झापा गाउँपालिकामा ३४२५ जनाले सामाजिक सुरक्षा भत्ता लिदै
नेत्र बिक्रम बिमली
झापा । झापा गाउँपालिकामा वार्षिक ३ हजार ४ सय २५ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाका अनुसार चालू आर्थिक बर्ष २०८०÷०८१ को चौथो त्रैमासिकसम्म सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३ हजार ४ सय २५ पुगेको हो ।
यो संख्या हरेक वर्ष बढदै गएको छ ।
नेपाल सरकारले प्रदान गर्ने शीर्षकगत ८ वटा क्लस्टरका १२८२ पुरुष र २१४३ महिलाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् ।
गाउँपालिकाका ७ वटा वडाबाट पहिचान गरी पठाइएका जेष्ठ नागरिक, जेष्ठ दलित, एकल महिला, विधवा, पूर्ण अपांगता, अति अशक्त र अपांगता, दलित बालबालिका र लोपोन्मुख समुदायलाई नेपाल सरकारले तोके बमोजिमको सामाजिक सुरक्षा भत्ता पालिकाले प्रत्येक ३÷३ महिनामा बैक मार्फत उनीहरुकै खातामा हालिदिने गरेको प्रमुख प्रशासकीय अधिकृत थपलियाले जानकारी दिए ।
पालिकाले उपलब्ध गराएको विवरण अनुसार ९१२ पुरुष र ९६२ महिला गरि १८७४ जना जेष्ठ नागरिकले मासिक ४ हजारकादरले जेष्ठ नागरिक भत्ता पाउने गरेका छन् ।
त्यस्तै ६० देखि ६८ वर्ष उमेर समूहका जेष्ठ दलित ५८ पुरुष र ४५ महिला गरी १०३ जनाले मासिक २३६० जेष्ठ दलित भत्ता प्राप्त गर्ने गरेको विवरणमा जनाइएको छ ।
त्यसैगरी ३२० जना एकल महिला र ५५४ जना विधवा महिलालाई मासिक २६६० का दरले भत्ता उपलब्ध गराउदै आएको छ भने १३६ जना पूर्ण अपांगता भएका ७३ पुरुष र ६३ जना महिलाले समेत मासिक ३९९० का दरले अपांगता भत्ता प्राप्त गरिरहेका छन् ।