उत्कृष्ट ३ जनालाई स्वर्गीय प्रमोद तामाङ स्मृति सम्मान

भद्रपुर । दिवङ्गत राष्ट्र सेवक प्रमोद तामाङको स्मृतिमा स्थापित प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल सम्मानित भएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरले स्थापना गरेको १४ औं पुरस्कारबाट उत्कृष्ट राष्ट्र सेवक सम्मान भद्रपुर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मनोज भट्टराई र कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका अधिकृत कृष्णप्रसाद शर्मालाई सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि प्रदेश सभा सदस्य छविलाल चुडाल , संगठन झापा अध्यक्ष केदार पोखरेल, सहकारी अध्यक्ष वशिष्ठ अधिकारी लगायतले नगद सहित प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेका थिए । संगठन झापा अध्यक्ष केदार पोखरेलको अध्यक्षतामा तथा सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत सीता गुरागाईले गरेकी थिइन् । कार्यक्रममा संगठनका पूर्व सचिव तेजु रेग्मी, एमाले भद्रपुर नगर अध्यक्ष निर्माण नेपाल , सम्मानित पत्रकार मनकुमार गदाल लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रममा महिला कर्मचारीहरूलाई हरितालिका तिजको सामूहिक दर कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।