वैदिक साकोशको १३ औं सभा सम्पन्न

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा भद्रपुर १० नम्बर वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान, वार्षिक प्रगतिविवरण पेश लगायत विविध गतिविधिका साथ सभा सम्पन्न गरिएको हो ।
सचिव विदुर ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष निरौलाले संस्थाको वार्षिक प्रगति विवरण पेश गर्दै २८० महिला, ३१३ पुरूष गरी ५९३ शेयर सदस्य तथा ४८ लाख १६ हजार २०० शेयर पूँजी विवरण प्रस्तुत गर्दै नीति कार्यक्रम पेश गरेका थिए ।
उत्कृष्ट सञ्चालक सम्मानबाट कोषाध्यक्ष मञ्जु खतिवडा अधिकारी, उत्कृष्ट बचत कारोवार सम्मानबाट गोपाल थापा मगर र उत्कृष्ट ऋण कारोवार सम्मानबाट सिमता गुरूङ तथा जेष्ठ सदस्य सम्मानबाट असारी राजवंशीलाई सम्मान गरिएको कार्यक्रममा कोषध्यक्ष मञ्जु खतिवडाले वार्षिक आर्थिक गतिविधि पेश गर्दै दुई करोड ६५ लाख ५८ हजार २०८ रूपैयाको वार्षिक कारोवार तथा सञ्चालन मुनाफा पाँच लाख ८३ हजार ४३७ रूपैयाको वार्षिक प्रगति विवरण पेश गरेकी थिइन् ।
लेखा समिति संयोजक मुरारी न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कारोवार सहकारी सञ्चालन मापदण्ड अनुकुल रहेको जानकारी गराएका थिए ।
उपाध्यक्ष डिल्लीराम अधिकारीले स्वागत गरेको कार्यक्रममा ज्ञानोदय शिक्षक सहकारीका गोकुलराज न्यौपाने, प्रकाश एकता कृषि सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठ, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुरका अध्यक्ष लावण्यकुमार पोखरेल, विभूति विद्या मन्दिर चन्द्रगढीका प्रिन्सिपल गोविन्द लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।