आयात नाकामा सिमित हुँदै भद्रपुर
भद्रपुर । नेपालकै पूराना भन्सार मध्ये नाम कमाएको भद्रपुर भन्सार वि सं २०२८ सालसम्म पूर्वको प्रमुख निर्यात गर्ने भन्सारका रूपमा चिनिन्थ्यो ।
२०२८ सालपछि पूर्व पश्चिम राजमार्गले काँकरभिट्टालाई प्रस्थान विन्दू बनाएपछि भारतसित आयात निर्यात व्यपारमा भद्रपुर भन्सारले छोटी भन्सारका रूपमा खुम्चनु परेपछि आयात ज्यादा निर्यात कम हुँदै गएको इतिहासले देखाउँछ ।
२०७५ भदौबाट पुनः मुख्य भन्सारको मान्यता पाएको भद्रपुर भन्सारको बाटो हुँदै ६ वर्षदेखि भारतिर निर्यात व्यापार शून्य देखिन्छ ।
कारण विभिन्न भए पनि सीमावर्ती भारतीय नाका गलगलियामा रहेको भन्सारको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको बताइदै आएको छ ।
विसं २००७ भन्दाअघिदेखि राणाकालीन व्यापारिक नाकाका रूपमा परिचित भद्रपुर भन्सार नेपालकै पुरानो भन्सारको पहिचान बोकेको कार्यालय भित्र पर्छ । मूल भन्सारको मान्यता पाउँदा पनि विगतका छोटी भन्सार रहँदा जति राजश्व संकलन गर्ने गरिन्थ्यो त्यति राजश्व पनि संकलित नगरिरहेको भद्रपुर भन्सार आयातका लागि खटिएको जस्तै रूपमा देखिन थालेको छ ।
मुख्य भन्सारको मान्यता पाएपछि भद्रपुर भन्सार कार्यालयको भौतिक पूर्वाधार, जनशक्ति र क्षेत्राधिकार बढेको छ । तर, निर्यात व्यापारको ढोका भने अहिलेसम्म खुल्न नसकेको जनाइएको छ ।
नेपालले भन्सारको स्तरोन्नति गरे जस्तै सीमापारिको गलगलियास्थित भारतीय नाकाको स्तरोन्नति हुन सकेको छैन । गलगलिया अहिले पनि छोटी भन्सारका रूपमा सञ्चालन भइरहेको छ । त्यहाँ सामान भण्डारण गर्ने गोदाम र जाँचपास गर्ने एजेन्टलगायत सुविधा नभएको जनाइएको छ ।
विसं २००७ पछि नेपालबाट चामल, काठलगायतका सामान भारत निर्यात गर्ने मुख्य नाकाका रुपमा भद्रपुर चिनिएको थियो । काँकडभिट्टामा मेची पुल र राजमार्ग विस्तार भएपछि भद्रपुरको व्यापार क्रमशः ओरालो लागेको हो । आर्थिक वर्ष २०७६÷७७ देखि गत आव २०८०÷८१ सम्म पाँच वर्षको अवधिमा भद्रपुर भन्सार कार्यालयले ९९ करोड ७७ लाख राजस्व असुली गरेको कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुनप्रसाद सिटौलाले बताए ।
उनका अनुसार आव २०७६÷७७ मा १४ करोड ४९ लाख, आव २०७७÷७८ मा २७ करोड ३४ लाख, आव २०७८÷७९ मा २४ करोड १३ लाख, आव २०७९÷८० मा रु नौ करोड ४७ लाख र आव २०८०÷८१ मा २४ करोड ३४ लाख राजस्व असुली भएको छ ।
चालू आव २०८१÷८२ मा भद्रपुर भन्सारले रु ३३ करोड १३ लाख राजस्व असुलीको लक्ष्य निर्धारण गरेको छ । आव २०८०÷८१ मा रु १२ करोड सात लाख असुलीको लक्ष्य लिएको कार्यालयले आश्चर्यजनक उपलब्धि हासिल गर्दै रु २४ करोड ३४ लाख राजस्व असुली गरेको थियो ।
विगत पाँच वर्षमा असुली भएको रु ९९ करोड ७७ लाख भन्सारबाट आयात भएको मालसामानको महसुलबापत हो । हालसम्म यस भन्सारबाट नेपाली कुनै पनि सामान निर्यात नभएको हुँदा निर्याततर्फको राजस्व शून्य रहेको भन्सार प्रमुख सिटौलाले स्वीकार गरे ।
व्यापारिक नाका भनेकै दोस्रो र तेस्रो मुलुकसँग सामानको आयात र निर्यात गर्ने स्थान हो । तथापि भद्रपुर नाका नेपालका लागि सामान भित्र्याउने नाकामा सीमित हुन पुगेको छ ।
सीमावर्ती गलगलिया नाका भारतको विहार प्रान्तअन्तर्गतको कम प्राथमिकतामा परेको भन्सारको सूचीमा रहेको छ । गलगलिया भन्सारमा भौतिक पूर्वाधार, गोदाम, भन्सार एजेन्ट लगायतको सुविधा छैन । स्थानीय व्यवसायीका अनुसार रु पाँच लाखभन्दा बढी मूल्यका सामान नेपाल ल्याउनसमेत गलगलिया भन्सारले दिएको छैन । पाँच लाखभन्दा बढी मूल्यका सामान फारवेसगञ्ज नाकाबाट जाँचपास गराएर मात्र नेपाल ल्याउन पाइने नियमका कारण नेपाली व्यवसायी हैरान छन् ।
भद्रपुर भन्सार कार्यालयका प्रमुख सिटौलाले यस नाकाबाट लत्ताकपडा, चिया उद्योगका पार्टपूर्जा, प्याकिङ मेटेरियल, प्लाइउड उद्योगमा प्रयोग हुने रेजिनलगायतका केमिकल र बालीनालीमा प्रयोग हुने विषादीजन्य वस्तुहरु आयात हुने गरेको जानकारी दिए ।
झापा उद्योग सङ्घका अध्यक्ष यामबहादुर श्रेष्ठले भारतीय नाकाको भन्सारलाई स्तरोन्नति गरिने हो भने नेपालबाट चिया, प्लाइउडलगायत बर्सेनि अर्बौं मूल्यका नेपाली उत्पादन निर्यातको बाटो खुल्ने सम्भावना रहेको बताए ।
भारतीय पक्षलाई विभिन्न माध्यमबाट गलगलिया भन्सारको स्तरोन्नति गर्नका लागि दबाब दिइरहेका छौँ, यही दबाबका कारण भारतको विहार सरकारले गलगलिया भन्सारलाई स्तरोन्नति गर्दै भन्सार कोड प्रदान गरेको खबर आएको छ । अब चाँडै निर्यात व्यापारका लागि ढोका खुल्ने आशा गरेका छौँ’– अध्यक्ष श्रेष्ठले भने ।
उनले भारतीय भन्सारले कोड प्राप्त गरेपछि क्वारेन्टाइनलगायत अन्य कार्यालय स्थापना गर्न जरुरी रहेको बताए । गलगलिया भन्सारमा चाँडै भन्सार एजेन्टहरु नियुक्त हुने जानकारी आएकोसमेत उनको भनाइ छ ।
नेपालकै पुरानो भन्सार भए पनि विगतमा मेची नदीमा पुल नभएका कारण व्यापार प्रभावित भएको थियो । विसं २०७६ मा मेची नदीमा पक्की पुल निर्माण भइसकेको छ । नेपालतर्फ छोटी भन्सारलाई स्तरोन्नति गरेर मुख्य भन्सार घोषणा भएपछि भन्सारमा जनशक्ति थप गरेर २० जना पुरÞ्याइएको छ ।
भद्रपुर भन्सार कार्यालय मातहतमा पाठामारी, घेराबारी, पन्थापाडा, केचना र कुमरखोद गरी पाँच वटा छोटी भन्सार छन् । कुमरखोदबाहेक अरू छोटी भन्सारको गतिविधि ठप्प रहेको छ ।