आम हड्तालको प्रभाव झापामा पनि
भद्रपुर । कोशी प्रदेशको नामाकरणसँग असन्तुष्ट पहिचानवादीहरूले आज गरेको कोशी प्रदेशको आम हड्तालको प्रभाव झापामा पनि परेको छ । बन्दका कारण राजमार्गमा फाट्टफुट्ट रुपमा मात्रै यातायातका साधन चलेका छन भने बजारमा चहलपहल भएन । काँकरभिट्टा, इटाभट्टा, धुलाबारी बिर्तामोड, दमक, भद्रपुर लगायत क्षेत्रका बजारहरुमा चहलपहल देखिएन । सार्वजनिक यातायात पनि अत्यन्त थोरै मात्रामा चले । राजमार्गमा यातायत ठपप्राय भयो । म्याजिक गाडी, अटो, सिटि रिक्सा लगायत केहि साधन आंशिक रुपमा गुडेका थिए । सार्वजनिक सवारीका साधन थोरै मात्रै सञ्चालन हुदाँ टाढाका यात्रु अलपत्रमा परे । शैक्षिक क्षेत्र पूर्ण रुपमा बन्द रहे ।
प्रदेश सभाले यही फागुन १७ गते बहुमतले १ नं. प्रदेशको नाम ‘कोशी’ पारित गरेको थियो । पहिचानवादीहरुको उपेक्षा गर्दै कोशी नामाकरण गरिएको विरोधमा, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति लोसपा र किराँत लिम्बुवानलगायतका पखिचानवादीहरुले आन्दोलनका कार्यक्रम अघि बढाएका हुन । आन्दोलनकारीले कोशी प्रदेश नामाकरण खारेजीको माग राखेका छन ।
बन्दको क्रममा झापाको विभिन्न स्थानमा बन्द गराउँदै हिड्ने २५ जना आन्दोलकारीलाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो झापाको दमक, बिर्तामोड, काँकरभिट्टा, चारआली लगायतका स्थानबाट २५ जना बन्दकर्तालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले बताए । बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधनलाई रोकेर तोडफोड गर्न थालेपछि नियन्त्रणमा लिएको उनको भनाई छ ।
पक्राउ पर्नेहरुमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य गौरीमान राई,संघीय लिम्बुवान पार्टीका अध्यक्ष सन्जुहाङ पालुङ्वाका छोरा साम पालुङ्वा , आदिवासी जनजाति महासंघका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ , पवन मेचेलगायत रहेको आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष पाण्डवलाल चौधरीले बताए ।