भद्रपुरमा बालबालिकादेखि जेष्ठ नागरिकसम्म समेटिएको सामाजिक विकास कार्यक्रम

भद्रपुर । झापाको पहिलो बालमैत्री नगरपालिकाको पहिचान बनाएको भद्रपुर नगरपालिकामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सामाजिक विकासमा कार्यक्रममा समेटिन सफल भएका छन् ।

पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरको लक्ष्य पालना अन्र्तगत दिगोपना, महिला सशक्तीकरण, ज्येष्ठ नागरिक, अपाङ्गता, लक्षित वर्ग विकास र धर्म सांस्कृति प्रवर्धनका लागि आर्थिक वर्ष २०७९÷०८० मा विभिन्न कार्यक्रम मार्फत सामाजिक विकासमा पर्याप्त समेटिएको हो ।

समृद्धिका लागि मानव विकास महत्वपूर्ण पक्ष भएकाले सबै पक्षलाई समेटेर काम गरिएको नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको भनाइ छ । जहाँ मानव संशासनको विकास हुँदैन, त्यहाँ जति नै विकास भए पनि अधुरो नै रहन्छ भन्दै पोखरेलले नगरले सामाजिक विकासको क्षेत्रलाई विशेष महत्वका साथ लिएको प्रष्ट पारेका छन् ।

नगरले नगरबासीको रोजगारीमा पहुँच अभिबृद्धि गर्न सञ्चालन गरेको ४५ दिने लोकसेवा तयारी कक्षाबाट ७५ जना विद्यार्थीले लाभ लिएको सामाजिक विकास शाखाको विवरणले देखाउँछ ।

नगरपालिकाले दलित वर्गका पाँच जनालाई सिलाइ कटाइ सम्बन्धी एड्भान्स तालिम दिएसँगै व्यवसाय गर्न सक्षम भएका छन् । नगरका चार समूहका ५० जनालाई सात दिने नौमती बाजा बजाउने तालिम दिएर नौमती बाजा समेत प्रदान गरिएपछि उनीहरु व्यवसाय उन्मुख बनेका छन् भने आदिवासी जनजाति समुदायका नौ जनालाई एक महिने प्लम्बिङ्ग तालिमसँगै आवश्यक प्रविधिसमेत प्रदान गरिएको छ ।

त्यस्तै, नगरका दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने काम समेत गरेको छ । पाँच दृष्टिविहीनलाई ४५ दिने ब्रेल साक्षरता तालिम दिइँदा ब्रेल साक्षर भई दैनिक जीवनयापन सहज भएको छ भने स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत ४७ जना विपन्न अपाङ्ग परिवारको स्वास्थ्य बिमा गरी अपाङ्गता भएकाहरुको स्वास्थ्य पहुँच अभिबृद्धि गर्ने काम भएको शाखाकी कर्मचारी सञ्जु कोइरालाको भनाइ छ ।

त्यस्तै, दलितको स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत १० वटा वडाका ७० दलित परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

यस्तै, अपाङ्गता भएका २० जनालाई फिनेल र साबुन बनाउने तालिम दिइएको छ भने अपाङ्गता भएकाहरुलाई सहायक सामग्री व्हील चियर, एल्बो स्टीक, एयरम्याट, वेडम्याट, हेयरएड, बैसाखी वितरण गरिएको जनाइएको छ ।

बालमैत्री नगर भद्रपुरले बाल अधिकार र बाल विवाह सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । उक्त कार्यक्रमबाट एक हजार चार सय जना सहभागी भई प्रत्यक्ष लाभान्वित भएका छन् भने अप्रत्यक्षरुपमा समेत समुदायमा सचेतना भएको छ ।

नगरस्तरीय बाल भेलामा ५५ जना बालबालिका, संरक्षक, शिक्षक र अन्य सरोकारवालाहरू सहभागी भएको र बालबालिकाका योजनाहरू बालबालिकाको मागबमोजिम नगरको कार्यक्रमतय गरिने भएकाले बालबालिकाको अर्थपूर्ण सहभागिता रहेको जनाइन्छ ।

नगरले सरोकारावालाहरुलाई समेटेर चार वटा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धी अभिमूखिकरण कार्यक्रम गरेको छ । बालमैत्री स्थानीय शासनको दिगोपनाका लागि २२५ जना (शिक्षक, प्रधानाध्याक, जनप्रतिनिधि र टोलविकास संस्थाका पदाधिकारीहरुलाई) अभिमूखिकरण प्रदान गरिएको थियो । जसले आगामी दिनमा बालअधिकार हनन्का घटनामा कमी ल्याउने नगरले विश्वास लिएको छ ।

बालदिवस र बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवसका अवसरमा वतृत्वकला, चित्रकला र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ । सो कार्यक्रमबाट बालबालिकाको बौद्धिक क्षमतामा विकास हुने नगरको विश्वास छ ।

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पाँच वटा निगरानी समूहमार्फत सचेतनामूलक ¥याली, म्याराथुन दौड सञ्चालन गरिँदा छ सय जनामा प्रत्यक्ष र समुदायमा अप्रत्यक्ष रुपमा महिला अधिकार र महिला हिंसाविरुद्ध सम्बन्धि सचेतना भएको शाखा प्रमुख जीवनकला राउतको भनाइ छ ।

त्यस्तै, किशोरीहरुलाई सात दिने आत्मरक्षा र जीवन उपयोगी सीपबाट ५४ जना किशोरीहरू प्रजनन् स्वास्थ्य, किशोरावस्था, साइबर क्राइम, लागुऔषध दुव्र्यसन, मानव बेचबिखनविरुद्ध सचेत हुनुका साथै यौन दुव्र्यवहारविरुद्ध आत्मरक्षा गर्न सक्ने क्षमताको विकास भएको छ ।

नगरले मानव अधिकारका लागि महिला एकल महिला समूहमार्फत अल्पकालीन सेवाकेन्द्र (सेफ हाउस) सञ्चालन गरेपछि १६ जना महिला र बालवालिकाले सेवा लिएका छन् ।

बाबुबाट जबरजस्ती करणीको शिकार बनेकी १४ वर्षीया किशारीलाई थप जोखिमबाट बचाउन अध्ययनको व्यवस्था गर्नुका साथै कोशी प्रदेशको दिर्घकालीन सेवा केन्द्रमा पुर्नस्थापना गरिएको छ भने सौतेनी आमाबाट पीडित बनेर घरबाट निकालिएकी ११ वर्षीया बालिकालाई विद्यालय भर्ना गरी शैक्षिक सामग्रीको व्यवस्था समेत गरेर घरमा बस्ने सहज वातावरण बनाइको छ ।

नगरपालिकाको सामाजिक शाखाले विभिन्न प्रकारका पाँच सय ९२ अपाङ्गता परिचय पत्र र एक हजार ३१३ वटा ज्येष्ठ नागरिक परिचय–पत्र समेत वितरण गरेको छ ।

यसका साथै न्यायमा पहुँच, विभेदरहित शासन, धर्म संस्कृति संरक्षण जस्ता जनचासोका विषय पनि प्राथमिकतामा समेटिएका छन् ।

यी सवै कार्यले नगरमा सामाजिक विकासका लागि महत्वपूर्ण योगदान पुगेको नगरपालिकाको विश्वास रहेको छ ।