मानव—हात्ती द्वन्द्व अव रोकिनै पर्छ
हरेक वर्ष झापा जिल्ला मानव—हात्ती द्वन्द्वका कारण निकै चर्तित हुँदै गइरहेको छ । प्रत्येक वर्ष हात्तीकाकारण मानिसको र मानिसका कारण हात्तीको ज्यान जाने अवस्थाको बृद्धि भइरहँदा देश विदेशमा झापाले चर्चा बटुल्ने गरेको हो । डिभिजन वन कार्यालय झापाको विवरण हेर्दा झपामा मात्र मानव–हात्तीबीचको द्वन्द्वमा परी २०६८ सालयता हात्तीको आक्रमणमा परेर ६६ नेपाली र सात विदेशी नागरिकले ज्यान गुमाएका छन् भने २४ वटा हात्तीलेसमेतले ज्यान गुमाउनु परेको छ । झापामा आर्थिक वर्ष २०८०÷०८१ मा मात्र ६ जना मानिस र ४ वटा हात्तीले ज्यान गुमाएको अवस्था छ । हात्तीलाई मानिसले मारिरहँदा अहिलेसम्म कसैमाथि पनि कार्वाही हुन सकेको छैन । मानव–हात्तीबीचको द्वन्द्वमा अपराध बढिरहँदासमेत कार्वाही गर्न नसक्नु वन्यजन्तुको संरक्षणप्रति प्रहरी प्रशासनको लाचारीपन प्रष्ट भएको छ । हात्तीको आक्रमणमा परेर मारिएका व्यक्तिका परिवारलाई राज्यले प्रति व्यक्ति दश लाख राहत रकम दिने गरेको छ । यही रकम बाँड्ने काम बाहेक राज्य नागरिकको सुरक्षामा नरहेको हो कि भन्ने प्रश्न उठिरहेको छ ।
हात्तीका कारण मारिएका मानिसको अवस्था अध्ययन गर्दा हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक बढी संख्यामा रहेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कले देखाउँछ । दैनिक मजदुरी गरी खाने मानिसहरूलाई नै हात्तीले निशानामा पार्ने गरेको समेत देखिन्छ । हात्ती आक्रमणमा पर्नेहरू चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै गर्दा र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको विवरणले देखाउछ । अर्थात कृषि कर्ममा रमाउने श्रमजीवि नागरिक नै हात्ती आक्रमणमा परिरहेका छन् । हात्तीले बिहान, बेलुकाको समयमा आक्रमण गरेर मान्छेलाई मार्ने गरेको घटना बढी मात्रामा हुने गरेको देखिन्छ । विगतमा भारतबाट हुल बाँधेर आउने हात्तीमध्ये १३ वटा झापाको जङ्गलमा रैथाने भएर बसेका छन् । यस हुलको संख्या बढेर १८ वटा भइसकेको छ । यिनीहरू पनि विभिन्न झुण्ड बनाएर बाहुण्डाँगीदेखि कचनकवलसम्मका कृषि उर्वर क्षेत्र आसपास चरिचरण गरिरहेका छन् । चरी चरणका कारण यी हात्तीबाट अन्न बाली असुरक्षित भइरहेको छ भने कहीलेकाँही मानिसलाई आक्रमण गर्ने काममा पनि यी हात्ती देखिने गरेका छन् । तर, भारतबाट नेपाल चरिचरणका लागि आएका हात्तीको समूहकै कारण धेरै मानिसको ज्यान गइरहेको अवस्था छ । रैथानेभन्दा पाहुना हात्ती आक्रमक हुनाको पछाडि बच्चा सहित चरणमा निस्कने ढोइले सुरक्षाका लागि मानिसमाथि जाइलाग्दा ज्यान गइरहेको हो ।
झापामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति रोकिएको छैन भने हात्ती मारिने क्रमसमेत रोकिन सकेको छैन । हात्तीले आक्रमक भएर मानिसलाई कुल्चेर मार्ने गरेको छ भने मानिसले सुरक्षाका लागि लगाएको विद्युतीय तारबारमा परेर धेरैजसो हात्तीको ज्यान जाने गरेको पाइन्छ । झापामा मानव हात्ती द्वन्द्वका क्रममा मानिस र हात्ती मारिने क्रम रोकिन सकेको छैन । यकिन कागजी विवरणले सवै खुलाउन नसके पनि झापामा वि सं २०४१ सालबाट हात्ती र मान्छे बीच प्रत्यक्ष द्वन्द्व सुरू भएको स्थानीय स्तरका अग्रज व्यक्तित्वहरू बताउने गर्दछन् । विषाक्त खानेकुरा तथा विद्युतीय तारबार थापेर क्रुर तरिकाले हात्ती मारेर महत्वपूर्ण अंग समेत लैजाने प्रवृत्ति देखिन थालेको छ । द्वन्द्वको अवस्थाबाट झापामा हात्तीका अंग बेच्ने तस्कर समूहको रजाइ बढ्ने वातावरण देखा परिसकेको छ । सरोकारवालाले समयमै पहिचान गरी मानव—हात्ती द्वन्द्व रोक्न जुट्नै पर्छ । हात्ती र मानिस दुवै प्रकृति प्रद्धत्त जीव हुन् । यी दुवैले आफ्नो अस्तित्व सहित बाँच्ने अवर सिर्जना हुनु नै मानव—हात्ती द्वन्द्व निराकरणतिर जानु हो ।