विदेश भासिदैमा उन्नति प्रगति हुने होइन
द्रोण अधिकारी
पछिल्ला केही वर्षयता नेपाली समाजमा स्थापित हुँदै गएको भाष्यमा नेपालमा बसेर केही हुँदैन भन्ने शब्द लगभग स्थापित हुने अवस्थामा छ । आफूलाई सभ्य, सम्पन्न, शिक्षित, असल नागरिक, जान्ने बुझ्ने वा राजनीतिको असल संगठक भनेर चिनाउन चाहनेहरूको मुखबाट निस्कने यही शब्दको प्रभाव परेर हुन सक्छ भर्खरै हुँर्कदै गएका बालबालिका आफ्नो जीवनको लक्ष भित्र परदेश भाग्ने भाव हुर्काइरहेको अवस्था छ । आफू, परिवार, समाज र देश चिन्न बुझ्न नचाहने परदेशमा स्वर्गीय सुख पाइने विश्वास बढ्नुका पछाडि नेपालमा बसेर केही हुँदैन भन्ने भाष्य नै कारक भइरहेको छ । पछिल्लो समय राजनीतिको नाममा देशबाट नयाँ पुस्ता लखेट्न यही भाष्य स्थापित हुने संकेत समेत देखिदैछ ।
नयाँ भनिएका अधिकाम्स जनतम पाएका दल स्थापित हुन यही नारा सञ्जीवनी बुटी बनाएर स्थापित भइरहेको दृष्य सवैका सामु प्रष्ट छ । शरीरमा बल भएका युवा युवती विदेश खेदेपछि राजनीतिका नाममा जे जे गरे पनि कुनै प्रतिवाद नहुने ठानेर हुन सक्छ दल वा राजनीतिले नेपालमा बसेर केही हुँदैन भन्ने भाष्य स्थापित गर्न खोजिरहेको हो । राजनीतिक नेतृत्वमा नैतिकता, सदाचारिता र इमानको खडेरी पर्दै गइरहेको वर्तमान समयमा जसले बढी देश, समाज र व्यवस्था प्रति नकारात्मक भावना फैलाउन सक्छ, ऊ सर्वमान्य ठाउँ पाउने वा भगवान कै स्थान पाउने संभावना पनि जीवित छ । नकारात्म अवस्था र निराशाको खेती गरेर सत्ता र शक्ति हत्याउन चाहनेहरूले नेपाल भित्रकै सत्यबाट सन्सारले चिनिरहेको वा सिकिरहेको ज्ञान र सिप किन देखिरहेका छैनन् ? यहाँको प्रचुर संभावनालाई के कारण नजरअन्दाज गरिदैछ ? एक चोटी सन्दुक रूइत र महावीर पुनको एक्लो प्रयासलाई मात्र बुझ्ने हो भने नेपालमा बसेर धेरै थोक गर्न सकिन्छ । यहाँबाट सन्सारलाई धेरै चिज दिन पनि सकिन्छ । सन्सारको अधिकाम्स हावापानी पाइने सानो तथा विचित्र देश नेपाल भित्र अनेकौं संभावना छन् । मात्र उपयोग गर्ने हिम्मत भएको नेतृत्व नेपालका लागि आवश्यक छ । सभ्य, शिक्षित र सम्पन्न घरना कहलाउने मानिसका सन्तान नेपालमा भेट्न मुस्किल छ । तिनै मानिस यहाँको भविष्य अन्धकार भएको टिप्पणी पनि गर्छन् । मानौ उनीहरूले मात्र यस देशको रक्षा गरिरहेका छन् । यही माटोमा बसेर समाज र देशको सेवा गर्नेहरू केही होइनन् जस्तो अमिल्दो व्यवहार देखाइरहेका छन् । अझ धर्म, संस्कृति र संस्कारका कुरा गर्नेहरूको वास्तविकता हेर्ने हो भने विदेशी धर्म संस्कारको दास बनाएर सन्तान विदेश पलायन गराउने अनि यहाँको सभ्यताको चिन्ता देखाउने दोधारे प्रवृत्ति पनि हामी देखिरहेका छौं । यी सवै घटना भ्रमको खेती गरेर देश र समाजमाथि प्रतिघात भइरहेको नमुना मान्न सकिन्छ ।
एउटा मात्र उदाहरण हेरौ विश्व स्वास्थ्य संगठनको विवरण अनुसार विश्वमा अहिले करिव १ करोड ३० लाख मान्छेले मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाएर अन्धकार जीवन चलाउन बाध्यछन् । यस्तै ६ करोड ५० लाख मानिस मोतियाविन्दुका कारण आंशिक रूपमा आँखा देख्न नसक्ने अवस्थामा छन् । यसरी दृष्टि गुमाएका मध्ये ९० प्रतिशत मानिस कम आय भएको देशमा आर्थिक संकट पूर्ण जीवनयापन गरिरहेका छन् । यस्तो अवस्थाका मानिसहरूको शल्यक्रिया गरेर लेन्स जडान हुने हो भने अन्धोपन हट्छ र आँखाको ज्योति फर्कन सक्छ भन्ने स्वास्थ्य संगठनमा आबद्ध विज्ञहरूको भनाइ छ । तर आर्थिक अभावका कारण सन्सारमा लाखौं मानिस अहिले पनि अन्धोपन पाल्न बाध्य छन् ।
यस्तो दृष्टिविहीन परिस्थितिको अन्त्य गर्न नेपालका डा. सन्दुक रूइतले सन् १९९४ बाट सुरू गरेको आँखाको ज्योति प्रदायक यन्त्र लेन्स उत्पादन आज सन्सारका ४० बढी विपन्न देशका नागरिकको आँखाको ज्योति बनेर चम्किरहेको छ । नेपालले केही गर्न सक्दैन भन्नेहरूले यही लेन्स उत्पादन र उपयोगको वर्तमान अवस्था मात्र बुझ्ने हो भने सन्सारका लागि नेपाली उत्पादनले पनि कति महत्व र परिवर्तनको वातावरण बनाइरहेको छ भन्ने प्रष्ट हुन्छ । अर्काको देशमा दास भएर बाँच्न तयार हुने तर आफ्नो देशमा इमान र लगनशील बन्दै मालिक हुन नचाहनेहरू नै नेपालमा बसेर केही हुँदैन भनिरहेका छन् । एउटा सामान्य व्यक्तिको प्रयासले लाखौं लाख मानिसको दृष्टि फर्कदो रहेछ भने करोडौ करोड विदेशी मुद्रा समेत वार्षिक रूपमा नेपाल प्रवेश गरिरहेको छ ।
एउटा वैज्ञानिक सोच भएका डा. सन्दुक रूइतको एक्लो बलमा भएको प्रयासबाट नेपालमा उत्पादन भइरहेको लेन्स विश्वका ४० भन्दा बढी राष्ट्रमा निर्यात भइरहेको फ्रेड हलोज इन्ट्राओकुलर लेन्स नेपालको पहिचान र लोकप्रियता बनिरहेको छ । आँखाको दृष्टि फर्काउने विभिन्न प्रकारका ९ थरी इन्ट्राओकुलर लेन्स उत्पादन भइरहेको नेपालबाट विश्वका धेरै गरिब र विपन्न नागरिकहरूले कम मुल्यमा आँखाको ज्योति फर्काउन पाइरहेका छन् । तिलगंगास्थित आँखा प्रतिष्ठानको प्राङ्गणमा रहेको प्रयोगशालाबाट मोतियाविन्दुको शल्यक्रियामा आवश्यक तीन प्रकारका सामग्रीको उत्पादन भइरहेको छ ।
तिलगंगामा उत्पादन भइरहेका नेपाली लेन्सको बजार मूल्य २ सय ४० रूपैयादेखि ४ हजार रुपैयाँसम्म छ । सन्सारका कुनै पनि देशमा उत्पादित लेन्स यति सस्तो दरमा पाइदैन । नेपालमा लेन्स उत्पादन सुरू हुनु पूर्व बहुराष्ट्रिय कम्पनी मार्फत उत्पादित लेन्स दुई सय डलरदेखि एक हजार डलरसम्म मूल्य तिरेर किन्नु पर्ने बाध्यता थियो । जसका कारण आर्थिक अवस्था कम्जोर हुने मानिस आर्थिक कारणले दृष्टिविहीन बस्न बाध्य हुन्थे । नेपालको विश्वकै सस्तो आँखा उपचार हुने देशको पहिचान पनि लेन्स उत्पादनले गराएको हो । यहाँ उत्पादित लेन्स पाकिस्तान, दक्षिण अफ्रिका र चीन निर्यात हुने प्रमुख मुलुक हुन् । पछिल्लो समय बजार विस्तार अन्र्तगत टर्कीमा निर्यातका लागि ढोका खुलिसकेको अवस्था छ । यस अवसरले नेपाली उत्पादनलाई विश्वव्यापीकरण गर्न सहजता थपिएको अवस्था छ । नेपालमा उत्पादन हुने लेन्सहरूमध्ये ४० प्रतिशत नेपाली बजारमै खपत हुने र ६० प्रतिशत भने अन्यत्र निर्यात हुने परिस्थितिले नेपालको वैज्ञानिक सोच सन्सारभर आर्थिक उपार्जनको केन्द्र बन्न सफल देखिन्छ । वार्षिक रूपमा करिब २२ करोड रुपैयाँ बराबरको कारोबार गरिरहेको नेपाली लेन्स गरिबहरूका लागि बरदान सावित भइरहेको छ । डा. रुइतको एकल प्रयासबाट नेपालमा उत्पादन सुरू गरेको लेन्स विश्व बजारमा पठाउँदासम्मको हरेक यात्रा फिल्मको कथाजस्तै देखिन्छ । उनले हरेक पाइलामा भोगेका कठिनाइले लेन्सको उत्पादनलाई थप गुणस्तरीय बनाउन मद्दत पुगेको छ । नेपालमा बसेर केही हुँदैन भन्ने भाषा खडा गर्नेहरूले डा. सन्दुक रूइतले झैँ यहाँ बसेर के के योगदान दिए अनि के के भएन ? यस प्रश्नको जवाफ दिन सक्छन् त ? एउटा व्यक्तिको प्रयासले सन्सारका करोडौं मानिसको दृष्टि फर्काउन सक्छ भने नेपाल केमा कमजोर छ ? निराशाको खेती लगाउनेहरू सन्दुक रूइतलाई फर्केर हेरका छन् त ? आफू यहीँ बसेर कमाउने, जमाउने र मोजमस्ती गर्ने अरूका छोराछोरीलाई केही हुँदैन भनेर विदेशमा बेचिन बाध्य बनाउनेहरू सवैभन्दा राष्ट्रवादी र देशभक्त नागरिकको खोल ओडिरहेका छन् । कुनै पनि देशभक्त र स्वाभीमानी नागरिकले आफ्नो देशलाई कमजोर बनाएर परदेशको जयजयकार गर्दैनन् । पेट पाल्नकै लागि जन्मभूमि बाँझो बनाएर अर्काको देशमा हरियाली निर्माण गर्नु आफैंमा अमिल्दो परिस्थिति हो । यसैले नेपालमा बसेर धेरै थोक हुन सक्छ भन्ने भावना नपालेसम्म नेपालको विकास र उन्नति पाउन सकिदैन । नेपालमा बसेर केही नहुने भए डा. सन्दुक रूइत र महावीर पुन किन नेपालकै पहिचान बनेर सन्सारमा चर्चित हुँदै छन् त ?