तारबारले मात्र मानव–हात्ती द्वन्द्व घटाउन सकिदैन
दशकौं लामो मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ । झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो । त्यसपछि २०७४ सालबाट शुरू गरी २०७६ चैत सम्ममा जलथल वन क्षेत्रमा पहिलो चरणमा ३५ किलोमिटर सौर्य तारबार लगाइको थियो ।
हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुरसँग जोडिएको वन क्षेत्रअन्तर्गत निर्माण गरिएको सौर्य तारबारको लागत पाँच करोड ६५ लाख २७ हजार छ । २०७८ चैतमा जलथल वन क्षेत्रमा दोस्रो चरणमा भद्रपुरमा एक करोड एक लाख ४४ हजार लागतमा ६.३९ किलोमिटर सौर्य तारबार लगाइ सकिएको छ । मेचीनगर नगरपालिकाको चारआली–मागुरमाडी खण्डअन्तर्गत १६.९८ किलोमिटर सौर्य तारबार लगाइएको छ । दुई करोड ५३ लाख ९५ हजारको लागतमा उक्त खण्डमा विद्युतीय तारबार लगाइएको हो । तारबार लगाउन राज्यकोषबाट करोडौं रकम खर्च भइसकेको छ । खर्च अनुसार मानव–हात्ती द्वन्द्व घटाउन भने सकिएको छैन ।
झण्डै एक दशक अगाडि लगाइएका केही स्थानका तारबार जीर्ण भएकाले मर्मत गर्नु पर्ने अवस्था छ । बाहुनडाँगीस्थित १८ किलोमिटर तारबार मर्मत गर्न करिब ३० लाख र जलथल क्षेत्रका लागि ४४ लाख ४७ हजार आवश्यक पर्ने वन डिभिजन झापाको अध्ययनले देखाएको छ । रकमको श्रोत सुनिश्चित नहुँदा जीर्ण तारबारबाट हात्ती गाउँ बस्ती पस्ने, अन्न बाली खाइदिने तथा मानव जनधनको क्षति गराउने काम निरन्तर रहिरेको छ ।
यही मानव–हात्ती द्वन्द्वको दृष्य निरन्तर हेरिरहेका वन्यजन्तु तस्कर समूहले हात्तीलाई मारेर महत्वपूर्ण अंगहरू चोरी तस्करी गरिरहेका छन् । राज्य संयन्त्रले पनि हात्ती स्थानीयकै आक्रमणमा मरेको ठानेर आँखा चिम्लदा वन्य जन्तु तस्कर कानुनी कारवाहीमा पर्न सकेका छैनन् । विसं २०७५ अघि झापामा १३ वटाको संख्यामा रैथाने रूपमा हात्ती बस्ने गरेकामा ६ वर्षको अवधि पारगर्दै गर्दा बढेर ३५ पुगेको छ । यस बिचमा झापाका विभिन्न स्थानमा चारवटा छावा जन्मेर हुर्केका छन् । आगन्तुक हात्ती सयभन्दा बढी आवतजावत गर्ने झापामा रैथानेको संख्या नै ३५ पार हुँदै गर्दा आहारा व्यवस्थापन आफैंमा चुनौति बनेर मानव–हात्ती द्वन्द्व घटाउन सहज पनि छैन । तर, पर्यावरणीय सन्तुलनका लागि हात्तीको अस्तित्व पनि अपरिहार्य रहेको छ । यसका लागि पनि झापाका रैथाने हात्तीले सहज रूपमा बाँच्न पाउनु पर्छ ।
झापाको उत्तर पूर्वी सीमा क्षेत्र बाहुण्डाँगीको मेची किनारबाट प्रत्येक वर्ष भारतीय जंगली हात्ती अन्न पाक्ने र फल लाग्ने समय पारेर दुई पटक नेपालतिर प्रवेश गर्दै आएका छन् । भारतीय क्षेत्रबाट वैशाखको दोस्रो हप्तादेखि असारको तेस्रो हप्तासम्म र कात्तिकको दोस्रो हप्तादेखि पुस–माघतिर हात्ती झापातिर आउने गरेका छन् । तारबार निष्प्रभावी हुँदै जाँदा ती हात्तीले मनव बस्ती र अन्न बाली लगाइएका कृषि क्षेत्रमा विनास गर्दै आइरहेका छन् ।
चरण क्षेत्रको अभाव भएकै कारण हात्ती आहाराका लागि मानव बस्ती पसिरहेका छन् । मान्छेले जान्दा जान्दै पनि आफ्नो सुरक्षाका लागि हात्तीप्रति आक्रमक हुनु परिरहेको छ । यही दोहोरो भिडन्त रोक्न लगाइएको करोडौं लगानीको तारबार सोचे अनुरूप प्रभावकारी हुन सकिरहेको छैन । यसका विभिन्न कारणहरू मध्ये मर्मत संहार तथा सुरक्षाको अभाव प्रमुख चुनौतिका रूपमा रहेको छ । राज्य र हात्ती प्रभावित क्षेत्रका समुदाय जिम्मेवार बन्न नसकुञ्जेल तारबारले मानव–हात्ती द्वन्द्व घटाउन सक्दैन । पछिल्लो समय हात्तीमैत्री वातावरणको चर्चा पनि चल्न थालेको छ । यसका लागि हात्तीको आहारा व्यवस्थापन सहज भए मानव बस्तीमा हात्तीको प्रवेश घट्ने छ र द्वन्द्व आफैं न्युनीकरण हुने विश्वास विज्ञहरूको छ । करोडौं रकम खर्चेर बनाइएको तारबारले मात्र द्वन्द्व पक्कै घट्दैन ।