भद्रपुरमा एक दिने कृषि विमा सचेतना गोष्ठी सम्पन्न

भद्रपुर । भद्रपुर नगरपालिका कृषि विकास शाखाको आयोजनामा एक दिने कृषि विमा सम्बन्धि अन्र्तक्रियात्मक गोष्ठी सम्पन्न गरिएको छ ।
शाखाको आ व २०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि व्यवसायमा आइपर्ने सम्भावित जोखिमहरूबाट कृषकहरुलाई सुरक्षित गराउने र उनीहरुलाई व्यवसायिक कृषि तर्फ उन्मुख गराउने उद्देश्यले कृषि बिमा कार्यक्रम बारे सचेतना गोष्ठी सम्पन्न गरिएको हो ।
कार्यपालिका सदस्य प्रशंसा ठटालको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय विमा कम्पनी झापाका प्रमुख खगेन्द्र तिम्सेनाले विमाको वर्तमान अवस्था र चुनौति शीर्षकमा सहभागीलाई जानकारी गराएका थिए । उनले कृषि तथा पशु विमाका लागि राज्यले ८० प्रतिशत सम्म अनुदान दिदै आएको भए पनि कृषि उपज विमाप्रति कृषकले चासो नराखेको जानकारी गराएका थिए ।
झापाका लागि कृषि तथा पशु विमाको जिम्मेवारी पाएको नेको विमाका प्रतिनिधिले कृषकले उठाएका विमा भुक्तानीका समस्या बारे उत्तर दिएका थिए भने अधिकाम्स कृषकले विमा गर्दा सहज र सहुलियत भए पनि क्षतिको भुक्तानी लिन कठिन भएकै कारण कृषि विमामा आकर्ष हुन नसकेको धारणा राखेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै शाखाका निमित्त प्रमुख सुमन विमलीले कार्यक्रमपछि कृषि विमाप्रति कृषको आकर्षण बढ्ने विश्वास व्यक्त गरे । उनले कार्यक्रममा कृषि सहकारी तथा कृषक समूहबाट प्रतिनिधित्व हुने गरी प्रतिनिधि छनौट मार्फत कार्यक्रम गगरिएको जानकारी दिए ।
कार्यक्रममा नगर प्रमुख गणेश पोखरेलले भद्रपुर नगरपालिकालाई कृषि उपज र पशु उत्पादनमा आत्मनिर्भर बनाउने प्रयास गरिरहेको जानकारी दिए । उनले यस आर्थिक वर्षका लागि पशु विमा गर्न १० लाख रूपैया र कृषि उपज विमाका लागि ३ लाख रकम छुट्याइएको जानकारी समेत दिए ।