झापामा १२ वर्षमा ६१ जना मानिस र १७ वटा हात्तीको ज्यान गयो
द्रोण अधिकारी
भद्रपुर । झापामा आर्थिक वर्ष २०७९÷८० मा मानव हात्ती द्वन्द्वका क्रममा आठ जना मानिस र २ वटा हात्तीले ज्यान गुमाएका छन् ।
दुई गैर नेपालीसहित ८ जना मानिसले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन् भने यसै बीचमा दुई वटा हात्ती पनि मरेका छन् । गैर नेपालीमा एक जना भुटानी र एक जना भारतीय रहेको वन कार्यालयको विवरणमा उल्लेख छ ।
हात्तीका कारण ज्यान गुमाउने गैर नेपालीले राहत रकम पाउने व्यवस्था छैन भने नेपाली नागरिकले राहत रकम पाउने व्यवस्था छ ।
डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी सहायक वन अधिकृत अञ्जना पुरीका अनुसार झापामा हात्तीको आक्रमणबाट अघिल्लो आव २०७८–७९ मा पाँचजना, आव २०७७–७८ मा तीनजना , २०७६–७७ मा दुईजना , आव २०७५–७६ मा एकजना र आव २०७४–७५ मा पाँचजनाको मृत्यु भइसकेको छ । झापामा पछिल्लो १२ वर्षयता हात्तीको आक्रणममा परी ६१ जनाको मृत्यु भइसकेको छ जसमा सात जना गैर नेपाली रहेका छन् ।
त्यस्तै, सोही अवधिमा १७ वटा हात्तीको समेत मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालु आवमा जिल्लामा दुई वटा हात्तीको मृत्यु भएको छ । मृत्यु हुने मानिसमा अधिकांश किशान मजदुर रहेकै कारण आफ्नै घर–खेतमा हात्तीे आक्रमणमा परेर ज्यान गुमाएको पाइएको छ ।
कार्यालयको विवरण अनुसार बाह्रदशी गाउँपालिका–२ का देवीबहादुर अधिकारी आफ्नै जग्गामा घाँस काटिरहेको अवस्थामा हात्तीको आक्रमणको शिकार बने । त्यस्तै, बाह्रदशी–१ का जगतबहादुर भुजेल सामुदायिक वनभित्र घाँस काट्न जाँदै गर्दा हात्तीको आक्रमणमा परे । शिवसताक्षी नगरपालिका–११ की कृष्णमाया भण्डारीलाई घरमै सुतिरहेको अवस्थामा हात्तीले मारेको डिभिजन वन कार्यालयको रेकर्डमा उल्लेख छ ।
यस्तै, बुद्धशान्ति गाउँपालिका–४ का भीमबहादुर भट्टराईको मकैबारीमा हात्तीले आक्रमण गरेको थियो । बुद्धशान्ति–५ की सम्झना श्रेष्ठ स्कुटरमा घर जाँदै गर्दा बाटोमै हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो । भद्रपुर नगरपालिका–७ का गिरेन कर्मकारलाई हल्दीबारी गाउँपालिका–२ चिया बगान नजिकै च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा परेका थिए । दमक–३ का कमैया राई (गैरनेपाली)लाई हम्सेदुम्से सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो भने उनको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको थियो । अर्का गैर नेपालीलाई मेचीनगरको धुलावारी बजारमा हात्ती आक्रमणमा परी घटनास्थलमै मृत्यु थियो ।
झापामा गत आर्थिक वर्षमा पाँच सय १४ जना हात्तीपीडितले राहत पाएका छन् । हात्तीको आक्रमणबाट घाइते, मृत्यु भएका, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्याएबापत उनीहरुले एक करोड ११ लाख ३६ हजार सात सय तीन रूपैया राहत स्वरूप वितरण डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी समेत रहेकी सहायक वन अधिकृत अञ्जना पुरीले जानकारी दिइन् ।
सरकारले मृतकका लागि ५० लाख, घाइतेको उपचारका लागि नौ लाख १८ हजार २२५, चौपाया र अन्नबालीमा क्षति वापत ५२ लाख १९ हजार चार सय पचहत्तर रूपैया राहत रकम उपलब्ध गराइएको जनाइएको छ ।
यसै बीच बर्खा सुरू भएयता भद्रपुर नगरपालिका अन्र्तगत साविक चन्द्रगढी गाविसको ३, ९ र १ नम्बर वडामा जंगली हात्तीको विगविगी बढेपछि स्थानीय रातभर जाग्राम बस्न बाध्य भएको गुनासो गर्न थालेका छन् ।
पूर्वोत्तर झापाको वाहुण्डाँगीमा केही हदसम्म नियन्त्रण भएपछि पछिल्लो समय भारतीय जंगलबाट नेपाल छिर्ने हात्तीको बथानले भद्रपुर नगरपालिकाको उत्तर तथा दक्षिणी क्षेत्रमा दुःख दिने क्रम बढेको हो ।
पछिल्लो केही महिना यता चन्द्रगढी सामुदायिक वनमा बस्दै आएका ५ वटा हात्तीको समूहले साँझ परेपछि चन्द्रगढी क्षेत्रमा जंगल नजिकका बस्तीमा प्रवेश गरी घर भत्काउने, बाली खाइ दिने तथा बोट विरुवा र जनवारमाथि आक्रमण गरी क्षति पुर्याउन थालेपछि हात्ती नियन्त्रण गर्न स्थानीय जाग्राम बस्न बाध्य भएका हुन् ।
स्थानीय लोकबहादुर कुँवरका अनुसार जिल्ला वन कार्यालयको गस्ति टोलीले हात्ती धपाउन स्थानीयलाई सहयोग गरिरहेको भए पनि समस्या हाल हुन सकेको छैन । जंगली हात्ती नियन्त्रणका लागि दीर्घकालिन योजना नआउँदा स्थानीय त्रसित भएर बस्न बाध्य रहेको उनको भनाइ छ ।