पूर्वीनाकाबाट आयातभन्दा निर्यात झण्डै दोब्बर कम

भद्रपुर । पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु. २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ ।
मेची भन्सार कार्यालयको तथ्याङ्कानुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा रु. ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार बराबरको आयात हुँदा रु. २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको निर्यात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात ३ दशमलव ४८ प्रतिशतलले कम हुँदा निर्यात भने १० दशमलव ७१ प्रतिशतले बढेको छ ।
उनका अनुसार आव २०७९र८० मा रु. ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार आयात र रु. २२ अर्ब ४ करोड १८ लाख ९३ निर्यात रहेको थियो ।
गत आवमा पेट्रोलियम पदार्थ ४ दशमलव ५१ प्रतिशत, जुट ७ दशमलव २५ प्रतिशत, जिप्सम ६ दशमलव ५७ प्रतिशत, तरकारी १७ दशमलव ८५ प्रतिशत, अलडिड रेजिन ५ दशमलव ६९ प्रतिशतले आयात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए। मेसिनरी उपकरण ६६ दशमलव १० प्रतिशत, दाल १८ दशमलव ६ प्रतिशत, इलेक्ट्रिक उपकरण ३० दशमलव ३४ प्रतिशत र फलाम २२ दशमलव प्रतिशतले आयात बढेको छ ।
मेची भन्सार कार्यालयबाट निर्याततर्फ सबैभन्दा धेरै भेनियस सिट १ हजार २५३ दशमलव ९७ प्रतिशतले बढ्दा प्लाइउड ५५ दशमलव ३८ प्रतिशत, छुर्पी २९ दशमलव ७९ प्रतिशत, अम्रिसो ३० दशमलव १२ प्रतिशत, अदुवा–सुठो २१ दशमलव ६८ प्रतिशतले निर्यात बढेको छ । अलैँची, चिया, धातुका अन्य अवशेषको निर्यात भने घटेको मेची भन्सार कार्यालयले जनाएको छ । सूचना अधिकरी कँडेलका अनुसार गत आव २०८०र८१ मा मेची भन्सार कार्यालयले रु. १४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व सङ्कलन गरेको छ ।