निर्मल वान्तवा स्मृति कप माघ ७ गतेदेखि सञ्चालन हुने
भद्रपुर । झापाका चर्चित फुटवल खेलाडी स्वर्गीय निर्मल वान्तवाको स्मृतिमा भद्रपुरमा जिल्ला स्तरीय फुटवल प्रतियोगिता माघ ७ गतेबाट सञ्चालन हुने भएको छ ।
कलवलगुरी समाजको आयोजनामा भद्रपुर १० स्थित केन्द्रमोडको कलवलगुरी खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
आयोजक समितिले खेल तयारी बारे जानकारी दिँदै पत्रकारसित गरेको अन्र्तक्रियामा दिइएको जानकारी अनुसार माघ १४ गते समापन हुने खेलमा झापाका ८ वटा टोलीले प्रतिष्पर्धामा भाग लिने छन् ।
आयोजक समितिका अध्यक्ष बाबुराम पराजुलीका अनुसार खेल सम्पन्न गर्न ७ लाख २६ हजार खर्च हुने छ । जसमा प्रथम हुने टिमले ट्रफी सहित नगद १ लाख ५१ हजार, दोश्रो हुनेले ७५ हजार पुरस्कार पायने छन् ।
आर्थिक श्रोत वान्तवा परिवार तथा खेल प्रेमी शुभचिन्तकबाट संकलन गरिने छ ।
नेपाली फुटवलका खेलाडी तथा प्रशिक्षक वान्तवाको २०७१ भद्रमा निधन भएको थियो । निर्मल वान्तवा स्मृति फुटवल प्रतियोगिता नाम दिएको यस प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो । खेलाडीप्रतिको सम्मान कायम राख्न तथा खेल सफल पार्न भद्रपुरका सवै बासिन्दाको साथ अपरिहार्य रहेको वान्तवा परिवारका अभिभावक निसान्त वान्तवाले बताए ।