारका लागि आहारा व्यवस्थापन सहज बन्न सक्थ्यो ।
झापाको उत्तर पूर्वी सीमा क्षेत्र बाहुण्डाँगीको मेची किनारबाट प्रत्येक वर्ष भारतीय जंगली हात्ती अन्न पाक्ने र फल लाग्ने समय पारेर दुई पटक नेपालतिर प्रवेश गर्दै आएका छन् । भारतीय क्षेत्रबाट वैशाखको दोस्रो हप्तादेखि असारको तेस्रो हप्तासम्म र कात्तिकको दोस्रो हप्तादेखि पुस–माघतिर हात्ती झापातिर आउने गरेका छन् ।

यसरी आउने हात्ती चरिचरण क्षेत्र सहज प्राप्त गर्न सके गाउँ बस्तीमा पसेर क्षति गर्ने थिएनन् । मेची किनारमा हात्तीले खान मनपराउने काँस पनि मासिदै गएको छ । वन क्षेत्रमा वनमारा लहराले प्राकृतिक घाँस छोपिदिँदा चरण क्षेत्र खुम्चिएर हात्ती लगायत वन्य जन्तु आहारा नपाएर भौतारिनु परिरहेको छ । झापाबाट नेपाल पस्ने भारतीय जंगली हात्तीको यात्रा चितवनसम्म पुग्ने अनुमान गरिन्छ । पछिल्लो समय वन क्षेत्र घाँसविहिन हुँदै गएका कारण हात्तीले गाउँ बस्ती चाहारेर अन्न बाली नै आफ्नो आहारा बनाइरहेका छन् । यस सत्यलाइृ हामी मानवले राम्ररी नबुझेको परिणाम हात्तीसित लडिरहेका छौं ।
तारबार निष्प्रभावी हुँदै जाँदा ती हात्तीले मनव बस्ती र अन्न बाली लगाइएका कृषि क्षेत्रमा विनास गर्दै आइरहेको अवस्था छ । चरण क्षेत्रको अभाव भएकै कारण हात्ती आहाराका लागि मानव बस्ती पसिरहेका छन् । मान्छेले जान्दा जान्दै पनि आफ्नो सुरक्षाका लागि हात्तीप्रति आक्रमक हुनु पर्दा हात्ती पनि मानिसलाई प्रधान शत्रु ठानेर मौका मिल्ने बित्तिकै ज्यान लिनपछि पर्दैन । यही दोहोरो भिडन्त रोक्न लगाइएको करोडौं लगानीको तारबार सोचे अनुरूप प्रभावकारी हुन सकिरहेको छैन ।
तारबार असफल हुनुका विभिन्न कारणहरू मध्ये मर्मत संहार तथा सुरक्षाको अभाव प्रमुख चुनौतिका रूपमा देखिने गरेको छ । राज्य र हात्ती प्रभावित क्षेत्रका समुदाय जिम्मेवार बन्न नसकुञ्जेल तारबारले मानव–हात्ती द्वन्द्व घटाउन सक्दैन । पछिल्लो समय हात्तीमैत्री वातावरणको चर्चा पनि चल्न थालेको छ । यसका लागि हात्तीको आहारा व्यवस्थापन सहज भए मानव बस्तीमा हात्तीको प्रवेश घट्ने छ र द्वन्द्व आफैं न्युनीकरण हुने विश्वास विज्ञहरूको छ ।

करोडौं रकम खर्चेर बनाइएको तारबारले मात्र द्वन्द्व पक्कै घट्दैन । हात्तीका लागि आहारा व्यवस्थित हुन जंगल सुरक्षित हुनु पर्छ । जंगल पनि मानव अतिक्रमणमा पर्दा जंगली जनवार बासविहिन भएका छन् । जंगल क्षेत्रमा घाँस, पानी र कोलाहलविहिन वातावरण निर्माण हुन सके मात्र जंगली जनवार वन छोडेर बस्ती पस्दैनन् । कोशी प्रदेशमा हात्ती र मानव बिचको द्वन्द्व रोक्न हात्तीमैत्री वातावण निर्माणका लागि वन तथा वातावरण सम्बद्ध संस्था लागिरहेका पनि छन् तर, उनीहरूको योजनाले वन र वन्यजन्तुको निकट सम्बन्ध जुटाउन नसकेको परिणाम नै हात्ती उपद्रोलाई मानिसले आतङ्क बुझेको अवस्था छ । वन समितिका नाममा वनभोज स्थल, होटल, रेष्टुरेण्ट, विभिन्न मनोरञ्जन स्थल बनाएर वन भित्र अशान्त वातावरण बनाइरहेको अवस्थाले जंगलमा बस्ने जनवार गाउँ बस्ती पसिरहेको सत्य बिर्सनु हसँदैन ।
हात्तीले बसोवासका लागि झापामा १५ हजार ८३१ दशमवल २४ हेक्टरमा ५९ वटा सामुदायिक वन रहेका छन् । दुई वटा कबुलियत वन (११३ दशमलव ६ हेक्टर), रतुवामाइ वृक्षरोपण आयोजना (२ हजार ८५३), एग्रो फरेष्ट्री प्रमोसन (९८ दशमलव ६) र स्काउट वन (१५ हेक्टर) क्षेत्रमा सहज चरिचरण गर्न पाउँछन् । रैथाने भन्दा चार गुणा बढी पाहुना हात्ती प्रवेश गर्ने झापामा चरन क्षेत्र कम हुँदा गाउँ बस्तीका अन्न बाली क्षतिको सामना गरिरहनु परेको छ ।

यी सवै समस्या हात्तीले होइन मानिसले नै सिर्जना गरेका हुन् । तारबार लगाए पनि समाधान हुन सक्ने अवस्था छैन । समस्या कम वा न्यून पार्ने उपाय हात्तीमैत्री वातावरण निर्माण हो । वन क्षेत्रलाई खुल्ला चिडिया घरका रूपमा विकास गर्दै हात्ती जंगलमै रमाउने वातावरण नबनेसम्म समस्या समाधानको बाटोतर्फ लाग्ने छैन । वन क्षेत्रलाई सहज चरिचरन क्षेत्र बन्ने वातावरण भए हात्ती गाउँ पस्ने छैनन् ।