भद्रपुर—विर्तामोड सडक छिटो निर्माण गर

झापा सदरमुकाम चन्द्रगढी चौकबाट सिधै विर्तामोड यात्रा गर्ने हिम्मत सार्वजनिक तथा निजी सवारी साधनका चालकले गर्न सक्दैनन् । विर्तामोड जाने यात्री घुमेर भए पनि चारआली हुँदै जान बढी रमाउछन् । यसको मूल कारण हो, वर्षौं यता भद्रपुर–विर्तामोड सडकको चन्द्रगढी क्षेत्रका खाल्डाखुल्डी । यात्रुका लागि सास्ती बनिरहेको यस सडको अवस्था सुधार्न हिम्मत भएको नेतृत्व अहिलेसम्म देखिएको छैन । यस सडक अन्र्तगत साविकको गरामनी उत्तर अनारमनी खण्डको सडक निर्माण सम्पन्न भए पनि गरामनी–भद्रपुर खण्डको ८ दशमलब ४१ किलोमिटर सडक निर्माणको ठेक्का चार वर्षे अवधि पार गरे पनि समस्या जस्ताको त्यस्तै छ । यस सडकबाट यात्रामा निस्कने यात्रु जीर्ण सडकका कारण ज्यान जोखिममा पारेर यात्रा गर्नु पर्ने बाध्यता वर्षौंयता भोगिरहेका छन् । सडक छेउछाउका घर बस्ती धुलो र हिलोका कारण समस्या भोग्न बाध्य भएपछि समस्या हलका लागि राज्यलाई जिम्मेवार बनाउन सडक बन्द गरेरै आन्दोलनका कार्यक्रम पनि पटक पटक चलाए समस्या समाधानको बाटोमा पुग्न सकेन । जिम्मेवार राज्यको अनुभूति नपाएर सडक पीडित नागरिक निराश भइरहेका छन् । सरकारी पक्ष सडक कार्यालयले ठेकेदार कम्पनीलाई कारवाहीका लागि प्रकृया थालनी गरे पनि सडक निर्माण सहज भएन । कालो सूचिमा राख्ने र विलम्व शुल्क तिराउने काम भए पनि म्याद थपिएको दुई वर्षे अवधिमा समेत सडक निर्माण सम्पन्न भएन । सडक निर्माण सम्पन्न गराउन कर्मचारीले थालेको प्रयासमा राजनीतिक नेतृत्व गरिरहेका दलले साथ नदिएका कारण निर्माण ढिलासुस्ती हट्न सकेन ।
काठमाडौंको एम÷एस कन्टेक प्रालिले २०७७ माघ ६ गते निर्माणका लागि ठेक्का सम्झौता गरेको यस सडकको निर्माण २०८० साउन ५ अर्थाथ ३० महिनामा काम सम्पन्न गर्नु पर्ने थियो । ठेक्का लिएको ४२ महिना पूरा हुँदै गर्दा ठेकेदार कम्पनीले सडक निर्माणको काम करिव ५० प्रतिशत मात्रै सम्पन्न गर्नुले बेइमानीको संकेत दिइरहेको छ । सडक निर्माणमा ढिलाइ गरेको भन्दै सडक डिभिजन दमकले १५ दिने सूचना जारी गरी ठेकेदार कम्पनीसँग निर्माणको काममा ढिलाइ हुनुको लिखित जवाफ माग गरेको थियो । निर्माण कम्पनीले चित्तबुझ्दो जवाफ समेत नदिएपछि कानुनअनुसार थप कारबाही गर्न सडक डिभिजन दमक अगाडि बढेको थियो । तर, दवाव र प्रभावको भार थेग्न नसकेर दुई पटक म्याद थप भइसकेको छ । सडक निर्माणका लागि नेपाल सरकारसित निर्माण कम्पनीले भ्याटसहित ५८ करोड २ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेर काम जिम्मा लिएको भए पनि काममा बदनियत राखेर अलमल गर्नु गलत मनसाय हो । यो सडक जिल्लाका प्रशासनिक कार्यालयहरू रहेको सदरमुकाम चन्द्रगढी जाने मुख्य सडक भएका कारण हजारौं व्यक्ति दैनिक ओहोर दोहोर गर्ने गर्दछन् । यस्तै दैनिक सयौंको संख्यामा सवारीसाधन सञ्चालन हुने यस सडक भत्किएर खाल्डैखाल्डामा परिणत भएको छ । पञ्चायतकाल, प्रजातन्त्र र लोकतन्त्र तीन वटै शासन भोगिसकेको यस सडको स्तर उन्नतिका लागि अहिलेसम्म बलियो आड भएका शासक भेटिएको छैन । जसको परिणाम निर्माणका लागि राज्य कोषबाट रकम विनियोजन हुँदा पनि ठेकेदारको पञ्जामा सडक अलपत्र भइरहेको छ । यस पटक ठेकेदार कम्पनी तह लगाउन चन्द्रगढी तथा देउनिया क्षेत्रका बासिन्दाले निकै ठूलो विरोध प्रदर्शन गरेपछि नागरिकको अपेक्षाको सम्मान गर्न संघीय सांसद विश्वप्रकाश शर्माले चन्द्रगढीको लेखनाथ चौकमा उभिएर छिटो काम सम्पन्न गराउन आवश्यक रकमको श्रोत निश्चित गर्दै लागि पर्ने वचन दिएर गएका छन् । शर्माको वचनले काम गरे पछिल्लो पटक थपिएको समय सिमाभित्रै सडक बन्ला नत्र उही पुरानो रोगले सताउला । नेताको भर र विश्वास गर्न छोडेको वर्तमान अवस्थामा शर्माको अग्नि परीक्षा शुरू भएको छ । जसरी भए पनि यो सडक थपिएकै समयमा बन्नु अबको अपेक्षा हो ।