अस्पतालको भवन बनाउनेलाई कारवाहीको माग
भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगरसमितिले भद्रपुर स्थित मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन गुणस्तरहीन बनाउने कार्यमा संलग्नमाथि कारवाहीको माग गरेको छ ।
काँग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै साविकको मेची अञ्चलभरका गरिव जनता स्वास्थ्य उपचार गर्न आउने अस्पतालको भवन निर्माण गर्दा गुणस्तरहीन काम गराउन भूमिका खेल्नेमाथि छाविन गरी कारवाहीको माग गरेको हो ।
नगर सभापति रामबहादुर कँडेल तथा सचिव अनिता रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ—अस्पतालको नयाँ भवनमा निर्माणाधीन आइसियु कक्षमै छतबाट पानी चुहेको देखिन्छ । छानाको फाइवर कमसल भएको र तीनवटा सेक्सनको छानाको जडानबाट पानी चुहिएको अवस्थाले भवन ज्यादै कमशल भएको उल्लेख छ ।
विज्ञप्तिमा अस्पतालको माथिल्लो तलाको छत चुहिएको, फाइवरको छानो कमसल रहेको, झ्याल ढोकाका सामग्री कमसल भएको, शौचालयमा धेरै समस्या देखिएकोले अस्पतालको काम कमसल भएको प्रमाण मिलेको जनाइएको छ । यस्तो कमशल काम गर्ने ठेकेदार तथा अनुमोदन गर्ने प्राविधिक कर्मचारी सहित संलग्नको पहिचान गरी कारवाही गर्न मातहत निकाय सहरी विकास मन्त्रालयसित माग समेत गरिएको छ ।
२४ करोड ६२ लाख रूपैयाँ ( भ्याट वाहेक २२करोड ६१ लाख ३७ हजार ३५२ रूपैयाँ ७१ पैसा)– मा २०७४ साल कार्तिक ३० गते काठमाडौंको श्री कन्टेक प्रा.लि. नामक ठेकेदार कम्पनीले २०७९ भदौ ३१ गते कार्य सम्पन्न गर्ने गरी प्रादेशिक अस्पतालको भवन निर्माण सम्झौता गरेको थियो । कुशल शर्मा प्रोप्राइटर रहेको सो निर्माण कम्पनीले प्रादेशिक अस्पतालको २ वटा भवनमा ६ वटा ब्लक र एउटा लिफ्ट बनाएको छ । नवनिर्मित भवन रङ्ग लगाएर बाहिरबाट झिलिक्क बनाए पनि भित्र भने ठाउँ ठाउँमा चर्केको, फुटेको, पानीका पाइप र विद्युत जडानमा लापरबाही गरेको र पानी चुहिएको सामान्य आँखाले पनि देखिन्छ ।