झापा कारागारको तनाव साम्य भयो

भद्रपुर । कैदी सार्ने विषयमा दिनभर तनावग्रस्त बनेको चन्द्रगढीस्थित झापा कारागारको विवाद साम्य भएको छ ।

झापा कारागारमा कैद भुक्तान गरिरहेका कैदी मनोज लावतीलाई कारागार विभागले सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको विरोधमा कारागारका कैदीवन्दीहरू आन्दोलनमा उत्रिदा दिनभर तनावग्रत भएको कारागार अपह्रान्न झापा प्रशासनले तत्काल लावतीलाई कारागार नसार्ने निर्णय गरेसंगै आन्दोलन मत्थर भएको हो ।

लावतीलाई कारागारबाट बाहिर ल्याउन प्रहरी टोली पुगेसंगै भित्र रहेका कैदीबन्दीले आगो बालेर ढुंगा प्रहार गर्न थालेपछि नियन्त्रमा लिन प्रहरीलाई निकै हम्मेहम्मे परेको थियो । ढुंगा हान्ने र आगजनी गर्ने काम बढेपछि नेपभल प्रहरी, शसस्त्र प्रहरी बलको बाक्लो उपस्थितिसंगै चार वटा दमकल पनि तैनाथ राखिएको थियो ।

कैदीबन्दीहरुले कारागारभित्र प्रशासन बिरूद्ध चर्को नारावाजी समेत गरेका थिए । कारागारभित्रबाट बाक्लो धुँवाको मुस्लो उडिरहेको देखिन्थ्यो भने गोली पड्के जस्तो आवाज पनि सुनिदा आसपासका बासिन्दा त्रसित भएका थिए । भद्रपुर, मेचीनगर र विर्तामोडको दमकलले आगो निभाएका थिए ।सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर तैनाथ गरिएको थियो ।

घटना बारे जानकारी दिँदै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार कैदी लावतीलाई तत्काललाई सरुवा नगर्ने सहमतीपछि कैदीबन्दीको आन्दोलन मत्थर भएको हो । उनका अनुसार कारागार विभागको निर्देशनबमोजिम लावतीको बारेमा थप निर्णयपछि हुने समेत सहमती गरिएको छ ।