युवाको नैतिक मूल्य

प्रकाश अधिकारी

जेठको अन्तिम साता विराटनगरमा बिहान १० बजे कोशी प्रदेश योजना आयोगको सवारीसाधन कार्यालयतर्फ जाँदै गर्दा क्याम्पस छेउ मोडमा पुगेपछि एक्कासी निस्किएको विद्यार्थीको हुलले सवारीसाधन घेरी चालकसमेत बाहिर निकाली आगजनी ग¥यो । आफ्ना सहपाठीविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा लगाएको विरोधमा आगजनी गरिएको थियो भने यसअगावै विद्युत् प्राधिकरणका चार वटा सवारीसाधनमा क्षति पु¥याइसकेको प्रहरी उद्धृत समाचारमा उल्लेख छ । स्रोतसाधनको अभाव झेलिरहेको राज्य प्रणालीले क्षणभरमा करोडौँ मूल्य पर्ने सरकारी साधन गुमाउनु प¥यो ।

राज्य, सरकार, सत्ता वा सत्तासँग जोडिएको प्रतीक वा व्यक्ति जस्ता संस्थापन पक्षको एउटा रूढिबद्ध छवि (स्टेरोटाइप्ड इमेज) सर्वसाधारणमा हुन्छ । युवाबिच यो छवि झनै गहिरो गरेर बसेको छ । यो छविसँग सम्बन्धित कसैको पनि निरादर गर्नु, क्षति पु¥याउनु, लागु गरेको मानदण्डमा विचलन ल्याउन वा नियन्त्रणलाई मान्न इन्कार गर्नु वा उद्देश्य र साधनलाई अस्वीकार गर्नु युवा आन्दोलन हो । सामान्यतः युवा आन्दोलनको प्रमुख कारण सामाजिक व्यवस्थामा निहित हुन्छ, युवाको व्यक्तित्वमा होइन । युवा आन्दोलनको कारण कुनै लुटपिट हुन्छ भने धन–सम्पत्ति प्राप्त गर्ने उद्देश्यले गरिएको हुँदैन, सरकारी निजी सम्पत्तिमा तोडफोड, आगजनी गरिन्छ भने बदलाको भावनाले हुँदैन, कुनै व्यक्तिविरुद्ध नाराबाजी गरियो भने उसलाई अपमानित गर्न गरिएको हुँदैन । यी सबै युवाका माग पूरा नहुँदाका परिणाम हुन् ।

युवा विद्रोही, क्रान्तिकारी र अपरिपक्व हुन्छन् तथापि राष्ट्र निर्माणका लागि चाहिने साहस, सिर्जनशीलता, सिक्ने क्षमता र उच्च मनोबल युवामा मात्र हुन्छ । युवा राष्ट्रका सम्पदा र परिवर्तनका संवाहक हुन् । युवा बाहिरी प्रभावका प्रति अति संवेदनशील हुन्छन् र अर्काको नक्कल गर्न खप्पिस । युवा केवल विध्वंस, हत्या, आक्रमण र आतङ्कवादमा विश्वास गर्छन् भन्ने अर्थ पनि हैन । जब समाजमा सामाजिक संरचना र संस्थाहरूसँग, सामाजिक व्यवस्थामा विरोधाभाससँग, राजनीति र राजनीतिज्ञसँग, राज्यशक्तिको प्रयोग गरी गरिने निर्णय र निर्णय गर्नेसँग मोहभङ्ग हुन्छ युवाबाट परम्परादेखि पालना गरिँदै आएको नैतिक मूल्य र आदर्श अनुसारको व्यवहारको अपेक्षा राख्नु मनासिब हुँदैन । सामाजिक भेदभाव, व्याप्त भ्रष्टाचार र अवैध साधनद्वारा आर्थिक लाभको खोजीले जीवनको चौतर्फी पतनोन्मुख हुँदै गर्दा युवामा राष्ट्रियता, नैतिकता, अनुशासन, स्थानीय संस्कृति, स्वयंसेवी भावना र असल संस्कारको विकास गरिनु पर्छ ।

जब युवाले आफ्ना नेताको ‘कथनीकरनी’ मा गहिरो र फराक खाडल देख्छन्; जब नेतागण बलिदान गर्नु पर्ने कुरा गर्छन् तर आफूचाहिँ ऐस आरामको जीवन बिताउँछन् । जब नेता नैतिकताको कुरा गर्छन् र आफू चाहिँ समाजविरोधी तत्वसँग सम्बन्ध राख्छन्, जब नेतागण शान्ति र व्यवस्था तथा सामञ्जस्यताको कुरा गरेर थाक्दैनन् तर आफ्नै दलभित्र गुट उपगुट बनाएर झगडा गर्नमा आनन्द लिन्छन् । स्वच्छ प्रतिस्पर्धा, योग्यता, सुशासनको कुराको रटान दिन्छन् तर सार्वजनिक नियुक्ति र प्राथमिकतामा आफ्नै परिवार वा चिनेजानेका मानिसलाई अवसर दिन्छन् र राख्छन् । नेताहरू निर्धन र सुकुमवासीका लागि सार्वजनिक मञ्चमा आँसु चुहाउँछन् तर तिनै सुकुमवासीलाई उठिबास लाउँछन् र ‘हुनेखानेहरू’ को पक्षमा नीति र कानुन तर्जुमा गर्छन् भने यी सबै टुलुटुलु हेरिरहेका युवामा रोष उत्पन्न हुनु स्वाभाविक हो । उल्लिखित सबैबाट निराश र भ्रमित भएर कुण्ठित युवा विभिन्न रूप र रङ्ग लिएर सामाजिक विरोध प्रस्तुत गर्नका लागि आन्दोलन चलाउँछन् ।

युवा असन्तोष के हो ? युवा नीति, २०७२ ले १६ वर्षदेखि ४० वर्षसम्मको नागरिकलाई युवा मानेको छ । देशको कुल जनसङ्ख्यामा युवा प्रतिशत ४३ छ । जीवनको यो कालखण्डलाई ‘कर्तव्यकाल’ भनेर पनि चिनिन्छ । असन्तोषले ‘अशान्त स्थिति’ बुझाउँछ । यो मोहभङ्ग रोषको स्थिति हो । सामाजिक असन्तोष एक गुट, समुदाय वा समाजको सामूहिक मोहभङ्ग, रिसको आवेग र कुण्ठाको अभिव्यक्ति हो । क्याम्पसका विद्यार्थीमा असन्तोष छ भने विद्यार्थीको प्रवेश (परीक्षा), पाठ्यक्रम, परीक्षा प्रणाली, अतिरिक्त क्रियाकलाप, शैक्षिक प्रणालीमा विद्यार्थीको प्रतिनिधित्व जस्ता सामूहिक मामिलामा विद्यार्थी कुण्ठित छन् र त्यसको प्रकटीकरण विभिन्न स्वरूपमा हुने गर्छ । औद्योगिक श्रमिकमा न्यूनतम पारिश्रमिक, सेवा सुरक्षा, सामाजिक सुरक्षामा समस्या र प्रतिष्ठानभित्र र बाहिरको व्यावसायिक वातावरणप्रति उकुसमुकुस हुँदा श्रमिक असन्तोष हुन्छ । एवंरीतले किसान, जनजाति, महिला असन्तोष हुन्छ । सामाजिक आन्दोलनले ‘समाजमा समूहका आममुद्दामा सामूहिक निराशा र कुण्ठा’ को धारणालाई जोड दिनु हो ।

समाजमा विद्यमान मानदण्ड युवाका दृष्टिमा अप्रभावी र हानिकारक हुन्छ, त्यसलाई आघात पु¥याउन थाल्छन् र उनीहरूमा भएको मोहभङ्गले स्थापित मानदण्डलाई भत्काउनु पर्ने आवश्यकता प्रतीत हुन्छ । यो दुई खाले हुन्छः समस्या अभिमुख र मूल्य अभिमुख । विद्यार्थी विश्वविद्यालयको उपकुलपति हटाउनकै लागि आन्दोलन गर्छन् तर उपकुलपति चयन प्रणालीमा परिवर्तन गर्न सङ्घर्ष गर्दैनन् । परीक्षा स्थगितका लागि लड्छन् तर परीक्षा प्रणालीको पुनर्संरचनाका लागि आन्दोलन गर्दैनन् । शिक्षक प्राध्यापकप्रति निरादर, सहपाठी युवतीलाई दुव्र्यवहार, क्याम्पसको सम्पत्तिमा हानि नोक्सानी पु¥याएर शैक्षिक संस्थाको लक्ष्यमा आफ्नो रुचि नभएको प्रदर्शन गर्छन् ।

युवा आन्दोलनको उद्देश्य मौजुदा सिकायत र अन्यायका प्रति सत्तारूढको ध्यान आकृष्ट गर्नु, सचेत गराउनु, प्रभावित गर्नु, उत्तेजित पार्नु, चिन्तित तुल्याउनु र अस्तव्यस्त एवं आकुल व्याकुल पार्नु हो । प्रदर्शन, नाराबाजी, हड्ताल, भोक हड्ताल, चक्का जाम, सडक अवरोध, घेराउ र परीक्षा, कक्षा बहिष्कार जस्ता स्वरूपमा युवा आन्दोलन हुने गर्छन् । आन्दोलन हिंसात्मक भयो भने, सार्वजनिक सम्पत्ति तोडफोड गरियो भने, प्रशासनिक अधिकारीलाई थुनेर, घेरेर राखियो भने, पसल कार्यालय जबर्जस्ती बन्द गर्न लगाइयो भने र सडक आवागमन खुलाउन प्रहरी प्रवेश हुन्छ ।

अदालत, प्रहरी जस्ता कानुन लागु गर्ने निकायमाथि आन्दोलनकारीको भरोसा हुँदैन र प्रहरीको उपस्थिति प्रत्युत्पादक हुन सक्छ । ‘कानुन हातमा लिएका’ युवा आन्दोलनकारीमा त्वरित न्याय हुनु पर्छ भन्ने सोच रहन्छ । भिडको व्यक्तिले आफ्नो व्यक्तिगत पहिचान हराएर भिडको एउटा हिस्सा बन्न पुगेपछि उसको स्वत्व बिलाएर भिडमा प्रवाहित हुन्छ । भिडले गरेका कसुरजन्य कार्यका लागि आफू पक्राउ पर्छु भन्ने डर उसलाई लाग्दैन । कानुन लागु गर्ने निकायलाई पनि भिडमा भएको अपराधमा कसलाई जिम्मेवार बनाउने ठहर्न मुस्किल पर्छ । यस्तो अवस्थामा तर्क वा बुद्धिले नभएर भावात्मक अपिलले मात्र आन्दोलनकारीलाई प्रभावित गर्छ ।

जब देशका युवामा अधिकांश न केवल आफ्नो भविष्य र सुरक्षाका बारेमा अपितु देशको आर्थिक भविष्य र सामाजिक प्रगतिका बारेमा निराशावादी छन् भने के युवाको उत्तेजनापूर्ण आन्दोलनलाई रोक्न र छेक्न सकिन्छ ? समाजलाई विद्यामा प्रबुद्ध, प्राविधिक ज्ञानमा निपुण र राजनीतिक रूपले परिपक्व युवाको खाँचो छ । समाजमा विद्यमान स्थितिसँग सबै व्यक्ति सन्तुष्ट हुँदैनन् । समस्या विद्यमान छन् भनेर अन्यलाई विश्वास दिलाउन सकियोस् भनेर, स्थिति सुधारका लागि कारबाहीको थालनी होस् भनेर र दुःखद स्थिति एवं त्यसको कारण समाधान गर्न सकियोस् भनेर आन्दोलन हुने गर्छ । सबै आन्दोलन पीडितले गर्दैनन्, पीडितका तर्फबाट अन्यले गर्छन् । मापसे, लागु पदार्थको दुव्र्यसन, महिला अधिकारका आन्दोलन अन्यले चलाउँछन् ।

नेपालको संविधानले राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरण सिर्जना गर्ने, युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्ने व्यवस्था गरेको छ । साथै व्यक्तित्व विकास गर्ने तथा राज्यको सर्वाङ्गीण विकासमा योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने राज्यले लिएको युवा नीति हो । युवा नीति कार्यान्वयनको नेतृत्व युवा हक हितमा मात्र समर्पित युवा तथा खेलकुद मन्त्रालयले गरिरहेको छ । एक सामान्य युवा व्यक्तिवादी, कल्पनाशील र प्रतिस्पर्धी हुन्छ । जोस र उत्साह नियन्त्रित गर्ने मार्गदर्शनको मात्र उसलाई खाँचो हुन्छ । उसका असन्तुष्टि, रोष र सिकायतहरूको अभिव्यक्ति गर्ने तरिका सिकाउनु पर्छ, निकास खोज्नु पर्छ, साधन उपलब्ध गराउनु पर्छ ।

युवालाई शिक्षा, रोजगारी र उद्यमशीलताको खाँचो छ । पूर्ण आत्मविश्वास भएका, सबै खाले परिस्थितिलाई आफू अनुकूल बनाउन सक्ने र अध्ययनमा तीव्र रुचि भएका युवा आफ्नो योग्यताका कारण आफ्नो उद्देश्य प्राप्त गर्ने कुरामा विश्वास राख्छन्, परिश्रम गर्छन्, आन्दोलनबाट टाडै बस्छन् । अर्को थरी युवा जसमा योग्यता हुन्छ, परिपक्व पनि हुन्छन्, सही र गलतका बिचको भेदलाई पहिचान गर्ने प्रयत्न गर्छन्, परिश्रम गर्छन्, राम्रो अङ्क र श्रेणीलाई आफ्नो लक्ष्य बनाउँछन्, त्यस्ता गतिविधिबाट आफूलाई टाडै राख्छन् जसले आफ्नो लक्ष्यलाई नोक्सान पु¥याउँछ । अर्काथरी युवा जोसँग वाञ्छित योग्यता नहुँदा उच्च प्राज्ञिक क्षमता भएका मेधावी विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्दैनन् र गैरप्राज्ञिक मूल्य एवं व्यहार आदर्श ठान्छन् । यस्ता युवा परीक्षामा अनुचित तरिका अपनाउने, कक्षामा अनुपस्थित रहने, कक्षामा उपस्थित हुँदा पनि पछिल्लो बेन्चमा बस्ने, कसैद्वारा उचालिएर आन्दोलनमा भाग लिने र दौँतरीलाई सहभागी हुन दबाब र प्रभावमा पार्ने गर्छन् ।

युवाको नैतिक मूल्य, लोकाचार र निजहरूको पारिवारिक पृष्ठभूमिले पनि आन्दोलनको स्वरूपलाई निश्चित गर्छ । विपन्नता, समाजबाट अलग सम्झिने, अध्ययनमा पर्याप्त रुचि जागृत गर्न नसकेका, आफ्ना बाबु, आमासँग घनिष्ठ र सन्तोषप्रद सम्बन्धको अभाव भएका वा अध्ययन वा रोजगारीका लागि घर परिवार छाडेर अन्यत्र बसेका युवा आफ्नो जीवनमा खालिपनलाई भर्न, साथीभाइको लहै लहैमा उत्तेजनापूर्ण आन्दोलनमा भाग लिने गर्छन् । अहिलेसम्म उपेक्षित रहँदै आएको विशाल युवा शक्तिलाई विकासका लागि र सामाजिक अन्याय हटाउन, राष्ट्रिय सामूहिक लक्ष्य प्राप्तिका लागि लगाउन आवश्यक समय अब भइसकेको छ । दमन र टकरावको वातावरणको स्थानमा आशा, विश्वास र आस्थाको वातावरण निर्माणको खाँचो छ । युवाशक्तिलाई यसतर्फ सङ्गठित गर्न अग्रसर गरिनु पर्छ ।