झापामा रैथाने हात्तीको संख्या तीन गुणा बढ्यो

भद्रपुर । झापामा रहेका रैथाने हात्तीको संख्या तीन गुणाले बृद्धि भएको वन डिभिजन झापाको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो पाँच वर्षयता जिल्लामा रैथाने हात्तीको संख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाकाको विवरणले पुष्टि गरेको हो ।
डिभिजन वन झापाका प्रमुख मेघराज राईका अनुसार २०७५ सालसम्म १०–१२ वटा संख्यामा रैथाने हात्ती रहेकोमा झापामा हाल ३० वटाभन्दा धेरै हात्ती देखिएका छन् ।
भारतबाट आहाराको खोजीमा नेपाल प्रवेश गरेका हात्ती यतै बस्न थालेपछि रैथाने हात्तीको संख्या बढ्दै गएको प्रमुख राईको भनाइ छ ।
गत वर्ष सुक्ष्म रूपमा अध्ययन गर्दा रैथाने हात्तीको संख्या बृद्धि भएको पाइएको बताउँदै उनले पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेका हात्ती अचेल जिल्लाभर देखिन थालेका छन् ।
यिनीहरू पनि विभिन्न झुण्ड बनाएर बाहुण्डाँगीदेखि कचनकवलसम्मका कृषि उर्वर क्षेत्र आसपास चरिचरण गरिरहेका छन् ।
झापामा धान, मकै लगायत बालीको व्यवसायिक खेती बढेसंगै हात्तीबाट जनधनको क्षति पनि बढ्दै गएको उनको भनाइ छ । यसअघि कहिलै नपुग्ने ठाउँमा समेत हात्ती पुगिरहेको बताउँदै आहाराको खोजीका क्रममा हात्तीको उपद्रो बढेको हो ।
हात्तीले प्रयोग गर्ने जैविक मार्गमा पुल, सडक लगायतका संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गर्दा बढी क्षति हुने गरेको छ । हात्तीले बाटो परिवर्तन गर्ने क्रममा गाउँबस्ती प्रवेश गर्दा जनधनको बढी क्षति हुने गरेको कार्यालय प्रमुख राईको भनाइ छ ।
मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि योजनाविद्हरुले विशेष गुरुयोजना बनाउनुपर्ने भन्दै मानव–हात्ती सहअस्तित्वका लागि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने राईको सुझाव छ । उनले हात्ती नियन्त्रणका लागि महत्वपूर्ण गुरुयोजना छैन । तीनै तहका सरकारले यस विषयमा विशेष ध्यान दिन जरूरी रहेको औंल्याएका छन् ।
हात्ती समस्या न्यूनीकरणका लागि प्रदेशभरिको योजना निर्माण भइरहेको सुनाउँदै उनले हात्ती प्रभावित क्षेत्रको पहिचान गरी स्थानीयबासीको सामूहिक बिमा, बाली बिमा, भौतिक संरचनाको बिमा गर्न सकिए मानिस ढुक्क भएर बाँच्ने वातावरण हुने प्रष्ट पारेका छन् ।
स्थायी रूपमा झापामा बस्ने हात्तीले छावा जन्माउने–हुर्काउने कार्य गरिरहेकाले जिल्लामा रैथाने हात्तीको संख्या बृद्धि भएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीको भनाइ छ । गत वर्ष तत्कालीन मुख्यमन्त्री केदार कार्कीले सञ्चालन गरेको हात्ती प्रभावित क्षेत्रको पदयात्राका क्रममा स्थानीयबासीले हात्तीले बच्चा जन्माएको, छावासहित हिँडिरहेको बताएको जानकारी दिए ।
झापामा हात्तीलाई वन–जंगल भित्रै राख्न पछिल्लो समय हात्ती आहाल, हात्तीलाई मनपर्ने फलफूल तथा बोटबिरुवा लगाउने कार्य भइरहेका छन् ।
जिल्लाका विभिन्न वन परिसरमा गत वर्षमात्रै जंगलमा आठ वटा हात्ती आहाल निर्माण गरिएको छ । वन क्षेत्रमा हात्तीले मन पराउने नौ हजार नौ सय ६९ वटा बाँस र छ हजार वटा हात्तीफलको बिरुवा रोपिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् । वनहरुमा केराका बिरुवा समेत रोपिएको छ । जसले गर्दा हात्ती आहाराका लागि जंगलबाट गाउँ पस्नु नपरोस् ।
झापामा आव २०६७÷०६८ देखि आव २०८०÷०८१ सम्म ६८ जना मानिस र २१ वटा हात्तीको मृत्यु भएको छ । मृत्यु भएका मानिसमध्ये ८ जना गैरनेपाली रहेका छन् । सो अवधिमा चार हजार पाँच सय हात्तीपीडितलाई नौ करोड रकम राहत वितरण गरिएको कार्यालयले जनाएको छ ।
जिल्लामा रहेका रैथाने हात्तीमध्ये १० वटाको नामाकरण समेत गरिएको छ । जिल्लामा रहेका रैथाने हात्तीको सुनौलो दाँते जग, घुमन्ते युव गज, कानदुले गज, घुमन्ते राज गज, तालबेताल गज, जलथले गज, ठुटे अञ्जु गज, सेते गज, एकदाह्रे सानी गज र रंगे गज नामाकरण गरिएको छ ।
हात्ती र मानव बिचको द्वन्द्व रोक्न हात्तीमैत्री वातावण निर्माणका लागि वन तथा वातावरण सम्बद्ध संस्था लागिरहेका भए पनि झापामा पछिल्लो समय हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि प्रभावित क्षेत्रबाट बसाइ सर्नेको संख्या समेत बढ्न थालेको छ । दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीय बसाइ सर्न थालेका हुन् । राज्यबाट सुरक्षाको प्रत्याभूति नभएको भन्दै दक्षिणी ग्रामीण झापाली घना बस्ती भएका बजारतिर बसाइ सर्न थालेका छन् । जंगल नजिकका बस्तीमा प्रवेश गरी घर भत्काउने, बाली खाइ दिने तथा बोट विरुवा र जनवारमाथि आक्रमण गरी क्षति पुर्याउन थालेपछि हात्ती नियन्त्रण गर्न स्थानीय जाग्राम बस्नु पर्ने बाध्यतामा छन् । यस बाध्यता रोक्न प्रकृति संरक्षण कोष मार्फत प्रभावितलाई राहत दिने गरिएको भए पनि क्षतिको तुलनामा राहत निकै कम रहेको पीडितको गुनासो छ ।