प्रकृतिलाई प्रकोपतिर नढल्काउ
वर्षाद ऋतु चलिरहेको छ । मौषम सकृय भएको केही दिनमै कोशी प्रदेशका अधिकाम्स जिल्लामा बाढी कटान, पहिरो, डुवान लगायतका विपतका पूर्व संकेतहरूको सामना गरिरहनु परेको अवस्था छ । यही संकेतलाई मात्र आधार मानेर भन्ने हो भने प्रकृतिभन्दा मानिस कहिल्यै शक्तिशाली बन्न सक्दैन । यस सत्यलाई मानिसले भुल्दै गएका कारण प्रकृति विपरित कर्म अगाडि बढाइरहेको छ, परिणाम प्रकोपको सामना मानिसले नै गरिरहनु परेको छ । प्राकृतिक प्रकोप भन्नाले बाढी, पहिरो, अधिक वर्षा, खडेरी, हिमपात, हुरीबतास जस्ता कुराहरू पर्दछन् । प्राकृतिक प्रकोप मानिसहरूको बसमा हुदैन तर मानिसले चाहेमा यसको न्यूनीकरण गर्न भने सक्दछ । धनजनको क्षतिबाट जोगिन सक्दछ ।
प्राकृतिक प्रकोपको ख्याल नगर्ने हो भने यसले धनजनको विनाश गरी मानव जीवनलाई तहसनहस बनाउँदछ । नेपालको सन्दर्भमा प्राकृतिक प्रकोपमा सबैभन्दा बढी जनमानसलाई दुःख दिने वर्षादका कारण उत्पन्न बाढीपहिरो प्रमुख रूपमा रहेको छ । हरेक वर्ष वर्षा लागेपछि बाढीपहिरोका कारण धेरै धनजनको क्षति भएको हामी सुन्दै, भोग्दै आइरहेका छौं । यस्तो बाढीपहिरोलाई न्यूनीकरण गर्न बाढी आउने ठाउँमा रोकथामका लागि वृक्षारोपण गरिनु पर्छ । खोलाका किनारामा अनियन्त्रित कटान रोक्न तटबन्ध बाँध्नु पर्छ । वन जङ्गलको संरक्षण गर्नुपर्दछ । खोला किनाराबाट अत्यधिक बालुवा, गिटी निकाल्नुहुँदैन । पहिरो जाने ठाउँमा पानीको निकास बनाउनु हुँदैन । पहिरो जाने क्षेत्रमा वर्षाको समयमा खेतीपाती पनि गर्नुहुँदैन ।
खेतीपातीले गर्दा माटो कमलो भई पहिरो जाने झन् बढी सम्भावना रहन्छ भन्ने आधारभूत ज्ञान हामीले ग्रहण नगर्दा हरेक वर्ष सयौंले ज्यान गुमाउन,े हजारौंले घरबास छोड्नु पर्ने, हजारौं रोपनी खेती योग्य जमीन सधैंका लागि गुमाउनु पर्ने विषम परिस्थिति आइरहेको अवस्था छ । यस्तो अवस्था कम गर्न राज्यले पनि उचित योजना, नीति नियम निर्माण गर्न सकेको छैन । अहिले वर्षादको मौसम शुरू भइसकेको छ । पूर्वी नेपालका अधिकाम्स भूमि वर्षाबाट प्रभावित भइसकेका छन् ।
वर्षाका कारण उत्पन्न समस्या अव्यवस्थित बसोवासको वृद्धि, वातावरणीय सन्तुलनको अभाव तथा विकासका नाममा जताभावी डोजर चलाउने प्रवृत्ति हो । यसैकारण नेपालमा हरेक वर्ष नयाँ नयाँ ठाउँमा वर्षाबाट बाढी पहिरोको समस्या बढ्न थालेको छ । यस विषयमा हामी नेपालीले सजग र सचेत भएर सोच्न जरुरी भइ सकेको छ ।
यस्ता प्राकृतिक प्रकोपबाट बच्न, आउने सम्भावित खतराबाट बच्न सुरक्षित बसाइको व्यवस्था गर्नु जरुरी छ । यदि बसाइ सुरक्षित भएन भने मानवको जीवन र धनको क्षति हुन सक्छ भन्ने तथ्यलाई भुल्नु हुँदैन । यस वर्षको वर्षादका तीन महिनामा पूर्व मेचीदेखि महाकालीसम्म हजारौं नागरिक बाढी र पहिरोबाट प्रताडित हुन सक्ने आँकलन आइरहेका छन् । सचेत हुन नसके अरबौंका भौतिक संरचना क्षतविच्छेद हुनेछन् भने विकासका गतिविधिमा समेत अवरोध आउन सक्छ । यस्ता विनासका घटना पहिलो पटक हुन लागेको भने होइन तर, हरेक वर्ष बढ्दो रूपमा रहँनुचाँहि चिन्ताको विषय बन्नु पर्छ ।
प्रकृति अनुकुल बन्न सक्दा प्रकोप घट्न सक्ने वैज्ञानि तर्क छ । विकासका नाममा अव्यवस्थित कटान गरेर सडक खन्ने, वन जंगल मास्ने, खोला—नदी दोहन गर्ने कार्य बाढी पहिरोको स्वरूपमा परिवर्तन भएको सत्यलाई बिर्सनु हुँदैन । हरेक वर्ष बढ्दै गइरहेको प्राकृतिक प्रकोप नियन्त्रण गर्न सवै पक्ष सवै ठाउँबाट सचेत हुन जरूरी छ ।
भौतिक विकास हामी मानिसले नै गरेका हौं तर त्यस्तो विकास प्रकृति प्रतिकुल गरियो भने सजाय स्वरूप प्राकृतिक प्रकोप भोग्नु पर्ने दिन आउन सक्छ । यो वर्ष विज्ञहरूले कोशी प्रदेशमा मात्र हजारौं नागरिक वर्षादका कारण विस्थापित हुन सक्ने चेतावनी दिइरहेका छन् । ठूला नदी तथा खोलाहरूको बहाव परिवर्तन भएर बस्ती कटान, डुवानको समस्या आउन सक्ने पूर्व संकेत विज्ञहरूले दिइरहँदा पनि हामी सचेत हुन सकेनौं भने प्रकोपकै कारण हाम्रो ज्यान जान सक्छ ।